३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

६ ठाउँमा सशस्त्रको गोताखोर टोली तैनाथ

काठमाडौँ — मनसुनजन्य बाढी र डुवानमा परेकालाई उद्धार तथा वेपत्ताको खोजी गर्न सशस्त्र प्रहरी बल (एपीएफ) मूख्यालयले देशका ६ ठाउँमा गोताखोर टोली तैनाथ गरेको छ ।

६ ठाउँमा सशस्त्रको गोताखोर टोली तैनाथ

बाढी र डुवानको उच्च जोखिममा रहेका क्षेत्रलाई लक्षित गरी सशस्त्र प्रहरीका ६ वटा युनिटमा २४ सै घण्टा तैनाथ रहने गरी गोताखोर टोली तैनाथ गरिएको हो ।

सशस्त्र प्रहरीका अनुसार गोताखोर तालीमप्राप्त ५६ जनालाई सुनसरीको पोकलीस्थित बराह बाहिनी, चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी विपत व्यवस्थापन शिक्षालय, काठमाडौंको सिनामंगलस्थित विपद व्यवस्थापन गण, कास्कीको पोखरा, बाँकेको शमशेर गञ्ज र कैलाली गरी सशस्त्र प्रहरीका ६ युनिटमा गोताखोर टोलीलाई तयारी अवस्थामा राखिएको हो ।

कुरिनटारमा १० जना र बाकी सबै अन्य ५ ठाउँमा तैनाथ गरिएको सशस्त्रले जनाएको छ । सशस्त्रले डुवानमा परेकाको १ सय २० फिट तल पुगेर उद्धार तथा वेपत्ताको खोजी गर्न सक्ने गरी गोताखोर जनशक्ति तयार पारेको छ । विपद व्यवस्थापनकै लागि अहिलेसम्म २ हजार ३४ जनशक्ति तयारी हालतमा राखिएको सशस्त्रले जनाएको छ ।

यस बाहेक विपद प्रतिकार्य योजना अन्तर्गत हिमाली ११ जिल्लाका १३ ठाउँका सशस्त्र प्रहरी युनिटमा पनि विपद उद्धार उपकरण पठाइएको, २६ जिल्लाका ३४ युनिटमा ५५ वटा ‘रेस्क्यु बोट’ र १० जिल्लामा १६ वटा मोटरबोट तयारी अवस्थामा राखिएको छ ।

हरेक वर्ष वर्खायाममा हिमाल र पहाडमा पहिरो तथा उपत्यका र तराइमा बाढी र डुवानले जनधनको क्षति हुने गरेको छ । तर, मनसुन सुरु हुनुअघि नै जनधनको क्षति न्यूनीकरण हुने गरी प्रभावकारी प्रतिकार्य योजना बनेको पाइँदैन । जेठ ३१ मा गृहमन्त्री वालकृष्ण खाँणको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले आगामी मनसुनजन्य प्रतिकार्य योजना पारित गरेको थियो । मनसुनजन्य प्राकेपबाट यो वर्ष १९ लाख ९९ हजार ८ सय ७५ जनसंख्या र ४ लाख २१ हजार ४७ घरधुरी प्रभावित हुने विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रक्षेपण छ । विपदबाट प्रदेश १, मधेसप्रदेश, वाग्मती र लुम्बिनी बढी प्रभावित हुने प्रक्षेपण गरिएको छ ।

गृह मन्त्रालयका अनुसार मनसुनजन्य विपद्बाट वि सं २०६८ वैशाख १ देखि २०७८ चैत ३१ सम्म ५ हजार ८ सय २५ घटनामा २ हजार ३ सय ६२ को ज्यान गएको छ । ८ सय ८० अझै वेपत्ता छन् ।

१० वर्षको यो अवधिमा १ हजार ६ सय ४६ जना घाइते, ७८ हजार ८ सय ११ परिवार प्रकोपबाट प्रभावित र ६१ हजार ४ सय ३२ घरमा क्षति भएको अभिलेख छ । यो अवधिमा बाढी र डुबानबाट मात्रै ८ सय ५७, पहिरोबाट १ हजार ३ सय ८७ र भारी वर्षाका कारण १ सय १८ जनाको ज्यान गएको गृह मन्त्रालयको अभिलेखमा उल्लेख छ ।

यसैगरी यो अवधिमा बाढीबाट १६ अर्ब ८० करोड ७३ लाख ६० हजार, पहिरोबाट १ अर्ब ७५ करोड २६ लाख ५० हजार र भारी वर्षाबाट ५२ करोड ३७ लाख ८६ हजार बढी धनमाल क्षति भएको छ ।

२०७७ वैशाख १ देखि २०७८ चैत मसान्तसम्म प्राकृतिक प्रकोपबाट २ सय ५८ जनाको ज्यान गएको थियो । ६५ जना वेपत्ता र १ सय ९२ जना घाइते भएका थिए । १ वर्षको यो अवधिमा १ हजार ६ सय ५२ घरमा क्षति पुगेको थियो । ६ सय ७८ खानेपानी संरचना, ५२ वटा जलविद्युत्, ४५ पक्की पुल, ३ वटा बेलिब्रिज, ८७ वटा झोलुंगे पुल, ५८ वटा सरकारी भवन र ९३ शिक्षण संस्थाका भवनमा क्षति पुगेको थियो ।

प्रकाशित : असार १३, २०७९ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?