३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मझधारमा परेपछि गौतमले खोले नयाँ पार्टी

नयाँ पार्टीले आकार लिने र राष्ट्रिय राजनीतिमा प्रभाव पार्नेमा गौतमसँगै काम गरेकाहरुलाई पनि शंका 
सक्रिय राजनीति गर्ने रहर ज्युँदै थियो तर एमालेमा ७० वर्षे उमेर हदका कारण कार्यकारी भूमिकामा बस्न मिल्दैनथ्यो, एकीकृत समाजवादीमा भित्र्याउन अध्यक्ष नेपालले अनिच्छा देखाए 

काठमाडौँ — एमालेबाट गत भदौमा अलग भएका नेता वामदेव गौतमले नयाँ पार्टी गठन गरेर चुनौतीपूर्ण यात्रा सुरु गरेका छन् । वामपन्थी शक्तिहरूलाई ध्रुवीकरण गर्ने उद्देश्यसहित ७४ वर्षीय गौतमले मंगलबार आफ्नै नेतृत्वमा ‘नेकपा एकता राष्ट्रिय अभियान’ पार्टी घोषणा गरेका हुन् । 

मझधारमा परेपछि गौतमले खोले नयाँ पार्टी

वृद्धभत्ता थाप्ने उमेरमा गौतमले पार्टी निर्माण गर्नुका पछाडि बाध्यता र केही रणनीति छन् । एमालेमा ७० वर्षे उमेर हदका कारण कार्यकारी भूमिकामा बस्न मिल्दैनथ्यो । एकीकृत समाजवादीमा प्रवेश गराउन अध्यक्ष माधवकुमार नेपालले अनिच्छा देखाएका थिए । सक्रिय राजनीतिबाट टाढिन नचाहेका उनले अन्ततः आफ्नो संयोजकत्वमा नयाँ दल गठन गरेका हुन् । तीन पटक उपप्रधानसहित गृहमन्त्री र तीन पटक निर्वाचित सांसद बनेका गौतम सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएर राष्ट्रिय सभा सदस्य छन् ।

कुनै समय एमालेभित्र ‘किङमेकर’ रहेका गौतमले सानो समूह र परिवारका सदस्यलाई समेटेर पार्टी बनाएका छन् । गौतमले ७५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेका छन् । गौतम गृहमन्त्री भएका बेला प्रहरीमा जागिर लगाइने आश्वासनमा घूस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा रंगेहात पक्राउ गरेका डीबी कार्कीलाई उनले सचिवको जिम्मेवारी दिएका छन् । कार्कीलाई विशेष अदालतले भ्रष्टाचार अभियोगमा ६ महिना जेल र १ लाख रुपैयाँ जरिवाना तोकेको थियो । महाकाली सन्धिसम्बन्धी विवादका कारण उनले ०५४ सालमा एमाले फुटाएर आफ्नै नेतृत्वमा माले गठन गरेका थिए । ०५६ को संसदीय निर्वाचनमा एक सिट पनि जित्न नसकेपछि उनी फेरि एमालेमै फर्केका थिए ।

एमालेको नवौं राष्ट्रिय महाधिवेशन (०७१) सम्म गौतम जुन पक्षमा उभिन्थे पार्टी नेतृत्वमा उसैको पाल्ला भारी हुन्थ्यो । मंगलबार पार्टीको घोषणा गर्दा गौतमले पनि त्यस्तै दाबी गरे । ‘मैले आज पार्टी शिलान्यास गरेको छु, उद्घाटन गर्ने बेला नेपाल चकित हुनेछ । लाखौं व्यक्ति यो पार्टीको वरपर गोलबन्द हुनेछन् । म जुन पार्टीमा जान्छु, त्यो पार्टी त्यस्तै हुन्छ । विगतमा पनि त्यस्तै भएको थियो,’ उनले भने । तर नयाँ पार्टीले ठूलै शक्ति हासिल गर्ने र राष्ट्रिय राजनीतिमा प्रभाव पार्नेमा गौतमसँगै काम गरेकाहरूलाई पनि आशंका छ ।

