१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

महान्यायाधिवक्ता खातीविरुद्ध सर्वोच्चमा उजुरी

काठमाडौँ — ललितपुर जिल्ला सरकारी वकिल कार्यालयकी सहायक न्यायाधिवक्ता संगीता थोकरले हेटौंडास्थित वाग्मती न्यायाधिवक्ताको कार्यालयमा गरिएको सरुवाको विरुद्धमा महान्यायाधिवक्ता खम्मबहादुर खातीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छन्।

महान्यायाधिवक्ता खातीविरुद्ध सर्वोच्चमा उजुरी

थोकरलाई असार २ गते ललिलतपुरबाट हेटौंडा सरुवा गरिएको थियो । नाबालिका बलात्कार मुद्दामा कमजोर अभियोजनका लागि आफूले नमानेको भन्दै महान्यायाधिवक्ता कार्यालयले नियम विपरीत सरुवा गरेको थोकरले बताउँदै आएकी छन् ।

थोकरले दिएको असार ९ को निवेदनलाई सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । त्यसपछि सुनवाइ हुनुपर्ने माग गर्दै थोकरले पुन: निवदेन दिएकी थिइन् । मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजालसले आदेश दिएपछि थोकरले बुधबार मुद्दा दायर गरेकी हुन् । थोकरको उजुरीमा महान्यायाधिवक्ता खाती, उनको सचिवालय र महान्यायाधिवक्ताको कार्यालयलाई विपक्षी बनाइएको छ । अदालतले थोकरको मुद्दाको सुनुवाइका लागि बिहीबारको समय तोकेको छ ।

व्यापारी सुशील चटौतले घरमा काम गर्ने एक १३ वर्षे बालिकालाई ३ वर्षदेखि बलात्कार गर्दै आएको मुद्दामा अभियोजन कमजोर बनाउन महान्यायाधिवक्ताको सचिवालयमा कार्यरत दुई कर्मचारीले दबाब दिएको थोकरले बताउँदै आएकी छन् । बलात्कार मुद्दामा चटौत हिरासतमै छन् ।

प्रकाशित : असार १५, २०७९ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?