२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

माधव नेपालले संन्यास लिए हुन्छ : योगेश भट्टराई

काठमाडौँ — नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई संन्यास लिएर बस्न सुझाव दिएका छन् ।

माधव नेपालले संन्यास लिए हुन्छ : योगेश भट्टराई

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तरार्द्धमा रहेकाले संन्यास लिएर बस्न सुझाव दिएका हुन् । केही दिनअघि अध्यक्ष नेपालले आफूहरूलाई ‘१० भाइ एमालेका दास हौ; तिमीहरूले हाम्रो खैरो खन्छौ’ भन्ने भाषण गरेकोप्रति सांसद भट्टराईले माधव नेपालजत्तिको शीर्ष नेताले सम्हालिएर बोल्नुपर्ने बताए ।

उनले समाजवादीका अध्यक्ष नेपाल राजनीतिबाट नै अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भन्दै धुलो उडाउनुको तुक नरहेको पनि स्पष्ट पारे । सांसद भट्टराईले आफूले गरेका गल्तीहरूलाई आत्मसात् गर्दै नयाँ पुस्तालाई राजनीति, पार्टी, मुलुक सुम्पिएर आफू आनन्दले बस्न सुझाव दिए । भट्टराईले मुख छाड्दै हिँड्ने हो भने आफूलाई पनि त्योभन्दा धेरै मुख छाड्न आउने बताए ।

सांसद भट्टराईले भने, ‘माधव नेपालजस्तो शीर्ष नेता‚ त्यो ढंगले बोल्ने कुरा मलाई त्यति ठिक लाग्दैन । उहाँ सम्हालिनु पर्छ । अर्को कुरा उहाँ जीवनको उत्तरार्द्धमा हुनुहुन्छ; राजनीतिको पनि उत्तरार्द्धमा हुनुहुन्छ । उहाँका बारेमा धेरै टिप्पणी किन गर्नु ? उहाँको आगामी अवकाशको जीवन राम्रो बितोस् ।’

अवकाश लिने बेलामा अर्को पार्टी बनाउने भन्दै धुलो उडाउँदै हिँडेको बताए । ‘असम्भव कुरामा दौडिने नभई आफ्ना गल्तीहरूलाई रिलाइजेसन गरेर अब नयाँ पुस्तालाई राजनीति सुम्पिएर आफू आनन्दले बस्ने; संन्यासी मान्छेले मुख छाड्दै हिँड्दैनन् । अब माधव नेपाल पनि संन्यासी भएर बस्ने हो; मुख छाड्दै हिँड्ने होइन ।’

प्रकाशित : असार १२, २०७९ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?