१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०
दाहाललाई भूसालको जवाफ 

'अब माओवादी, एमाले र एकीकृत समाजवादीको बीउ उम्रिँदैन'

काठमाडौँ — नेकपा एमालेका नेता घनश्याम भूसालले कम्युनिस्ट पार्टीको विभाजन आफ्नै घरमा आगो लगाउनुजस्तो भएको बताएका छन् । बुधबार वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै नेता भूसालले कम्युनिस्टहरू फुटेर कमजोर भएको बताएका हुन् ।

'अब माओवादी, एमाले र एकीकृत समाजवादीको बीउ उम्रिँदैन'

'विभाजनको यो हालत भएको छ । यिनीहरू एकठाउँमा जुट्दा ६०-७० प्रतिशत हुन्छ । तर फुटेर आफ्नै घरमा आगो लगाएर, त्यही आगोमा आङ सेकेर एक अर्कालाई गाली गरेर हामीले आज धेरै नराम्रो काम गरेका छौँ,' उनले भने । फुटेका कम्युनिस्ट पार्टीलाई जोड्न आफूहरू निरन्तर लाग्ने पनि उनले बताएका छन् ।

त्यस्तै भूसालले अब विभिन्न नाममा रहेका कम्युनिस्ट पार्टीहरू एकताबद्ध हुनुको विकल्प नभएको समेत बताए । बुधबार मात्रै नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले 'एमालेमा माओवादीको बीउ रोपेको, त्यो बीउ केही समयपछि फल्ने' बताएका थिए । एमालेभित्रका कार्यकर्ता र नेताहरुलाई पनि एकीकृत गर्ने उल्लेख गर्दै दाहालले भनेका थिए, 'हामी माओवादीले बीउ रोपेर आएका छौँ, हेर्नुहोला, केही समयपछि त्यो फुल्छ फल्छ ।'

नेता भूसाले अध्यक्ष दाहालको भनाइको खण्डन गर्दै अब अलग-अलग भएर कम्युनिस्ट पार्टीहरू नचल्ने बताएका छन् । उनले भने,'प्रचण्डजीले एउटा धारालाई संगठित गर्नका लागि, उत्साहित गर्नका लागि जे भन्नु भएको छ त्यसलाई सम्मान गर्नै पर्छ । तर आजको आवश्यकतालाई उहाँले पनि अझै राम्रोसँग बुझ्नु भएन ।'

उनले अब नेपालमा एकीकृत कम्युनिस्ट पार्टी मात्रै बलियो पार्टीका रूपमा स्थापित हुने पनि बताए । उनले भने, 'माओवादीको बीउ, एमालेको बीउ, समाजवादीको बीउ, कमरेड सीपीको बीउ, कमरेड फलानाको बीउ, अब यी बीउहरू उम्रिँदैनन् । रैथाने बीउहरू परापूर्वकालका बीउहरू राख्ने हो तर तिनीहरूले नै आजको आवश्यकता पूरा गर्न सक्दैनन् । त्यसलाई हाइब्रिड बनाउनुपर्छ । धेरै बीउहरूमध्येबाट सेलेक्सन गर्दै हाइब्रिड बनाउँदै अझ धेरै बीउ उत्पादन गर्ने बीउ बनाउनुपर्छ । कमरेड प्रचण्डले के भुल्नुभयो भने माओवादी, एमाले, एकीकृत समाजवादीको बीउ उम्रिँदैन । नेकपा विभिन्न सिडहरूबाट संकलित गरे बनाएको हाइब्रिड बीउ हो । तर हामीले त्यो बीउको भकारीमै आगो लगायौँ ।'

प्रकाशित : असार १५, २०७९ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?