कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
जसपाको विवाद उत्कर्षमा

पार्टी फुटाउन खोजेको भन्दै एकले अर्कालाई कारबाही गर्ने भट्टराई र यादवको तयारी

मधु शाही

काठमाडौँ — अध्यक्ष उपेन्द्र यादवले आफूपक्षीय केन्द्रीय कार्यकारिणी सदस्य मात्रै राखेर सोमबार बैठक गरेपछि जनता समाजवादी पार्टी (जसपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।

पार्टी फुटाउन खोजेको भन्दै एकले अर्कालाई कारबाही गर्ने भट्टराई र यादवको तयारी

विवाद बढ्दै जाँदा संसदीय दल र केन्द्रीय समितिमा बहुमत जुटाएर अर्को पक्षलाई कारबाही गर्ने तयारीमा अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष लागेका छन् ।

यादव पक्षको बैठकमा मन्त्री फेरबदल गर्ने विषयमा छलफल गर्नुका साथै संघीय परिषद् अध्यक्ष भट्टराई, कृषिमन्त्री महिन्द्रराय यादव, केन्द्रीय कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठलगायतलाई पार्टी विरोधी गतिविधि गरेको आरोपमा स्पष्टीकरण सोध्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

केन्द्रीय कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादवले भने पार्टीको केन्द्रीय कार्यकारिणी समितिको अनौपचारिक बैठक बसेर मन्त्री फेरबदल गर्नेबारे छलफल भएको तर स्पष्टीकरण माग्ने निर्णय नभएको दाबी गरे । ‘मन्त्री फेर्ने कुरा भएको हो, नेतालाई स्पष्टीकरण माग्ने कुरा भएको होइन,’ उनले भने । केन्द्रीय कार्यकारिणी समितिको बैठक भनिए पनि भट्टराई पक्षधरलाई जानकारी दिइएको थिएन ।

यादव पक्षले मन्त्री फेरबदलका विषयमा आफूहरूसँग अहिलेसम्म कुनै छलफल नगरेको भट्टराई पक्षधर नेताहरू बताउँछन् । अध्यक्ष यादवले केन्द्रीय कार्यकारिणी समितिको औपचारिक बैठक नभई आफूअनुकूल गुटको बैठक राखेको भट्टराई पक्षधर केन्द्रीय कार्यकारिणी सदस्य प्रशान्त सिंहले बताए ।

यसले पार्टीमा झनै अध्यक्षको मनोमानी प्रवृत्ति बढ्दै गर्दा पार्टीमा अथाह असन्तुष्टि बढेको सुनाए । ‘गुटको बैठकको निर्णय हामीलाई मान्य छैन,’ उनले भने, ‘पार्टी धरापमा जाँदै छ, यसको मिलन सूत्र भनेकै अध्यक्ष उपेन्द्रकै हातमा छ ।’

केन्द्रीय कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठले आफूसँग स्पष्टीकरण सोध्ने निर्णय भएको भन्ने सुनेको तर कारबाही गर्ने आधार नभएको बताए । ‘मैले मिडियामा हल्ला सुनें । मलाई केका आधारमा कारबाही गर्ने ? कुनै बैठक नबसी बाहिर हल्ला गर्नुको खासै अर्थ छैन,’ उनले भने, ‘निर्वाचन सकिएलगत्तै बैठक बसेर छलफल गर्न अध्यक्षलाई अनुरोध गरेका हौं । अहिलेसम्म खबर छैन ।’

पार्टीमा नेतृत्वबीच असन्तुष्टि बढेपछि केन्द्रीय कार्यकारिणी समितिले संघीय परिषद् अध्यक्ष भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेता अशोक राई रहेको मुख्यालय गठन गरेको थियो । मुख्यालयलाई आपसी छलफलबाट निर्णय गर्ने जिम्मेवारी दिइएको थियो । मुख्यालयको निर्णयलाई केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्ने व्यवस्था छ । गठनको साढे तीन महिना बित्दा मुख्यालयको बैठक एक पटक पनि बसेको छैन ।

पार्टीलाई समानुपातिक नेतृत्व प्रणालीमा लैजान भट्टराई पक्षले जोड दिँदै आए पनि अध्यक्ष यादवले बेवास्ता गर्दै आएका छन् । स्थानीय तह निर्वाचनको टिकट वितरण र सत्ता गठबन्धनबाट निर्णय गर्दा पार्टीमा छलफल नगरिएको गुनासो भट्टराई पक्षधरले गर्दै आएका थिए । पुराना गुनासा सम्बोधन नहुँदै आएका मन्त्री फेरबदल र कारबाहीसम्मका विषयले मतभेद झनै बढाएको हो । नेतृत्व तहमा चर्किएको मनमुटावले पार्टीलाई फुटतिर डोर्‍याएको छ । भट्टराई पक्षले मंगलबार अनौपचारिक छलफल गरेर यादव पक्षका कारण पार्टी फुटतिर गएको निष्कर्ष निकालेको छ । ‘अब पार्टी फुट्नुको विकल्प छैन,’ छलफलमा सहभागी एक नेताले भने ।

स्रोतका अनुसार भट्टराई पक्षले २१ सदस्यीय (निलम्बित दुईबाहेक) संसदीय दलमा बहुमत जुटाएर यादवलाई संसदीय दलको नेताबाट हटाउन र मन्त्री हेरफेर गर्न तयारी गरेको थियो । तर निर्णायक बिन्दुमा सांसद मोहम्मद इस्तियाक राई र प्रदीप यादव सम्पर्कविहीन भएपछि भट्टराई पक्ष आफ्नो रणनीतिअनुसार अगाडि बढ्न सकेन । अध्यक्ष यादवले इस्तियाक राई र प्रदीप यादव दुवैलाई मन्त्री बनाउने आश्वासन दिएर आफ्नो कित्तामा लगेको स्रोतको भनाइ छ । राई र प्रदीपले साथ दिएपछि अध्यक्ष यादव पार्टीमा बलियो बनेका छन् । अध्यक्ष यादवले मन्त्री हेरफेर गरेपछि असन्तुष्टहरू आफ्नो खेमामा आउने र बहुमत पुग्ने अपेक्षा भट्टराई पक्षले गरेको छ । बहुमत जुटाउन नसके मन्त्री हेरफेरपछि ४० प्रतिशतको बलमा नयाँ पार्टी गठन गर्ने उनीहरूको तयारी छ । यसका लागि भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष कुराकानी गरिसकेको स्रोतले जनाएको छ ।

अध्यक्ष यादव पक्षले भने मन्त्री हेरफेरमार्फत आफ्नो पक्षलाई झनै शक्तिशाली बनाउने दाबी गरेको छ । दुवै पक्ष केन्द्रीय समितिमा पनि बहुमत जुटाउने खेलमा लागेका छन् । भट्टराई समूहले २ सय २५ केन्द्रीय सदस्यको हस्ताक्षर संकलन गरिसकेको दाबी गरेको छ । ५ सय सदस्यीय केन्द्रीय समिति रहेकामा केहीले पार्टी छाडेका छन् । जसपामा २५ देखि ३० जना तटस्थ छन् । वैकल्पिक राजनीति शक्तिको सपना बोकेर यादव नेतृत्वको संघीय समाजवादी फोरम र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले ०७६ वैशाख २२ मा पार्टी एकता गरेका थिए ।

प्रकाशित : असार १५, २०७९ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?