एमालेमा माओवादीको बीउ रोपेका छौँ, केही समयपछि फल्छ : अध्यक्ष दाहाल

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेमा माओवादीको बीउ रोपेर आएको बताएका छन् । 

एमालेमा माओवादीको बीउ रोपेका छौँ, केही समयपछि फल्छ : अध्यक्ष दाहाल

बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेकपा एमालेमा तीन वर्षसम्म बीउ रोपेर आएको र केही समयपछि फुल्ने र फल्ने बताएका हुन् । नेकपा एमालेभित्र पनि सच्चा कम्युनिष्ट रहेको र उनीहरुलाइृ पनि समेटेर जानुपर्ने अहिलेको आवश्यक्ता भएको बताएका छन् ।

अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व नरहने भने एमालेका नेता र कार्यकर्तालाई पनि सँगै समेटेर जान सकिने बताए । 'माओवादी मात्रै मिलेर हुन्छ भन्ने भ्रममा पनि हामी नपरौँ । माओवादीबाहेकका सच्चा कम्युनिष्ट पनि बाहिर छन् । बाहिरका सबै अवसरवादी मात्रै छन् भन्ने भ्रम पनि राख्नुहुँदैन । मैले अस्ति भर्खरै प्रतिनिधि सभाको रोस्ट्रमबाट भनेको थिएँ । नेकपा एमालेमा पनि केपी ओली प्रवृत्ति नहुने हो भने र नेतृत्व त्यो नहुने हो भने अरु हजारौँ, कार्यकर्ता, नेतालाई आरामसँग समाजवादको यात्रामा डोर्‍याउन सकिन्छ भन्ने मेरो विश्वास छ,' उनले भने ।

एमालेभित्रका कार्यकर्ता र नेताहरूलाई पनि एकीकृत गरेर लैजान सकिने उनले बताएका छन् । '३ वर्षको मेरो अनुभव भनेको एमालेभित्रका कार्यकर्ता र नेताहरुलाई पनि एकीकृत र केन्द्रिकृत गरेर लैजान सकिने रहेछ भन्ने अनुभव हो । सकिएन नि त, बिग्रियो नि त भन्ने लाग्ने सक्छ तर त्यहाँ बीउ रोपिएको छ, हामी माओवादीलेबीउ रोपेर आएका छौँ, हेर्नुहोला, केही समयपछि त्यो फुल्छ फल्छ,' उनले भने ।

अध्यक्ष दाहालले सबै माओवादी मिल्नुको विकल्प नरहेको भन्दै नेत्रविक्रम चन्द र मोहन वैद्य लगायतका नेताहरुलाई माओवादीमै फर्किन आग्रह गरे।

जनताको आवाज भनेकै पूर्वमाओवादीहरु सबै एकै ठाउँ रहनु हो भन्दै दाहालले जनताको आवाजलाई नजरअन्दाज गर्न नमिल्ने बताएका छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य ओमप्रकाश पुन, नेपाली कांग्रेस दार्चुलाका निर्वाचित उपसभापति ललितसिंह ठगुन्नालगायतलाई दाहालले बुधबार माओवादी पार्टीमा प्रवेश गराएका हुन् ।

प्रकाशित : असार १५, २०७९ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?