३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बन्चरेडाँडा जाने सडक अवरुद्ध, काठमाडौंमा दुई दिन फोहोर नउठ्ने

काठमाडौँ — नुवाकोटको सिसडोलमा सडक वर्षाका कारण अवरुद्ध भएको छ । भारी वर्षाका कारण सिसडोलमा बनेको फोहोरको पहाडबाट लेदोसहितको फोहोर खसेपछि सडक अवरुद्ध भएको हो । उपत्यकाको फोहोर बन्चरेडाँडामा विसर्जन हुँदै आएको छ । सिसडोलबाट दुई किलोमिटर टाढा बञ्चरेडाँडा अवस्थित छ ।

बन्चरेडाँडा जाने सडक अवरुद्ध, काठमाडौंमा दुई दिन फोहोर नउठ्ने

काठमाडौं महानगरपालिकाको वातावरण विभागले सिसडोलको ६० देखि ७० मिटर सडकखण्ड जोखिमयुक्त भएकाले वैकल्पिक बाटो बनाउनुपर्ने भएकाले दुई दिन फोहोर नउठ्ने भएको हो । बाटो मर्मत गर्नुपर्ने भएकाले मंगलबार र बुधबार उपत्यकाबाट फोहोर बोक्‍ने गाडीलाई नपठाइएको हो ।

बन्चरे डाँडामा दैनिक २ सय गाडी फोहोर विसर्जन हुँदै आएको छ । वर्षायाममा मुस्किलले सय वटा गाडीले फोहोर विसर्जन गर्ने गर्छन् ।

सिसडोलको सडकमा तीन वर्षअघि फोहोरको पहिरो गएपछि त्यहीमाथि सडक बनाइएको थियो । ग्राभेल हालेर मर्मत गरिए पनि वर्षायाममा सडक अवरुद्ध हुने गरेको छ ।

वर्षायाममा सिसडोलमा विसर्जन गरिएको फोहोर कुहिने र त्यही कुहिएको फोहोर लेदोको रुपमा खस्दा सडक अवरुद्ध हुने गरेको छ । कुहिएको फोहर माथिबाट आवतजावत गर्दा दुर्घटना हुने खतरा भएकाले कामपा वातावरण विभागले उपत्यकाबाट फोहोर लाने काम बन्द नै गरेर उक्त स्थानमा सफा गर्न लागेको जनाएको छ । महानगरको वातावरण विभाग प्रमुख सरिता राईका अनुसार केही दिनदेखि नियमित परेको वर्षाका कारण समस्या आएको छ । निरन्तर परेको पानीले काठमाडौंदेखि अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रूपमा सबै फोहोरका गाडी जान सकेका छैनन् ।

महानगरका इन्जिनियर सरकारदीप श्रेष्ठले सिसडोलमा बाटो फराकिलो बनाउने काम भइरहेको जानकारी दिए । यस्तै, बन्चरे डाँडा जानका लागि वैकल्पिक बाटो पनि बनिरहेको श्रेष्ठले जानकारी दिए ।

महानगरले यो दुई दिन सडकका फोहोर टेकु ट्रान्सफर स्टेसनमा ल्याउँदै सकेसम्म सडकलाई फोहोररहित बनाउने जनाएको छ ।

गत फागुनदेखि जेठ सम्ममा सिसडोल बञ्चरेडाँडाका स्थानीय र जनप्रतिनिधिले विभिन्न माग राख्दै अवरोध गर्दा उपत्यकाको १८ स्थानीय तहको फोहर ४६ दिनसम्म व्यवस्थापन भएको थिएन । सरकार र काडमाडौं महानगरपालिकाले स्थानीयसँग सहमति गरेपछि फोहर व्यवस्थापनको काम नियमित भएको थियो । फोहोर व्यवस्थापन नियमित भएपनि ल्यान्डफिल साइट जाने सडकमा खाल्डाखुल्डी धेरै हुँदा सडक अवरुद्ध हुने गर्छ ।

महानगरपालिकाले साउन १ गतेदेखि स्रोतबाटै फोहोरको वर्गीकरण गर्न सार्वजनिक सूचना निकालेको छ । फोहोर वर्गीकरण नगरे जरिवाना लाग्ने भन्दै सूचना जारी गरिसकेको छ । फोहोर संकलनका क्रममा वर्गीकरण नगरे जरिवानासमेत गर्ने जनाएको छ ।

प्रकाशित : असार १४, २०७९ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?