बोर्डले पैसा रोकेको भन्दै बिमा सेवा रोक्ने बीपी प्रतिष्ठानको चेतावनी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बोर्डले पैसा रोकेको भन्दै बिमा सेवा रोक्ने बीपी प्रतिष्ठानको चेतावनी

प्रदीप मेन्याङ्बो

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिमितहरूलाई दिँदै आएको सबै सेवा असार २० गतेदेखि स्थगन गर्ने जनाएको छ । प्रतिष्ठानले बिमितको उपचार गरेबापत दाबी भुक्तानी ३४ करोड रुपैयाँ स्वास्थ्य बिमा बोर्डले रोकिदिएपछि असार २० गतेदेखि स्थगन गर्नुको विकल्प नरहेको जनाएको छ ।

बीपी प्रतिष्ठानको सामाजिक स्वास्थ्य बिमाको काउन्टरमा सेवाग्राहीको भीड । तस्बिर : प्रदीप मेन्याङ्बो/कान्तिपुर

प्रतिष्ठानको आर्थिक प्रशासन महाशाखाका एक अधिकृतका अनुसार शैक्षिक र अस्पताल सेवाबाट यो वर्षको कुल आम्दानी करिब २ अर्ब २३ करोड २४ लाख रुपैयाँ रहेको छ । यसै आर्थिक वर्षको अन्तिम महिनामा कुल खर्च २ अर्ब ८७ करोड ९८ लाख रुपैयाँ रहेको छ । तर सरकारी नीतिअनुसार बिमितको उपचार गरेबापत स्वास्थ्य बिमा बोर्डले प्रतिष्ठानलाई ३४ करोड रुपैयाँ भुक्तानी नगरेपछि अस्पताल सञ्चालन प्रभावित हुन पुगेकाले बिमा कार्यक्रम स्थगन गर्नुपर्ने बाध्यता आइपरेको उपकुलपति डा. ज्ञानेन्द्र गिरीले बताए ।

बोर्डले रोकेको ३४ करोड रुपैयाँ प्रतिष्ठानको विशुद्ध आन्तरिक आम्दानी भएको उपकुलपति डा. गिरीले बताए । उनले भने, ‘बिमा कार्यक्रम नभएको भए सोहीबराबरको रकम प्रतिष्ठानमा आम्दानीको रूपमा बाँधिन्थ्यो । अहिले बिमाले पनि दिन्छु भनेर पनि नदिएकाले उक्त रकम आन्तरिक आम्दानीको रूपमा मात्र देखिएको छ तर वास्तविक रूपमा प्रतिष्ठानको खातामा नरहेकाले अस्पताल सञ्चालनमा कठिनाइ उत्पन्न भए पनि बिमा कार्यक्रम रोक्नुपर्ने निर्णयमा पुगिएको छ ।

प्रतिष्ठानको आर्थिक प्रशासनले बिमा बोर्डले प्रतिष्ठानले दाबी गरेको रकमलाई कम ‘भ्यालुएसन’ गरिदिने तथा ‘रिजेक्सन’ गरिदिने गरेको जनाएको छ । कम ‘भ्यालुएसन’ तथा ‘रिजेक्सन’ भएको रकम मात्र ९ करोड रुपैयाँ बढी छ ।

बिमा बोर्डका कार्यकारी निर्देशक दामोदर बस्यौलाले भने परीक्षण भएका दाबीहरूको बाह्रै महिना भुक्तानी हुने बताए । ‘हाल केही सेवाप्रदायक स्वास्थ्य संस्थाहरुले आर्थिक वर्षको अन्तमा भुक्तानी नहुने हो कि भन्ने आशंकामा सेवा स्थगन गरिने छ भन्ने सूचना प्रकाशित गरेको पाइएको छ । तर स्वास्थ्य बिमा कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७८ अनुसार स्वास्थ्य बिमा कोष स्थापना भई बोर्डमा प्राप्त सम्पूर्ण रकम उक्त कोषमा मौज्दात रहने व्यवस्था छ । परीक्षण भएका दाबीहरूको बाह्रै महिना भुक्तानी गर्न सकिने व्यवस्था छ,’ उनले भने ।

