कैदीबन्दीको नामावली संकलन गर्नू  : सर्वोच्च - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैदीबन्दीको नामावली संकलन गर्नू  : सर्वोच्च 

‘हाललाई आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको निर्वाचन प्रयोजनका लागि कैदीबन्दीहरूको मतदाता नामावली संकलन तथा अद्यावधिक गर्नू’ : सर्वोच्च 
कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ कैदी बन्दीको समेत नामावली संकलन गर्न अन्तरिम आदेश दिएको छ । निशान्त पोखरेलले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले त्यस्तो आदेश दिएको हो । 

शुक्रबार दिएको आदेशको लिखित विवरण सर्वोच्च अदालतले सोमबार सार्वजनिक गरेको हो । सर्वोच्च अदालतले नेपालको संविधान, सर्वोच्चको नजीर र निर्वाचन आयोगको पुरानो निर्णयको आधारमा त्यस्तो निर्णय दिएको हो ।

२०६४ र २०७० सालमा भएका संविधानसभा निर्वाचनमा कैदी/बन्दीलाई पनि सरकारी कर्मचारी, सैनिक, प्रहरी र अस्थायी शिविरमा रहेका माओवादी लडाकुसँगै समानुपातिक तर्फ मतदानको अवसर दिइएको थियो । त्यसका लागि कैदी/बन्दीको नाम अस्थायी मतदाता नामावलीमा समावेश गरिएको थियो । अहिले पनि त्यस्तै नाम समावेश गर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।

नेपालको संविधानको प्रस्तावनामा वालिग मताधिकार प्रति प्रतिवद्धता व्यक्त गरिएको तथा धारा १७(२)(क) मा विचार र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरिएको भन्दै सर्वोच्चले यो आदेश गर्दा तिनै संवैधानिक व्यवस्थाको आधार लिएको छ । साथै यसअघि नै सर्वोच्च अदालतले ‘कारागारमा बस्दैमा सबै मौलिक हकहरू स्वत: स्थगन वा निलम्बित हुन्छ भन्ने होइन, कैद ठेकिएको व्यक्तिको हिँडडुल र आवतजावत गर्ने स्वतन्त्रताबाहेक अरु स्वतन्त्रता अपहरण हुन नसक्ने’ नजिर प्रतिपादन गरेको थियो ।

त्यसलाई समेत सर्वोच्चले आफ्नो आदेशको आधार मानेको छ । निर्वाचन आयोगले यही असार १ देखि मतदाता नामावली संकलन र अध्यावधिक गरिरहेको छ । ‘हाललाई आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फको निर्वाचन प्रयोजनको लागि कैदीबन्दीहरूको मतदाता नामावली संकलन तथा अद्यावधिक गर्नू’ सर्वोच्चले आदेशमा भनेको छ ।

प्रकाशित : असार १३, २०७९ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्

हराउँदै रैथाने माछा

‘खोलामा अहिले गंगटा त भेटिँदैन, केको माछा ?’
प्रदूषण, करेन्ट लगाएर मार्ने, जालको अत्यधिक प्रयोग, जलविद्युत् र सिँचाइ आयोजनाका लागि बनाइएका बाँध आदि माछालाई प्रतिकूल
गोविन्द पोखरेल

काठमाडौँ — मोरङको उर्लाबारीकी भीमकुमारी लिम्बू स्थानीय सोल्टी र बक्राहा खोलाबाट दैनिक ४ केजी माछा मार्थिन् । खोलामा मारेको माछा बेचेर गुजारा चल्थ्यो । उनीसँगै गाउँका अन्य केही परिवार सोल्टी र बक्राहा खोलाको माछामा आश्रित थिए । केही वर्षयता उनीहरू माछा मार्ने पेसा बदल्न बाध्य भएका छन् ।

सोल्टी र बक्राहा खोलामा गराई, पैया, झिँगे, पाङ्ग्रे, सिंगी, कैची बाम, अन्धा बाम, बुदुना, गरानी, बुहारी, हिले, गोरु, चेप्टी, सउल माछा प्रशस्त पाइन्थ्यो । अहिले भीमकुमारीलाई त्यो सपना जस्तै लाग्छ । भन्छिन्, ‘खोलामा अहिले गंगटा त भेटिँदैन, केको माछा !’ पहिला–पहिला खोलाका ढुंगा पल्टाउनेबित्तिकै गंगटा देखिन्थे, अहिले त्यो छैन । खोलामा धेरै किसिमका माछा थिए, अहिले फाट्टफुट्ट मात्रै देखिने उनले सुनाइन् ।