राजनीतिक विश्लेषक हरि रोकाले नयाँ पार्टी गठनमार्फत वामपन्थी शक्तिहरूबीचको एकता अभियान सफल पार्ने गौतमको उद्देश्य पूरा हुनेमा शंका गरे । ‘उहाँले घोषणा गरेको पार्टीले चुनावमा बहुमत ल्याउनेभन्दा पनि लेफ्टका नाममा भएका पार्टीहरूको एकताका लागि सूत्रधार आफू बन्न सकिन्छ कि भन्ने प्रयत्न मात्रै हो जस्तो देखिन्छ,’ उनले भने, ‘उहाँसग जुन खालको टिम छ, त्यस टिमले सहजतापूर्वक एकता अभियानलाई सञ्चालन गर्न सक्ने देखिँदैन ।’ रोकाका अनुसार गौतम पछिल्लो समय राजनीतिक अस्तित्वमा समेत थिएनन् । ‘०५४ मा उहाँले नयाँ पार्टी गठन गर्दा पुरानो विरासतसँग जोडिएका र राजनीतिक मानिस थिए । त्यस्तो बेला त पार्टी टिक्न सकेन । अहिले त्यस्तो मान्छे देखिँदैनन् । अर्कातर्फ विरासत पनि हुनुपर्छ, त्यो पनि देखिँदैन,’ उनले भने, ‘सैद्धान्तिक प्रतिबद्धता पनि देखिँदैन । अमूर्त कुरा लिएर एकताका कुरा गर्नुको अर्थ पनि हुन्छ जस्तो लाग्दैन ।’

०५८ मा एमालेमा फर्केपछि गौतम सानो तर सशक्त गुटको नेताका रूपमा रहेका थिए । उनलाई पूर्वमाले नेताहरूको समर्थन थियो । दोस्रो संविधानसभा चुनावलगत्तै भएको संसदीय दलको चुनावसम्म आउँदा केही प्रभावशाली युवा नेताले गौतमका साथ छाडेका थिए । गौतमले केपी शर्मा ओलीलाई संसदीय दलको नेताका रूपमा समर्थन गर्दा घनश्याम भुसाल, योगेश भट्टराई, ठाकुर गैरे, रामकुमारी झाँक्रीसहितका नेताले झलनाथ खनाललाई साथ दिएका थिए । आठौं महाधिवेशनमा खनाललाई अध्यक्षमा निर्वाचित गराउन पनि गौतमको भूमिका महत्त्वपूर्ण थियो ।

०७० सालमा संसदीय दल नेता जितेसँगै ओली राष्ट्रिय राजनीतिमा सशक्त हुँदै गए भने गौतमको शक्ति खुम्चिँदै गयो । नवौं महाधिवेशनमा पनि ओलीलाई जिताउन गौतमको भूमिका प्रमुख थियो । ‘गौतम जता जानुभयो उहाँका पछि रहेकाहरू उतै रहे । तर गौतम निस्कँदा केही मात्रै साथमा आए, धेरै उतै रहे,’ एमालेका एक स्थायी कमिटी सदस्यले भने, ‘रामायणमा रामचन्द्र बनवास गएको जस्तै भयो । बनवासपछि आएका सैनिकहरू आधा दायाँबाट र आधा बायाँबाट जादा रामचन्द्र एक्लै परेका थिए । गौतमसँग रहेका नेताहरू कोही माधव नेपालकहाँ पुगेका छन्, केही ओलीतर्फ रहेका छन् । गौतम अहिले एक्लै हुनुहन्छ ।’ गौतम ओलीसँग जाँदा उनीसँगै गएका रवीन्द्र अधिकारी, यामलाल कँडेल, गणेश ठगुन्नासहितका नेता ओली समूहमै रहे । त्यसपछि पनि गौतमसँग रहेका नेताहरू बलराम बाँस्कोटा, हरि पराजुली, सावित्री भुसाल, केशवलाल श्रेष्ठलगायत पछिल्लो समय माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा छन् ।

