बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका रामेछापका घिसिङ पक्राउ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका रामेछापका घिसिङ पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — बैंकिङ कसुरमा मुद्दामा दोषी ठहर भई फरार रहेका रामेछापका ४३ वर्षीय विनोद घिसिङ पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध परेको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले गत पुस २७ गते एक करोड दुई लाख पचास हजार रुपैयाँ जरिवानासहित २१ दिन कैदको सजाय तोकेको थियो ।

फरार रहेका घिसिङलाई अदालतको फैसलाबमोजिम पक्राउ गरी फैसला कार्यान्वयनका लागि मंगलबारै जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए । रामेछापको सुनप‍ति गाउँपालिका स्थायी घर भई हाल जोरपाटी बस्दै आएका घिसिङले मेघा बैंक लिमिटेड बौद्ध शाखामा रहेको आफ्नो खातामा नगद मौज्दात नभएको जानी-जानी विभिन्न व्यक्तिहरुलाई चेक दिएर झुक्याएका थिए ।

उनीविरुद्ध तीन जनाले जाहेरी दिएका थिए । अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा कैद र सजाय गरेको हो ।

प्रकाशित : असार १४, २०७९ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्

राजधानीमा हैजाको लहर उर्लंदो !

शेरबहादुर पुन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २ गते विज्ञप्ति प्रकाशित गर्दै काठमाडौंमा दुई बिरामीमा हैजा पुष्टि भएको जानकारी दियो । काठमाडौंस्थित बागबजार निवासी एकै परिवारका दुई सदस्यलाई एकैपटक अचानक कडा हैजा देखिएको थियो । उनीहरूले प्रयोग गरेका पानीको नमुनामा कोलिफर्म (इकोलाई संक्रमण) देखिएको पनि सार्वजनिक भइसकेको छ अर्थात् खानेपानीमा दिसा मिसिएको रहेछ भन्ने हो ।

हैजा पनि दिसाबाट बाहिरिने भएकाले मानिसले प्रयोग गरिरहेको पानीमा हैजाको जीवाणु हुनसक्ने सहजै अनुमान गर्न सकिन्छ; यो कुरा माथि उल्लेखित बिरामीको नमुनामा हैजाको 'ओ १ ओगावा सेरोटाइप' किटाणु पुष्टि भएसँगै प्रमाणित पनि भइसकेको छ । हैजा संक्रमितले प्रयोग गरेको पानी अन्य सर्वसाधारणहरूले पनि निरन्तर प्रयोग गरिरहेका हुन सक्छन् ।

पुष्टि भएका यी दुईबाहेक हैजाका थप बिरामी राजधानीका विभिन्न ठाउँहरूमा देखिँदै जान थालेका छन् । यसले काठमाडौंमा हैजाको लहर उर्लंदै गइरहेको कुरालाई स्पष्ट संकेतसमेत गरेको छ ।

हुन त हैजाको उपस्थिति राजधानीमा यो पहिलो भने होइन । दुई दशक अगाडि मैले मेडिकल अधिकृतको रुपमा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा सेवा सुरु गर्दा वर्षायाम लाग्नेबित्तिकै झाडापखालाका बिरामीले अस्पताल भरिभराउ हुने गर्दथ्यो; त्यसमा हैजाको संख्या उल्लेखनीय हुने गर्दथ्यो । बिरामीका लागि शय्या अपुग हुँदा भुइँमा राखेर समेत उपचार गर्नुपर्ने अवस्था थियो । अस्पतालका सबै कर्मचारीहरू अत्यन्त व्यस्त हुने गर्दथे ।

स्मरण रहोस्, यो अस्पताल कलेरा अस्पताल अर्थात् हैजा अस्पतालको नामले वि.सं. १९९० मा स्थापना भएको हो । हैजाका लागि नै भनेर छुट्टै अस्पताल स्थापना हुनुले पनि नेपाल हैजाबाट कतिसम्म प्रभावित हुने गरेको रहेछ/गर्दथ्यो भन्ने अनुमान गर्न सकिन्छ । हरेक वर्षजसो नेपालमा हैजा देखिँदै गर्दा फैलिसकेपछि भन्दा फैलनु अगाडि नै तयारी तथा योजनाको आवश्यकतालाई दर्साउँछ ।

हैजालाई घातक संक्रामक रोगको रुपमा लिइन्छ । 'भिब्रियो कोलेरा' नामका जीवाणुको कारणले हैजा रोग हुने गर्दछ । संक्रमण भएको केही घण्टादेखि ५ दिनसम्ममा लक्षणहरू देखापर्ने गर्दछ । अचानक र निरन्तर पीडारहित चौलानी पानी (चामलको माडबाट निकालेको पानी जस्तो) जस्तो पखाला लाग्नु, तारन्तार बान्ता हुनु, पेट अथवा खुट्टाका मांशपेशिकाहरु बौडिनु, आलस्य हुनु, बेचैनी हुनुजस्ता यसका प्रमुख लक्षण हुन् । तर‚ झन्डै ८० प्रतिशत संक्रमितमा झाडापखाला सामान्य अथवा लक्षणविहीन पनि हुन सक्दछ; यस्तो किसिमको झाडापखाला लागेका संक्रमितको दिसामार्फत १० दिनसम्म हैजाका जीवाणुहरू फैलिरहेका हुन्छन् ।

