उपसभामुख र उपाध्यक्ष चयनको माग- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपसभामुख र उपाध्यक्ष चयनको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — लामो समयदेखि रिक्त रहेको उपसभामुख पदलाई छिटो पूर्णता दिन प्रतिनिधि सभामा सांसदले ध्यानाकर्षण गराएका छन् । नेकपा माओवादी केन्द्रकी सांसद अमृता थापाले आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रिक्त पदमा छिटो पूर्ति गर्न माग गरिएको छ ।

उनले तत्काल राष्ट्रिय सभाका उपाध्यक्षको पनि छिटो चयन गर्न माग गरेकी छन् । प्रतिनिधि सभाका तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि उनले राजीनामा दिए । त्यसपछि नयाँ सभामुख चयन गर्ने प्रक्रियामा तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले तीन वर्षअघि राजीनामा दिएपछि उक्त पद खाली छ ।

राष्ट्रिय सभामा भने उपाध्यक्ष शशिकला दाहालको गत फागुनमा पदावधि सकिएपछि उक्त पद खाली छ ।

प्रकाशित : असार १२, २०७९ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्

कञ्चनपुरमा दिनहुँजसो सवारी दुर्घटना

भवानी भट्ट

कञ्चनपुर — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७ सुडामा भारतीय नम्बरको कारले ठक्कर दिँदा बिहीबार एक किशोर घाइते भए । साइकलमा सवार १५ वर्षीय किशोरको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि सिटी स्क्यानका लागि धनगढी रिफर गरिएको छ ।

भारतीय नम्बरको कारले साइकलमा यात्रा गरिरहेका किशोरलाई ठक्कर दिएकै ठाउँमा एक दिनअघि बुधबार बसको ठक्करबाट एक महिलाको मृत्यु भएको थियो । साइकलमा यात्रा गरिरहेकी उनलाई बाटो काटने बेला बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएकी २८ वर्षीया महिलालाई बसले ब्याक गरेर पुन: च्यापेको आफन्तको आरोप छ ।

बुधबारै बेलौरी नगरपालिका–५ रामनगरमा मोटरसाइकलले राँगा गाडालाई ठक्कर दिँदा एक जनाको मृत्यु भयो भने एक घाइते भए । मादक पदार्थ सेवन गरेर हेल्मेट समेत नलगाई मोटरसाइकल चलाइरहेको युवकको मृत्यु भएको हो । मोटरसाइकलमा सवार अर्का युवक गम्भीर घाइते भएका छन् ।

मुख्य राजमार्गमा होस् वा बजार क्षेत्र तथा ग्रामीण क्षेत्र जताततै दिनहु‘ सडक दुर्घटनाहरु भइरहेका छन् । हरेक दिन एक/दुई जनाको मृत्यु पनि भइरहेको छ । अनियन्त्रित रुपमा सवारी साधन चलाउने, ट्राफिक नियमको पालना नगर्ने र राजमार्गमा यात्रु छोप्ने होडबाजीले दुर्घटना बढेको सरोकारवाला बताउँछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जेठमा मात्रै ५ वटा दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । असारको दुई सातामा मात्रै ५ भन्दा बढी दुर्घटना भइसकेका छन् भने ५ जनाको मृत्यु भइसकेको छ ।

‘केही दिनयता दुर्घटना निकै बढेको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी श्याम चौधरीले भने, ‘सवारी धनी र चालककै लापरबाहीले बढी दुर्घटना भएका छन् ।’ उनका अनुसार पछिल्ला केही दुर्घटनामा मदिरा सेवन गरेर वा लागूऔषधको प्रयोग गरेर सवारी साधन चलाउने, लेनको प्रयोग नगर्ने र ब्रेक भएर पनि प्रयोग नगरेको देखिएको छ ।

‘आफू नै पहिलो हुने होडबाजी देखिन्छ,’ एसपी चौधरीले भने, ‘सवारी धनीले पनि चालकको अवस्था नबुझेरै चलाउन दिएको पाइन्छ ।’ उनका अनुसार राजमार्ग क्षेत्रमा यात्रु छोप्ने होडबाजीले पनि ओभरटेक गर्दा दुर्घटना भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको जेठसम्म ९० दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ भने ६१ जना गम्भीर घाइते भएका छन् । सामान्य घाइते हुनेको संख्या ६४ छ । दुर्घटनाबाटै ६ चौपायाको मृत्यु भएको छ । कतिपय दुर्घटनाको मुख्य कारण छाडा चौपाया पनि भएका छन् । रातिको समयमा सडकमै बसेका चौपाया नदेखिने गरेका कारण दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

गत आर्थिक वर्षमा कञ्चनपुरका विभिन्न क्षेत्रमा गरी ९७ दुर्घटना भएका छन् । जसमा ३३ जनाको मृत्यु र ८७ जना गम्भीर घाइते भएका छन् । सामान्य घाइते हुनेको संख्या ६० जना । दुर्घटनाबाटै ४ चौपायाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १२, २०७९ १३:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×