१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दिलमायाको मृत्युपछि कोठाबाट भागेका थिए एक पुरुष

काठमाडौँ — गायिका दिलमाया सुनार कोठामै मृत अवस्थामा फेला परेकी छन् । अन्दाजी ३० वर्षीय लोकदोहोरी गायिका सुनार बालाजु नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी हुन् । मृत्युको कारण आत्महत्या वा अरु भन्नेबारे खुलिनसकेको प्रहरीले जनाएको छ ।

दिलमायाको मृत्युपछि कोठाबाट भागेका थिए एक पुरुष

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । सुनारको मृत्यु हुँदा एक जना पुरुष पनि साथमै रहेकाले घटना थप शंकास्पद बनेको अनुसन्धानमा संलग्न प्रहरीका एक अधिकृतले बताए । ती शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अस्पतालबाट पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको कारण खुल्ने प्रहरीले जनाएको छ ।

सुनारको मृत्युबारे अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार केही समयअघिबाटै उनी श्रीमानसँग सम्बन्ध विच्छेद गरी काठमाडौंमा बस्दै आएकी थिइन् । उनका एक छोरा छन् । उनी सुर्खेतमा मामाघरमा बस्दै आएको पनि खुलेको छ । यता काठमाडौंमा सुनार गहना पसलमा काम गर्ने एक व्यक्तिसँग ‘लिभिङ टुगेदर’मा भएको पनि खुलेको छ । प्रहरीका अनुसार सुनारको मृत्यु हुँदा ती व्यक्ति एउटै कोठामा थिए । हाल प्रहरी नियन्त्रणमा रहेका उनले आफू घटना हुँदा एउटै कोठामा रहेको स्विकारेका छन् । तर, आफू निद्रामा भएका बेला सुनारले सलले पासो लगाएर आत्महत्या गरेको दाबी उनले गरेका छन् । तर, घटनापछि उनी फरार भएका कारण सुनारको मृत्यु‚ आत्महत्या वा मारिएको हो भन्नेमा निचोडमा पुगिसकेको छैन ।

‘हामी सँगै थियौं । म निदाएछु । उनले पछ्यौरीले पासो लगाएर आत्महत्या गरिसकिछन् । त्यसपछि म डरले त्यहाँबाट हिडें,’ प्रहरीसमक्ष ती व्यक्तिले प्रारम्भिक सोधपुछमा भनेका छन् । तर, पासो लगाएको भनिएको सल र मृतक सुनारको मोबाइल घटनास्थलमा फेला परेको छैन । जसलाई प्रहरीले घटना लुकाउन शंकास्पद ती व्यक्तिले चलखेल गरेको हुन सक्ने आशंका गरेको छ ।

मृतक सुनारको फेसबुक र टिकटक अकाउन्टमा पनि उनले निराशाजन्य सामग्री तथा भिडियो पोस्ट गरेको देखिन्छ । ती पोस्ट उनी आफैंले वा उनीसँगै बस्ने अर्का व्यक्तिले गरेको हो भन्नेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

‘घटना हुनुअघि सुनारको फेसबुकमा लामो सामग्री पोस्ट भएको देखिन्छ तर घटनास्थलबाट मोबाइल र शंकास्पद व्यक्तिले उल्लेख गरेको सल पनि फेला नपर्नुले अनुसन्धानको दायरा बढेको छ,’ अपराध अनुसन्धान कार्यालयका एक प्रहरी अधिकारीले भने ।

प्रकाशित : असार १२, २०७९ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?