नागरिकता विधेयक पारित गर्न नेताहरूसँग कुरा गरेको छु : सभामुख

काठमाडौँ — सभामुख अन्नीप्रसाद सापकोटाले नागरिकता विधेयक पारित गर्नका लागि संसद्‌मा रहेका राजनीतिक दलका शीर्ष नेताहरूसँग चरणबद्ध कुराकानी भइरहेको बताएका छन् । नागरिकता विधेयक पारित नहुँदा ठूलो संख्यामा नागरिक अन्यायमा परेको भन्दै सभामुख सापकोटाले संघीय संसद्को चालु बजेट अधिवेशनबाट पारित गर्ने प्रयास जारी रहेको बताए ।

नागरिकता विधेयक पारित गर्न नेताहरूसँग कुरा गरेको छु : सभामुख

संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको 'संसदीय समिति अभ्यास : पहिलो संसद्‌देखि संघीय संसदसम्म' पुस्तक विमोचन कार्यक्रममा आइतबार सभामुख सापकोटाले नागरिकता विधेयक पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल भएको जानकारी दिए । ‘संसद्‌मा नागरिकता विधेयक अड्किरहेको कारणले दर्जनौं डेलिकेशनहरू म भए ठाउँमा आएका छन् । धेरै मार्मिक कुरा छ । युवाहरू उमेर ढल्किन लागेको छ तर नागरिकता पाएका छैनन्,' उनले भने, 'अध्ययन गर्ने सुनौला अवसर गुमिरहेका छन् । ठूलो क्षति भएको छ । असाध्यै धेरै अन्याय भइरहेको छ भनेर मैले राजनीतिक पार्टीका नेताहरूसँग धेरै चरणमा कुरा गरेको छु ।'

नागरिकता विधेयकसँगै अन्य मुख्य विधेयक पारित गर्न सकेमा जनताका पक्षमा संसद्ले काम गरिरहेको छ भन्ने देखाउन र अनुभूति दिलाउन सकिने सभामुख सापकोटाको भनाइ थियो । 'प्रधानमन्त्रीसँग नागरिकता विधेयक यही सदनबाट पारित गर्नुपर्छ । त्यस्तै ८ वटा प्रतिस्थापन विधेयकहरू पनि पास गर्न सकिन्छ । बजेट अधिवेशनमा पनि दर्जन बढी विधेयकहरू पास गर्न सक्यौं भने जनतालाई गर्दा हुने रहेछ भन्ने हुने थियो । गर्दैछ भन्ने आश लाग्ने थियो,’ उनले भने । संसद्‌बाट कतिपय विधेयक पारित गर्न नसकिँदा देशलाई क्षति भएको उनको भनाइ थियो ।

सभामुख सापकोटाले देशमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्नेबाहेक आफ्नो कुनै स्वार्थ नभएको पनि बताए । उनले भ्रष्टाचार बढ्दै गए भष्ट्राचारले देशलाई कोल्याप्स पार्ने बताए । ‘संसद्‌मा हाम्रो अरु कुनै स्वार्थ छैन । स्वार्थ छ भने देशको स्वार्थ छ, यो देशको सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने रहेको छ । भ्रष्टाचार कुरा गर्दा भ्रष्टाचार भनेको कुनै बजेटसँगको कुरामात्रै होइन । आर्थिक सवालसँगको मात्रै कुरा होइन । भ्रष्टाचार देश र राष्ट्रियतासँगको कुरा हो,' उनले भने ।

सभामुख सापकोटाले संसद्ले‌ जनताका कुरालाई आत्मसाथ गर्नसक्नु नै सफलता हुने बताए । उनले पछिल्लो समय विश्वमा दर्शन, विचार र सिद्धान्तबारे छलफलभन्दा पनि व्यापारमा बढी केन्द्रित भएको बताए ।

प्रकाशित : असार १२, २०७९ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?