गौतमलाई लामो समयदेखि साथ दिएका एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य बाँस्कोटा गौतमका लागि असहज स्थिति रहेको बताउँछन् । ‘एकता अभियान सञ्चालन गरेर नेकपालाई पुनर्जीवित गराउने भन्नुभयो । त्यसमा सम्भावना छैन भन्नेमा हाम्रो राजनीतिक मत रह्यो । हामीले उहालाई एकीकृत समाजवादीको नेता बन्नुस् भनेर अनुरोध गरेका थियो तर उहाँ त्यही अभियानमा लाग्नुभयो । जसका कारण हामी दुईतिर भयौं । अहिले एकीकृत समाजवादी आकार ग्रहण गर्ने प्रक्रियामै छ,’ उनले भने, ‘हामो संविधानले पार्टी खोल्न पाउने स्वतन्त्रता दिएको छ तर जनताको चाहना पार्टी नफुटुन भन्ने छ । अर्कोतिर पार्टी फुटिराखेका छन् ।’ उनले गौतमको यात्रा चुनौतीपूर्ण रहेको बताए । ‘विगतमा बाबुराम भट्टराईले पनि नयाँ पार्टी खोल्नुभयो, त्यो चलेन । उहाँले जुन उत्साह, उमंग लिएर पार्टी खोल्नुभएको छ, चल्दैन भन्न मिलेन तर चुनौतीपूर्ण छ ।’

तत्कालीन नेकपामा विवाद चर्कंदा गौतमको भूमिका सधैं ढुलमुल थियो । गौतमले नेकपा भंग हुनमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसहित तत्कालीन केन्द्रीय सचिवालयका नौ सदस्य जिम्मेवार रहेको बताउँदै आएका छन् । उनका अभिव्यक्ति चा–चाँडै बदलिने गर्दथे । प्रधानमन्त्री हुने गौतमका उत्कट चाहनालाई तत्कालीन नेताहरूले आफ्नो पक्षमा पार्न पूर्ण रूपमा प्रयोग गरे ।

०७४ सालमा प्रतिनिधिसभा चुनावमा माओवादी र एमालेबीच गठबन्धन हुँदा पनि गौतम सुरक्षित मानिएको क्षेत्रबाट पराजित भएका थिए । अर्को चुनाव नहुँदासम्म सिंहदरबारमा ढोका बन्द भए पनि उनी संविधान संशोधन गरेरै प्रधानमन्त्री बन्ने चाहना व्यक्त गर्थे । राष्ट्रिय सभाका सांसदले पनि प्रधानमन्त्री बन्ने बाटो खुला गर्नेदेखि विभिन्न निर्वाचन क्षेत्रमा उपनिर्वाचन गराए प्रतिनिधिसभाको सदस्य बन्ने यत्नमा पनि गौतम लागिरहे । समकालीन नेताहरू ओली, नेपाल, खनाल, दाहाल प्रधानमन्त्री भइसकेकाले पनि राजनीतिको उत्तरार्धमा पुगेका गौतममा एकपटक प्रधानमन्त्री हुने रहर निकै थियो । तत्कालीन नेकपाको शक्तिसंघर्षमा उनको प्रधानमन्त्री बन्ने रहर पनि एउटा फ्याक्टर बनेको थियो ।

०७७ पुस ५ मा प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपा अध्यक्षद्वय ओली र दाहालले समानान्तर गतिविधि गर्न थालेपछि गौतमले ०७८ माघ १४ मा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका थिए, जसमा ६ सय ५१ सदस्यीय केन्द्रीय समन्वय समिति र एक सय ७५ सदस्यीय कार्यसम्पादन समिति रहेको संगठनात्मक संरचना थियो । त्यसबेला उनले ‘उत्तरतिर फर्किएका केपी ओली र दक्षिणतिर फर्किएका प्रचण्डलाई विपरीत दिशाबाट आमने–सामने बनाउने काम गरेपछि मात्र यो अभियानले विश्राम लिने’ उद्घोष गरेका थिए । उक्त अभियानले कुनै प्रभावकारी हस्तक्षेप गर्न सकेन, बरु एमाले विभाजनपछि उनको अभियानमा जोडिएका धेरै जसो नेता–कार्यकर्ता माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा समाहित भए ।

सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि गौतम कहिले ओली त कहिले नेपाल समूहसँग नजिकिए । ०७८ असार १८ मा एमाले (माधव नेपाल पक्षबाहेक) को केन्द्रीय कमिटी बैठकमा उनी सहभागी भए । त्यतिबेला उनले आफू अध्यक्ष ओलीसँग आएको बताएका थिए । ‘म तपाईंकोमा आइसकेँ, अब फर्किन्न,’ उनको भनाइ थियो । त्यतिबेला गौतमले पार्टी एकताको जिम्मा आफूलाई दिन पनि आग्रह गरेका थिए । ‘म यति दिन भन्दिनँ तर केही दिनभित्र एकता गर्छु, तपाईंलाई चित्त बुझ्ने गरी नै एकता गर्छु,’ उनले भनका थिए, ‘एमालेपछि अन्य पार्टीसँग पनि एकता गर्छु । विश्वास गर्ने नगर्ने तपाईंको कुरा हो ।’