उर्लाबारीको सोल्टी र बक्राहा मात्रै होइन, जाजरकोटको कुशे गाउँपालिकास्थित सरुबगर, सल्यानको शारदा नदी, भेरी नदी, रामेछापको तामाकोसी, बागलुङको दरम खोलालगायत देशका अधिकांश खोलाहरूमा पाइने माछाको संख्या घट्दै गएको पाइएको छ । शारदा नदीमा माछा मारेर जीविकोपार्जन गर्ने बादी समुदायको पेसा अहिले संकटमा छ । रारामा पाइने असला र महाकालीमा पाइने महाशिर प्रजातिका माछा अहिले देखिन छाडेका छन् ।

गत चैतमा सोल्टी खोलामा विष हालेर माछा मार्दै स्थानीय । तस्बिर : गोविन्द पोखरेल

बगिरहने नदी, खोल्सा, पैनीमा पाइने माछाको संख्या कमी हुँदा कुनै ठाउँमा देखिनसमेत छाडेका छन् । पोखरी, ताल, दहहरूमा रैथाने माछा विलुप्त मात्रै भएका छैनन्, छाडिएका माछाहरू पनि भटाभट मर्न थालेका छन् । काठमाडौंको कमलपोखरीमा छाडिएको माछा होस् या टौदहमा, भटाभट मरिरहेका छन् । गत जेठमा एकै दिन कीर्तिपुरको टौदहका थुप्रै माछा मरे । चार महिनाअघि काठमाडौंकै कमलपोखरीमा त्यस्तै घटना दोहोरिएको थियो । पोखरीका सबै माछा मरेका थिए ।

०००

अनुसन्धानकर्ताहरूका अनुसार नेपालमा २ सय ५२ प्रजातिका माछा पाइन्छन् । सबैभन्दा बढी गण्डकीमा २ सय १ प्रजाति पाइन्छन् । कोसीमा १ सय ९४, कर्णालीमा १ सय ३९ र महाकालीमा ८९ प्रजातिका माछा अभिलेख गरिएको छ । नेपालमा पाइने माछामध्ये १६/१६ प्रजाति रैथाने र आयातित छन् ।

नेपालका नदीमा मुख्य गरी असला, सौल, बुदुना, जलकपुर, तीते, गरेला, सेताला माछा पाइन्छन् । तर तिनको संख्या क्रमिक रूपमा कम हुँदै गएकोप्रति संरक्षणकर्मी पनि चिन्तित छन् ।

असला माछा । तस्बिर सौजन्य : ओमहरि श्रेष्ठ

माछा प्रवर्द्धन तथा संरक्षणको कार्यक्रम पशु सेवा विभागअन्तर्गतको केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र बालाजुले हेर्छ । हरेक वर्ष केन्द्रले १ लाख ३ हजार मेट्रिक टन माछाका भुरा उत्पादन गर्छ । तीमध्ये खोला–नदीमा २१ हजार मेट्रिक टन भुरा छाड्ने गर्छ भने ८२ हजार मेट्रिक टन व्यावसायिक पालनका लागि पठाइन्छ ।

केन्द्रकी निमित्त प्रमुख एवं वरिष्ठ मत्स्य विकास अधिकृत सुमित्रा लौडारी पनि नेपालका नदीनालामा पाइने माछाका रैथाने प्रजातिहरू देखिन कम भएको बताउँछिन् । असला, गर्दी, जलकपुर, सहर माछा प्रजातिको संख्या कम हुँदै गएको उनले बताइन् ।

०००

माछाका अध्येता प्राध्यापक भरतकुमार सुब्बा पूर्वी नेपालका नदीहरूमा पाइने हिल्सा, रिता–रिता भनिने माछाहरू देखिन छाडेको बताउँछन् । भारतको गंगा नदी प्रणाली हुँदै कोसीसम्म आइपुग्ने माछा पनि निकै घटेका छन् । खोलामा माछाको घनत्व पनि एकदमै कम छ । खोलामा अत्यधिक रूपमा माछा मार्ने प्रवृत्तिका कारण संख्या घट्दै गएको उनी बताउँछन् । पछिल्लो समय ‘इलेक्ट्रोफिसिङ’ (करेन्ट लगाएर माछा मार्ने) का कारण जलचरहरू धेरै मारिने गरिएको उनले बताए ।

बक्राहा खोलामा करेन्ट लगाएर माछा मार्दै स्थानीय । तस्बिर: गोविन्द पोखरेल/कान्तिपुर

