३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

जसपा पनि मन्त्री फेर्ने तयारीमा, अध्यक्ष यादव भन्छन्- 'पार्टीले चाहेको समयमा फिर्ता बोलाउँछ'

समितिको बैठकमा डा. बाबुराम भट्टराई र उनी पक्षधर नेताहरु अनुपस्थित

काठमाडौँ — जनता समाजवादी पार्टीले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेको छ । आइतबार नेकपा (एस)ले मन्त्रीहरु फेरेसँगै जसपाले पनि तयारी सुरु गरेको हो । जसपाको कार्यकारिणी समितिले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेको हो । 

जसपा पनि मन्त्री फेर्ने तयारीमा, अध्यक्ष यादव भन्छन्- 'पार्टीले चाहेको समयमा फिर्ता बोलाउँछ'

जसपाको सोमबार साँझ बसेको कार्यकारिणी समितिको बहुमत सदस्यको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने लगायतका निर्णय गरेको हो । अध्यक्ष उपेन्द्र यादवले पार्टीले चाहेको बेला मन्त्रीहरूलाई फिर्ता बोलाउने छलफल भइरहेको बताए । कान्तिपुरसँग उनले भने, 'आवश्यक पर्‍यो भने मन्त्रीहरूलाई फिर्ता बोलाउन सकिन्छ । अहिले चाहिँ पार्टीले चाहेको समयमा फिर्ता बोलाउन सक्छ भन्ने भएको छ ।'

मन्त्री हेरफेर सामान्य कुरा भएको अध्यक्ष यादवको भनाइ छ । उनले सरकारमा सहभागीहरूलाई फिर्ता गर्नका लागि पार्टीका अन्य नेताहरूसँग पनि परामर्श भइरहेको जनानकारी दिए ।

समितिको बैठकमा डा. बाबुराम भट्टराईसहितका उनका पक्षका कोही पनि नेता सहभागी नभएको बताइएको छ ।

जसपाका अर्का एक नेताका अनुसार भने मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय भइसकेको छ । ती नेताले भने, 'अध्यक्षले अरु नेताहरूसँग परामर्श गरेपछि प्रधानमन्त्रीलाई पत्र लेख्नुहुन्छ । मन्त्रीहरूलाई फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने निर्णय भइसकेको छ ।'

त्यस्तै, असार मसान्तभित्र केन्द्रीय कमिटी बैठक बोलाउने र पार्टीविरुद्ध गतिविधिमा लाग्ने नेताहरूलाई स्पष्टिकरण सोध्ने निर्णय भएको र ती जिम्मेवारी अध्यक्ष यादवलाई दिइएको ती नेताले जानकारी दिए । सोमबार राति भएको केन्द्रीय कार्यकारिणीको बैठकमा १९ जना सदस्यको उपस्थिति रहेको बताइएको छ ।

जसपाभित्र अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीच पछिल्लो समय विवाद बढ्दै गएको छ ।

प्रकाशित : असार १४, २०७९ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?