काठमाडौंमा हैजा पुष्टि भएको पहिलो बिरामीसँग झाडा सुरु हुनुको कारण बुझ्दा उनले चाउचाउ आफैं बनाएर खाएको र त्यसको लगभग ६-८ घण्टापछि अचानक रिंगटा लाग्ने, टाउको भारी हुने भएको र त्यसपछि अचानक तारन्तार पातलो दिसा लागेको र लगत्तै बान्ता सुरु भएको बताएका थिए । त्यसपछि होस् गुमाएका उनले अस्पतालमा पुगेपछि मात्रै आफू होसमा आएको बताएका थिए ।

हैजा कडा भए शरीरलाई कतिसम्म जोखिमपूर्ण हुँदो रहेछ भन्ने यो एउटा उदाहरण पनि हो । यसरी अचानक कडा हैजा हुँदा नजिकै आफन्त नभएको वा नजिकै स्वास्थ चौकी/केन्द्र नभएर उपचारमा ढिला हुन गए मृत्युसमेत हुन सक्छ । गत वर्ष कपिलवस्तुको कृष्णनगर नगरपालिकाका गाउँहरूमा हैजा फैलिँदा समयमा उपचार नपाउँदा केहीको मृत्युसमेत भएको थियो ।

नेपाली समाजमा झाडापखाला लागे पहिले आफैं औषधि किनेर खाने प्रचलन व्याप्त छ । काठमाडौंमा हैजा पुष्टि हुनुभन्दा केहि हप्ताअघि देखि नै झाडापखालाका बिरामीहरू देखिन थालिसकेका थिए । तर‚ अधिकांशले घरमै बसेर औषधि लिने गरेको जानकारीमा आएको छ । कडा हैजा लाग्दा पनि घरमै बसेर औषधि लिनुभन्दा त्यसको निदानका लागि अस्पताल आउनु उचित हुन्छ । यस्तो अवस्थामा ‘पर्ख र हेर’ को सिद्धान्त अपनाउँदा घातक सिद्ध हुन सक्छ ।

अचानक र अत्यधिक मात्रामा तारन्तार हुने दिसा र बान्ता नरोकिनु र अचेत अवस्थामा पुग्नु नै यसको घातक पक्ष हो । अझ घरमा परिवारका अरु सदस्य नभएमा अवस्था झन् घातक हुन सक्दछ किनभने यस्तो अवस्था भएको केही घन्टाभित्रमा उपचार नपाए बिरामीको मृत्यु नै हुन सक्दछ । यस्ता कडा हैजा भएका बिरामीको मृत्युदर पनि ५० प्रतिशतसम्म पुग्ने गरेको विगतका तथ्यांकहरूले देखाएका छन् । तसर्थ अचानक र निरन्तर पीडारहित चौलानी पानीजस्तो पखाला लागेमा, तारन्तार बान्ता भएमा, पेट तथा खुट्टाका मांशपेशीकाहरु बौडिने अवस्था सिर्जना भएमा तुरुन्त चिकित्सकको सम्पर्कमा रहने अथवा अस्पताल पुग्ने कोसिस गर्नु पर्दछ ।

समग्रमा, हैजा एउटा कडा झाडापखाला गराउने संक्रामक रोग हो । काठमाडौंमा देखिएको संक्रमितमा 'ओ १ ओगावा सेरोटाइप' को हैजा पत्ता लागेको छ । राजधानीका विभिन्न/फरक फरक ठाउँहरुमा हैजाका बिरामीहरू देखिँदै गर्दा सहरमा हैजाको जीवाणुले प्रकोप फैलाउँदै गैरहेको स्पष्ट हुन्छ । तसर्थ, आगामी दिनहरुमा संक्रमण थप नफैलोस् भन्नका लागि सम्बन्धित निकायले हैजाको स्रोत पत्ता लगाएर रोक्ने र बजारमा बेचबिखन भइरहेका खानेकुरा तथा पानीका गुणस्तरको अनुगमनमा कडाइ तथा तीव्रता दिनु पर्दछ । हामीले पनि खानेकुरा, पानी र हात धुने बानीमा विशेष ध्यान दिनु अत्यन्तै जरुरी छ किनभने राजधानीमा अहिले हैजाको लहर उर्लंदो अर्थात् ग्राफ उक्लँदो क्रममा छ ।

(संयोजक, क्लिनिकल रिसर्च युनिट शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल ।)

प्रकाशित : असार १४, २०७९ १३:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×