नदीहरूमा निर्माण गरिएका ठूला बाँध, जलविद्युत्का संरचना, बाढी, भेलका कारण माछाको आवागमन पनि बाधित भएको छ । जलचरका अनुसन्धानकर्ता एवं त्रिभुवन विश्वविद्यालय जीवशास्त्र केन्द्रीय विभागका प्राध्यापक प्रेम बुढा भन्छन्, ‘नेपालका नदीमा माछाले फुल पार्ने किसिमका बासस्थान मिचिएको छ । माछा अडिने तल्लो तटीय क्षेत्र बगाएको छ ।’

पछिल्ला वर्ष खेतबालीबाट बगेर आउने मल मिसिएको पानीले नदीमा पोषक तत्त्वको मात्रा धेरै बढाइदिँदा झार धेरै हुने र घुलित अक्सिजनको मात्रा कमी आउँदा जलचर मर्ने विज्ञहरू बताउँछन् । एसियन डेभलपमेन्ट बैंक (एडीबी) को सन् २०१८ को प्रतिवेदनअनुसार नेपालका ५० प्रतिशत नदीहरूमा बाँध निर्माण भएका छन्, जसले नदीको पुरानो बहाव प्रभावित भएको छ । प्रत्यक्ष असर माछालाई परेको उल्लेख छ ।

बुधुना ।तस्बिर सौजन्य : ओमहरि श्रेष्ठ

हिउँ कार्प प्रजातिको माछा बगिरहने नदीमा पाइन्छ । बगिरहने पानीमा फुल पनि तैरिने र प्रजननलाई सघाउ पुर्‍याउँछ । तर, जमेको पानीमा यो माछाको फुल पानीमा डुब्छ । त्यसभित्रका भुरा मरेर जान्छन् । बाँध बनाउँदा तापक्रम पनि बढ्ने भएकाले माछालाई असर गर्ने उक्त रिपोर्टमा उल्लेख छ ।

उपत्यकाका नदीहरूमा कुनै बेला प्रशस्त पाइने असला, हिले, गराई, बुदुनाजस्ता माछा हिजोआज सजिलै पाइँदैन । संख्या पनि घट्दै गएको छ । माछामा विद्यावारिधि गरेका नेपाल सरकारका पूर्वसचिव दीपबहादुर स्वाँर भन्छन्, ‘वाग्मतीमा ५५ प्रजातिका माछा पाइन्थे, अहिले मुस्किलले ५ भेटिन्छन् ।’ वाग्मतीको चोभारदेखि सुन्दरीजलसम्मका खोलाहरूमा अत्यधिक प्रदूषणले नालामा परिणत हुनुको सोझो असर जलचरमा परेको छ । नदीमा धेरै मात्रामा पोषक तत्त्व मिसिनु, पानी प्रदूषित हुनु, घुलित अक्सिजनको मात्रा घट्दा माछाहरू मर्ने गरेको उनले बताए ।

प्रदूषित वाग्मती ।

‘अहिले वाग्मतीमा भुटी माछा मात्रै पाइन्छ, मिचाहा प्रजातिको मानिने अफ्रिकन क्याट फिस पाइन्छ,’ उनले सुनाए । नदीमा हुने प्रदूषण, अत्यधिक माछा मार्ने/जाल हान्ने गतिविधि र इलेक्ट्रोफिसिङ (करेन्ट लगाएर मार्ने), विष हाल्ने कार्यले नदीहरूमा माछाको संख्या कम हुँदै गएको हो ।

जलचर संरक्षण ऐन, २०१७ मा नदी तथा खोलामा गैरकानुनी रूपमा माछा मारे, विष हाले, करेन्ट लगाएर माछा मारे ५ हजार रुपैयाँको जरिवानादेखि ६ महिनासम्मको कैद सजाय हुन सक्ने व्यवस्था छ । यसको अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइए पनि कार्यान्वयन भने भइरहेको छैन । कतिपय खोलामा पानीको मात्रा घटेर पनि जलचरको संख्यामा कमी आएका छन् । यस्तै, ब्यारेजहरू निर्माण गर्दा ‘फिस ल्याडर’ राख्नुपर्नेमा आवागमन नै छेकिने बनाइएका छन्, तल्लो तटीय क्षेत्रबाट माछा माथि उक्लिन पाउँदैनन् । एडीबीको प्रतिवेदनमा पनि बाँध र ब्यारेजका कारण माछा तल्ला तटीय क्षेत्र पुगेपछि माथि उक्लिन नसकेको उल्लेख छ ।

