कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

स्थानीय तहमा अनियमितता बढ्दै गयो : राष्ट्रपति

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहहरूमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको टिप्पणी गरेकी छन् ।

स्थानीय तहमा अनियमितता बढ्दै गयो : राष्ट्रपति

बुधबार महालेखापरीक्षकको कार्यालयको ६४ औं वार्षिकोत्सव कार्यक्रममा राष्ट्रपति भण्डारीले स्थानीय तहहरूमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताएकी हुन् ।

यस क्रममा उनले स्थानीय तहका नेतृत्वले विगतका कमी, कमजोरी नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्नुपर्ने भन्दै सुझाव दिएकी थिइन् । आर्थिक शुद्धता नै सुशासनको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले महालेखापरीक्षकको कार्यालयले सार्वजनिक निकायहरूबाट नियमित सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, राजश्व संकलन, स्रोत र साधनको बाँडफाँट लगायत सुधारका क्षेत्र पहिचान गरी सरकारलाई महत्त्वपूर्ण सुझाव दिनुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘विगतका लेखापरीक्षणको प्रतिवेदनले बेरुजु बढिरहेको पक्ष औंल्याएका छन् । अपेक्षाकृत रुपमा बेरुजु फर्छ्योट भएको देखिँदैन । त्यसैले विगत लामो समयदेखि कायम रहेको बेरुजुलाई यस पटक अभियानको रुपमा फर्छ्योट गर्दै आगामी आर्थिक कारोबार गर्दा बेरुजु नहुने व्यवस्था मिलाइ आर्थिक अनुशासन पालनामा सबैको ध्यान जानु पर्दछ । पछिल्लो समयमा नवस्थापित स्थानीय तहहरूमा अनियमितता वृद्धि हुँदै जानु चिन्ताको विषय बनेको छ । हाल स्थानीय तहको निर्वाचन सम्पन्न भइ नयाँ नेतृत्व जिम्मेवारी सम्हाल्ने क्रम सुरु भएको सन्दर्भमा नयाँ नेतृत्वले विगतका कमजोरी नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्नुपर्छ । आर्थिक शुद्धता नै सुशासनको सबैभन्दा महत्त्वपूर्ण आधार हो भन्ने कुरा हामीले बुझ्न र बुझाउन आवश्यक छ ।'

यस्तै तीनै तहमा आर्थिक पारदर्शिता कायम गर्न महालेखा कार्यालय सक्षम हुनुपर्ने पनि उनले सुझाव दिएकी थिइन् । सार्वजनिक वित्तीय व्यवहारमा पारदर्शिता र स्वच्छता हासिल गरी सार्वजनिक प्रशासनमा देखिएका अनियमितता, चुहावट र भ्रष्टाचारजन्य कार्य नियन्त्रण गर्दै विकास, समृद्धिको वातावरण सिर्जना गर्न राज्यका सम्पूर्ण निकायको एकीकृत र समन्वयात्मक विकास हुनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित : असार १५, २०७९ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?