ओलीले चासो नदेखाएपछि गौतमले ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै पार्टी उपाध्यक्ष र सदस्यबाट राजीनामा दिएर औपचारिक रूपमा दोस्रो पटक एमालेबाट बाहिरिए । ‘म आफैँ संलग्न भएर निर्माण भएको एमालेमा तपाईंकै गलत विचार, प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकाले आजको मितिमा पार्टीको उपाध्यक्षको पद र पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको छु,’ ०७८ भदौ १८ मा गौतमले राजीनामा दिँदै भनेका थिए्, ‘फेरि पनि तपाईंसँगको चार दशक लामो मित्रताका कारण अबउप्रान्त पनि हामी दुईबीचको व्यक्तिगत सम्बन्ध मित्रतापूर्ण रहोस् भन्ने अपेक्षा छ ।’

त्यतिबेला एमाले विभाजन भइसकेको थियो । त्यसअघि गौतम समकालीन नेता नेपाल र खनालले गठन गरेको एकीकृत समाजवादीमा खुल्ने चर्चा चलेको थियो । नेपाल गौतमलाई एकीकृत समाजवादीमा भित्र्याउन चाहन्थे । तर गौतमले सर्त राखे– दलको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) हुनुपर्ने । गौतमको प्रस्तावमा अध्यक्ष नेपाल सहमत भए पनि खनाल तयार भएनन् । ‘पार्टीको मार्गदर्शक सिद्वान्त मार्क्सवाद–लेलिनवाद मात्रै राखेर जनताको बहुदलीय जनवाद हटाएपछि म त्यो पार्टीमा गइन,’ त्यतिबेला कान्तिपुरसँग गौतमले भनेका थिए ।

एकीकृत समाजवादीमा रहन गौतमले सहअध्यक्षको चाहना पनि राखेका थिए । तर नेपालले सहअध्यक्ष बनाउँदा वरीयता नमिल्ने बताए । गौतमले आफू तेस्रो वरीयतामा रहेर सहअध्यक्ष बन्न तयार रहेको बताएका थिए । तर नेपाल त्यसका लागि पनि तयार भएनन् । त्यसपछि एकीकृत समाजवादीमा गौतमको अध्याय बन्द भयो । त्यतिबेलासम्म नेता हरि पराजुली, बलराम बाँस्कोटाले गौतमको साथ छाडिसकेका थिए । तर स्थानीय तहको चुनावमा एकीकृत समाजवादीको चुनावी गीत गौतमले लेखिदिए । त्यसपछि गौतम राष्ट्रिय राजनीतिमा गुमनाम जस्तै थिए । मंगलबार नयाँ पार्टीको घोषणा गरेर उनी फेरि चर्चामा आएका छन् ।

‘उहाँले पार्टी खोल्ने अवस्था आउँछ भन्ने अनुमान निकै अगाडिदेखि थियो । किनभने उहाँले आफ्नो राजनीतिक वर्चस्व कायम गर्नका लागि एमालेभित्र डिल गरिरहनुभएको थियो,’ विश्लेषक रोकाले भने, ‘एमालेमा पहिला माधव नेपाललाई साथ दिनुभयो । पछि केपी ओलीलाई साथ दिनुभयो । बढ्ता धोका ओलीजीले दिएजस्तो महसुस उहाँले गर्नुभयो । माधवजीले पनि पार्टी चलाउन सक्नुहुन्छ भन्ने उहाँलाई लागेन । त्यसले गर्दा वामदेवजी अलप हुनुभएको थियो ।’

०३५ सालमा मुक्ति मोर्चा समूह हुँदै गौतम अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेसन केन्द्रमा प्रवेश गरेका थिए । त्यसको केही समयमा नै कोअर्डिनेसन केन्द्रसहित माले बनेको थियो । ०४८ र ०५१ मा बर्दिया १ बाट विजयी भएका गौतमले ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा बर्दिया र प्यूठानबाट जितेका थिए । उनी ०५६ र ०६४ को निर्वाचनमा भने पराजित भएका थिए ।

प्रकाशित : असार १५, २०७९ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?