कर्णाली नदी । तस्बिरः हरिहरसिंह राठौर/कान्तिपुर

नारायणी र कोसी नदीमा हरेक वर्ष माछाका भुरा छाडिन्छन् । यी दुई नदीमा मात्रै अघिल्लो आर्थिक वर्षमा ६४ प्रकारका माछाका भुरा छाडिएको केन्द्रकी निमित्त प्रमुख लौडारीले जानकारी दिइन् । रैथाने माछाका भुरा उत्पादन गरेर नदीहरूमा छाड्दै आए पनि माछाको संख्या बढ्न सकेको छैन । प्रजनन समय नदी प्रदूषण हुनु, अनुपयुक्त बासस्थानले भुरा हाले पनि माछा अपेक्षित संख्यामा बढेको पाइएका छैनन् ।

मकवानपुरको वेकया खोलामा माझी समुदायको जीविकोपार्जनका लागि भनेर पनि केन्द्रले प्राकृतिक अवस्थाका माछाका भुरा छाड्छ । राप्ती, सामरी खोला र कोसीमा पनि छाडिने गरिएको छ । नेपालमा १६ प्रजातिका माछा रैथाने छन् । तीमध्ये सिउडोलागुभिया नेपालेन्सिस सन् २०१६ मा र गारा नेपालेन्सिस सन् २०१७ मा अभिलेख भएका थिए ।

गर्दी माछा । तस्बिर सौजन्य : ओमहरि श्रेष्ठ

माछामा विद्यावारिधि गरिरहेका ओमहरि श्रेष्ठको अनुसन्धानले पनि माछाको संख्या घटिरहेको देखाउँछ । नेपालका माछाको अवस्था सन्दर्भमा प्रकाशित हुन लागेको उनको अनुसन्धान रिपोर्टले पनि माछाको विविधता घट्दो रहेको उल्लेख गरेको छ । ‘नदीमा करेन्ट हालेर माछा मार्नाले धेरै नै असर गरिरहेको छ,’ श्रेष्ठले भने, ‘इल, राज बाम, सहर माछा देखिन छाडेका छन् । प्रदूषणका कारण पनि संख्या घटेको पो हो कि भन्ने छ तर अनुसन्धान भएको छैन ।’

व्यावसायिक उत्पादन र सजावटमा

तथ्यांक हेर्दा हरेक वर्ष माछा उत्पादन बढेको छ । आर्थिक वर्ष ०७३/७४ मा वार्षिक ८३ हजार ८ सय ९८ मेट्रिक टन, ०७४/७५ मा ८६ हजार ५ सय ४४ मेट्रिक टन, ०७५/७६ मा ९१ हजार ८ सय ३२ मेट्रिक टन, ०७६/७७ मा ९७ हजार २ सय ७१ मेट्रिक टन, ०७७/७८ मा १ लाख ४ हजार ६ सय २३ मेट्रिक टन खाने प्रयोजनका माछा उत्पादन भएको विभागको तथ्यांक छ ।

नेपालमा व्यावसायिक रूपमा तातो र चिसो पानी भएको ठाउँमा पाल्ने मिल्ने १० प्रकारका माछालाई केन्द्रले सिफारिस गरेको छ । तीमध्ये रहु, नैनी, बखुरा, कमन कार्प, सिल्भर कार्प, ग्रास कार्प, बिगहेड कार्प, पंगास, टिलापिया न्यानो पानीमा हुन्छ भने रेन्बो ट्राउट चिसो पानीमा हुन्छ ।

खोटाङको साकेला गाउँपालिका–३ खिदीमा रेन्बो ट्राउट माछा पालनका लागि खनिएको पोखरी । फाइल तस्बिरः डम्बरसिंह राई/कान्तिपुर

सिल्भर कार्प प्रजातिको माछा भने प्राविधिक रूपमा सिफारिस भएर सीमित मात्रामा पालन गर्न पाइन्छ । अफ्रिकन क्याटफिस भनिने मागुर र बटर फिस भनिने रूपचन्द माछा अनियन्त्रित रूपमा पालन भइरहेको छ ।

सजावटी माछाको सन्दर्भमा ५ वटा आयातित र एउटा स्थानीय प्रजाति छ । गोल्ड फिस, कोइ कार्प, गुप्पी, स्वर्ड टेल, प्लेटी सजावटका माछाका रूपमा छन् भने कोलिसा माछा नेपालमै पााइने सजावटका लागि पालिने माछा हो ।

प्रकाशित : असार १३, २०७९ २०:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×