कांग्रेसले आफ्नो विचारको आधारमा शक्ति निर्माण गर्ने आत्मविश्वास गुमाइसक्यो : महासचिव पोखरेल

काठमाडौँ — नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालमा विकास र समृद्धिका लागि नीतिगत नेतृत्वको आवश्यक भएको बताएका छन् ।

कांग्रेसले आफ्नो विचारको आधारमा शक्ति निर्माण गर्ने आत्मविश्वास गुमाइसक्यो : महासचिव पोखरेल

प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘दुनियाँको राजनीतिक इतिहास पढ्दा प्रष्ट हुन्छ दलहरू मिलेर व्यवस्था बदलेका छन् । तर, दलहरू मिलेर राष्ट्र बनाएको कतै पाइदैँन,’ उनले भने, ‘हामी नेपालमा विकास र समृद्धिको कुरा गर्छौं भने त्यहाँ नीतिगत नेतृत्वको आवश्यक पर्छ । त्यसैले नेपाललाई विकास र समृछिको बाटोमा हिँडाउने हो भने राजनीतिक ध्रविकरण आवश्यक छ ।’

नेपालको राजनीति अहिले दुई कित्तामा बाँडिएको प्रसंग कोट्याउँदै उनले भने, ‘एउटा बुर्जुवा शक्तिले नेतृत्व गरेको पुँजीवादतर्फको कित्ता र अर्को वामपन्थी शक्तिले नेतृत्व गरेको समाजवादतर्फको कित्ता । अरु सबै विचार र श्रृंखला भनेका त्यसैको वरपर छन्,’ पोखरेलले भने, ‘फरक विचारबीच ध्रुविकरण गर्ने हो भने यी दुई शक्तिबीच ध्रुविकरण ऐतिहासिक आवश्यकता हो । जसले समृद्धिको नेतृत्व गर्न सक्छ ।’

यद्यपि, नेपाली कांग्रेस आफ्नो विचारको आधारमा शक्ति निर्माण गर्ने आत्मविश्वास गुमाइसकेको राजनीतिक दलका रुपमा रहेको भन्दै उनले आलोचना गरेका थिए । ‘ नेपाली कांग्रेस यति हतोत्साही र निरास छ कि ऊ गठबन्धन बाहेकको तरिकाबाट राजनीतिको नेतृत्व गर्न सकिन्न भन्छ । तर, गठबन्धनले नीतिगत विचलन पैदा गर्छ । गठबन्धनले राजनीतिक अस्थिरता पैदा गर्छ,’ पोखरेलले भने ।

गठबन्धनले राजनीतिक अवसरवाद पैदा गर्ने र वैदेशिक हस्तक्षेप र चलखेललाई आमन्त्रण गर्ने पनि उनको दाबी थियो । ‘जुन राष्ट्रको समृद्धिको बाधक हो । त्यसैले नेपाललाई समृद्धिको बाटोमा अघि बढाउने हो भने नीतिगत नेतृत्वको प्रश्नमा आधारित भएर नीतिगत नेतृत्व निर्माण गर्ने कुरा नेपालको राजनीतिको आजको मिसन बन्नसक्नुपर्छ,’ उनले भने, ‘नेकपा (एमाले) त्यो मान्यतामा विश्वास गर्छ । हामी जननेता मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको मार्गदर्शन सिद्धान्तको आधारमा समाजवादको आधार तयार गर्ने उद्देश्यका साथ समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षलाई पूरा गर्नका लागि बलियो राष्ट्रिय पार्टीका रुपमा नेकपा (एमाले)लाई खडा गर्न चाहन्छौं ।’

उनले कुनै दल मिलेर एमालेको त्यो यात्रालाई रोक्ने प्रयास गरे पनि मुलुकको समृद्धिको यात्रा यही बाटोबाट मात्रै सम्भव भएको बताए । कार्यक्रममा मदन भण्डारीलाई स्मरण गर्दै उनी विद्रोही र बैचारिक नेता भएको नेता पोखरेलले बताएका थिए । नेतृत्वको होडवाजीमा नलागी मदन भण्डारीको पहलमा संयुक्त वाममोर्चा गठन गरी कम्युनिस्ट आन्दोलन थप शक्तिशाली बनेको पनि उनले स्मरण गरेका थिए ।

त्यस्तै सुधारिएको पञ्चायतको पक्षमा रहेका गिरिजाप्रसाद कोइरालालाई बहुदली व्यवस्थाको आकांक्षा जनताको आकांक्षा हो भन्दै भण्डारीले भित्री रुपमा विद्रोह गरेको र बहुदलीय व्यवस्था प्राप्त भएको पनि उनले स्मरण गरेका थिए ।

तत्कालीन माले र मार्क्सवादीबीच एकता गर्दै दुई पुस्ताको राजनीति जोड्ने कामको अगुवाइ पनि मदनले नै गरेको भन्दै पोखरेलले उनको योगदानलाई स्मरण गरेका थिए । यस्तै हतियारबाट मात्रै परिवर्तन सम्भव छ भन्ने तत्कालीन नेकपा माओवादी अहिले शान्तिपूर्ण राजनीतिमा आउनुको प्रमुख कारण पनि भण्डारीकै राजनीतिक सिद्धान्त प्रमुख भएको नेता पोखरेलको दाबी थियो ।

‘मदन भण्डारीको सिद्धान्तकै कारण माओवादीले परम्परागत ढाँचाको आफ्नो संगठनलाई बदल्न बाध्य भयो,’ उनले भने, ‘माओवादीको बहुपदीय ढाँचा त्यसैको कारण हो ।’

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले विश्वबाटै कम्युनिस्ट व्यवस्था संकटको अस्थामा गुज्रिरहेको बेला भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट अघि बढाएको बताए ।

‘मदन भण्डारीले ४१ वर्षको युवा उमेरमै धेरै कुरा सम्पन्न गरेर हामीबाट विदा हुनुभयो,’ उनले भने, ‘पार्टी नेतृत्वमा उहाँ जम्माजम्मी चार वर्ष मात्रै रहनुभयो । संसदीय राजनीतिमा उहाँ करिब २ वर्ष मात्रै रहनुभयो । तर, उहाँले छोटो समयमै नेपालको कम्युनिस्ट आन्दोलनलाई अन्तर्राष्ट्रिय स्तरमा ध्यानाकर्षण गराउने काम गर्नुभयो ।’

प्रकाशित : असार १३, २०७९ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?