काठमाडौं उपत्यकामा हालसम्म १४ जनामा हैजा : स्वास्थ्य मन्त्रालय

'लक्षण देखिएमा स्वास्थ्य संस्थामा जाऔँ'

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २ देखि आजसम्ममा १४ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको जानकारी दिएको छ । हैजा पुष्टि भएका पहिलो बिरामीको घर तथा कार्यस्थलबाट भण्डारण गरिएको जारको पानी, जमिनको पानी, धाराको पानीको नमुना परीक्षण गर्दा ‘कोलिफर्म’ भन्ने जीवाणु भेटिएको थियो । 

काठमाडौं उपत्यकामा हालसम्म १४ जनामा हैजा : स्वास्थ्य मन्त्रालय

यस्तै, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ललितपुरबाट संकलन गरेको १८ वटा पानीको नमुना परीक्षण गर्दा १२ नमुनामा ‘इकोलाई’ जीवाणु भेटिएको पाइएको मन्त्रालयले जनाएको छ।

हैजाको कुनैपनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा जान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । बुधबार मन्त्रालयले प्रसारण गरेको मिडिया प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले वर्षायाम सुरु भएसँगै पानीजन्य संक्रमणबाट सतर्क रहन आग्रह गरिन् ।

‘पानीजन्य रोगबाट बच्न पानी उमालेर वा क्लोरिन झोल हालेर शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ । खानेकुरालाई राम्ररी पकाएर मात्र खाने, सडेगलेको बासी र झिंगा भन्किएको खाना नखाने, खानेपानी र खाना पकाउने पानी राम्ररी छोपेर मात्र राख्ने गर्नुपर्छ,’ प्रवक्ता डा. मिश्राले भनिन् ।

उनका अनुसार हैजा रोकथामकालागि मन्त्रालयले विभिन्न ठाउँमा पानीको नमुना परीक्षण गर्ने,पानीको बुथ स्थापना गर्ने, निरन्तर निगरानी बढाउने, पानी शुद्धिकरण गर्ने, सरसफाइ कार्यक्रम अघि बढाउनुका साथै हैजा तथा झाडापखालाबाट बच्न विद्यालय तथा समुदायमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ ।

स्तनपान नगराइ बोतलको दुध खुवाइएका बच्चाहरु, कुपोषित बालबालिकाहरु, दुषित खाना र पानी खाएमा , व्यक्तित सरसफाइमा ध्यान नदिएमा , खोप नपाएका बच्चाहरु हैजाको बढी जोखिममा हुन सक्छन् ।

खान पिउन नसक्ने गरी बिरामी भएमा ,दिसामा रगत देखा परेमा, बारम्बार बान्ता भइरहेमा, ज्यादै तिर्खाएमा, ज्वरो आएमा, धेरै पटक पाताले दिसा गरेमा तुरुन्त स्वास्थ्य संस्थामा लैजानुपर्छ । झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटकपटक खुवाउने, प्रशस्त मात्रामा सफा तथा झोल कुराहरु पटक पटक खान दिने, नरम तथा सजिलै पच्न खानेकुरा थोर थोरै गरी पटकपटक खुवाइरहने, व्यक्तिगत सरसफाइमा ध्यान दिने र स्वच्छ पानी खाएमा यसको जटिलताबाट बच्न सकिन्छ ।


प्रकाशित : असार १५, २०७९ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?