१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि अर्थले बजेट दिएन : शिक्षामन्त्री

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट नदिएको गुनासो गरेका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि बजेट विनियोजन नगरेको बताएका हुन् । 

कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि अर्थले बजेट दिएन : शिक्षामन्त्री

उनले मन्त्रालयले कक्षा ८ सम्म नै दिवा खाजाको व्यवस्थाको माग गरेर अर्थ मन्त्रालयलाई पठाएको बताए । मन्त्री पौडेलले सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कक्षा ८ सम्म दिवा खाजा पुर्‍याइने भने पनि बजेट प्रस्तुत हुँदा कक्षा ८ सम्म पुर्‍याउने गरी भन्ने भाषा प्रयोग गरिएको बताए । उनले यो गल्ती मन्त्रालयको तर्फबाट नभएको उल्लेख गर्दै यसप्रकारका सबै त्रुटिहरू सच्याउन आवश्यक रहेको बताए ।

उनले दिवा खाजा कक्षा ६ सम्मका विद्यार्थीका लागि थपिएर आएको हुँदा खुसी व्यक्त गरेका छन् । कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्नुपर्ने आफूहरूको प्रस्तावलाई बजेटमा नसमेटिएको उनले बताए । ‘अर्थ मन्त्रालयले पनि बजेट कमी भयो भन्नुभएको छ । नीति तथा कार्यक्रममा आयो; बजेटमा यो आएन । बजेटमा ८ सम्म पुर्‍याउने गरी हाललाई यो वर्ष ६ कक्षासम्म मात्र भन्ने भाषामा आयो‚’ उनले भने ।

‘आगामी आर्थिक वर्षदेखि देशभरका विद्यालयहरूमा भौतिक पूर्वाधारको कुरा, विद्यार्थी संख्या, मर्जको कुरा, २ हजारभन्दा बढी विद्यार्थी भएको स्थानमा बस दिने कुरा छ । सम्पूर्ण पुस्तकहरू पनि डिजिटल विधिद्वारा पुर्‍याउने र पेपरलेस टोटल बनाउनका लागि डिजिटल बोर्ड र कम्प्युटरको प्रचुरता सबै ठाउँमा हुनुपर्छ । सबै विद्यालयमा प्रविधि पुर्‍याउनसक्ने बित्तिकै पेपरलेस प्रविधिलाई अघि बढाउने कुरा मन्त्रालयको प्राथमिकतामा छ‚’ मन्त्री पौडेलले भने ।

मन्त्री पौडेलले शिक्षासम्बन्धी हरेक कुराहरु डिजिटल बनाउन मन्त्रालय प्रतिबद्ध रहेको समेत बताए । उनले सबै क्षेत्रमा पेपरलेस प्रविधि अघि बढाउने कुरा मन्त्रालयको प्राथमिकतामा रहेको बताए ।

प्रकाशित : असार १२, २०७९ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?