निर्देशक बसौलाले परीक्षण भएका दाबीहरुको यथाशिघ्र भुक्तानी गर्न बिमा बोर्ड लागिपरेको र आगामी दिनमा कार्यतालिका तयार गरी नियमित भुक्तानी हुने जनाउँदै बिमितलाई नियमित स्वास्थ्य सेवा प्रवाह गर्न सेवाप्रदायक स्वास्थ्य संस्थालाई आग्रह गरेका छन् । उनले आर्थिक वर्ष २०७८/०७९ मा बाँकी रहेका १९ लाख ९ हजार ५७ संख्याका दाबी र चालु आवका ३३ लाख ७५ हजार ८ सय ३७ गरी कुल ५२ लाख ८४ हजार ८ सय ९४ संख्याको दाबी परीक्षण भएर ८ अर्ब १३ करोड भुक्तानी भइसकेको बताए ।

उनका अनुसार बिमा बोर्डमा हाल दैनिक हुने दाबी बढ्दो क्रममा रहेकाले दाबी प्रविष्ट हुने र दाबी परीक्षण गर्ने जनशक्ति अभावले केही विलम्ब भएको छ । चालु आर्थिक वर्षको जेठ १५ गतेसम्मको १८ लाख ५३ हजार ९ सय ५३ वटा दाबीलाई पहिलो प्राथमिकताका साथ परीक्षण गर्ने काम भइरहेको छ ।

कार्यकारी निर्देशक बसौलाले कान्तिपुरसँग भने, ‘बीपी प्रतिष्ठानले बिमा ऐन र नियमावली अनुसार बिमितको चाहिने कागजपत्र नपठाएकाले पहिलेको ९ करोड रुपैयाँ रिजेक्सनमा परेको हो । उहाँहरुले नियम नपुर्‍याई दाबी गरेको आधारमा भुक्तानी गर्न सक्दैनौं । नियमअनुसार पठाएका कागज पत्रका आधारमा बोर्डले बीपी पतिष्ठानलाई भुक्तानी गर्दै आएको छ । आजको आजै भुक्तानी पाउनु पर्छ तर बोर्डले दिएन भनेर बिमा कार्यक्रम रोकिनु हुँदैन ।’

प्रकाशित : असार १४, २०७९ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्

अनलाइन जुवा खेल्ने ११ जना पक्राउ

सुवास विडारी

मकवानपुर — मकवानपुर प्रहरीले हेटौंडामा कोठा भाडामा लिएर अनलाइन जुवा खेल्ने ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका–४, कमलडाँडा डेरी गरी बस्ने कुलदीप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा–९ लामसुरे बस्ने २३ वर्षीय निसान आचार्यसहित ११ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा–४, कमलडाँडाको २४ वर्षीय राजीव गौतम, हेटौंडा–१४चुरियामाईका २४ वर्षीय निमा थिङ, हेटौंडा–१२, पदमपोखरीका २३ वर्षीय विकास बल, मनहरी–४, मसिनेका २० वर्षीय जोसिल खत्री, गोरखा पालुङटार–७ का २२ वर्षीय डुलास तामाङ, २१ वर्षीय तिकमान तामाङ, अमोश तामाङ र बारा निजगढ–४ का २० वर्षीय अर्पण खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट अनलाइन जुवा खेल्न प्रयोग भएका विभिन्न कम्पनीका १ सय १०थान मोबाइल, ३ थान ल्याप्टप, ५ थान कम्युटर र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ बरामद गरेको छ ।

प्रहरीका अनुसार, कुलदीप पाठक भने हाल फरार छन् । उनको खोजी गर्नुका साथै उक्त घटनाका बारेमा आवश्यक अनुसन्धानका साथै कानुनी प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।

प्रकाशित : असार १४, २०७९ १७:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×