सिकारी युगको 'साकेला सिली' सिक्दै सिलिमोपा र सिलिमोमा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिकारी युगको 'साकेला सिली' सिक्दै सिलिमोपा र सिलिमोमा

गणेश राई

काठमाडौँ — मानव सभ्यता विकास क्रमका अनेकौं चरण छन् । त्यसमा पदचाप रहेका सिकारी युग, कृषि युग हुँदै आधुनिक युगसम्म आइपुग्दा धेरै धेरै पदचिह्नहरू खिपिएका छन् । कविला युगको छिँडीहरू छिचोल्दै आएको किरात समुदायका सांस्कृतिक प्रतिनिधि उही सिकारी युगको नक्कल सिक्दैछन् । 

साकेला किरात राई जातिको प्रसिद्ध नाच हो । एउटा गोलाकारभित्र नाच्नेलाई दुई जनाले अगुवाइ गर्दछन् । त्यसमा शिरमा फेटा गुथाइएका पुरुषलाई सिलिमोपा र महिलालाई सिलिमोमा भनिन्छ । प्राय:जसो पुरुषले ढोल र महिलाले झ्याम्टा बजाउँछन् । ढोलको ढुङ्कु ढुङ्कुसँगै हातको चाल, गोडाको चाल, शरीरको हाउभाउले रौनकता छाउँछ । लस्करै नाच्नेहरूको ‘सै सै ला हौ सै सै ला’ एकै स्वरमा सुनिन्छ । सामान्य रूपमा सबैले बुझ्ने यत्ति नै हो । हरेक वैशाख पूर्णिमा उभौली र मंसिर पूर्णिमा उधौलीमा किरातीहरूको सिली (नाच) उस्तै लाग्छ ।

उभौलीको रौनक सकिएलगत्तै यतिखेर काठमाडौंको कोटेश्वरस्थित किरात राई यायोक्खाको सुम्निमा हलमा हरेक बिहान नाचको अगुवाइ गर्नेहरूको जमघट हुने गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा ‘साकेला सिलीको सिलिमोपा, सिलिमोमा प्रशिक्षण’ सञ्चालन गरिएकाले यसरी भेला भएका हुन् ।

सिली प्रशिक्षणमा जेपी राई, सुमन राई, नवीन राई (क), नवीन राई (ख), मुकेश राई, चन्द्रकला थुलुङ राई जुटिरहेका छन् । सैद्धान्तिक पाटोमा भोगीराज चाम्लिङ, जनक राई, खुक्सङ खम्बु, शान्तिराम राई, मुकेश राई खटिएका छन् । ढोल र झ्याम्टा सिकाउनेमा काम दिपेश राई, रामकुमार राईलगायत छन् ।

साकेला भनेको पितृ पुर्खाको सम्झना र सम्मान, प्रकृतिको पूजा, आशीर्वाद माग्ने, प्रकृति अनुकूल होस्, सहकाल सुव्यफाव्य होस्, रोगव्याधी नलागोस् भर्ने गरिने पूजाआजा हो । घरदेखि सामूहिक थलोसम्म गरिने सांस्कृतिक अनुष्ठान हो । नयाँ अन्नबाली छर्ने याममा उभौली साकेला गरिन्छ । अन्नबाली पाकेपछि प्रकृतिलाई धन्यवाद दिँदै पुर्खालाई आस्थाको भागभुरो चढाउने यामलाई उधौली भनिन्छ । यो सांस्कृतिक अनुष्ठानले मानव जीवन, जगतको सामाजिकीकरणको चरणहरू प्रतिबिम्बित गर्दछ ।

यायोक्खाका महासचिव जनक राईका अनुसार प्रस्तुतिका हिसाबले तीन प्रकारका सिली सिकाइँदैछ । ती सिली सिकारी युग, कृषि युग र आधुनिक युगको सिली हुन् । ‘जीवन निर्वाहको क्रममा मानव जगतले सिकारी युगदेखि वर्तमानसम्म आइपुगेको छ,’ नृत्य प्रशिक्षकसमेत रहेका राई भन्छन्, ‘हाम्रा पुर्खाले हज्जारौं वर्षदेखि विकास गरेका मूल्य मान्यता र जीविकोपार्जनको लागि गरेको विभिन्न कामहरू र प्रकृतिसँगको सम्बन्धलाई ढोल, झ्याम्टाको तालमा गोलाकारमा नाचिने अभिनय कला साकेला सिली हो ।’

पहिलो, सांस्कृतिक अनुष्ठानमा नाचिने सिलीलाई लिइएको छ । यसभित्र धेरै खाले अभिनय छन् । जसमा कुलपितृ गर्दा नाचिने मछामा सिली, खाउमो गर्दा नाचिने खाउमो सिली, विवाहमा नाचिने सिली र धामी चिन्ता बस्दा नाचिने सिलीलाई लिइएको छ ।

यसैगरी दोस्रो जीवजन्तुको हाउभाउ गरिने सिलीहरू छन् । जसमा जीवजनावर बाघ, भालुको अभिनय सिली, पन्छीमा परेवा, नारवा (कर्‍याकुरुङ), धोबिचरा, बेसारा, भाले, मयुरलगायतको अभिनउ पर्दछ । यसैगरी माछा, भ्यागुतो, उपियाँ, जुका, झिंगाजस्ता किरा, फट्यांग्राको अभिनय गरिन्छ ।

तेस्रो, जीविकोपार्जनका सिलीलाई लिइएको छ । जनावरहरूको सिकार गर्ने, माछा मार्ने सिली नाचिन्छ । यसैगरी कृषि कर्ममा आधारित बालीनाली लगाउँदा खनजोत गर्ने, बीउ छर्ने, बिरुवा गोडमेल गर्ने, पाकेपछि भित्र्याउने, पकाइतुल्याइ खाने अभिनय गरिन्छ । यसलाई चासुम÷चारी सिली भनिन्छ । यस्तै, कपास खेती गरेर कपडा बुनेर लगाउनेसम्मका अभिनयलाई तयामा खियामा सिली भनिन्छ ।

सिलीको विविधा र विशेषताहरू छन् । ढोल र झ्याम्टाको ताल अनिवार्य छ । एउटै ताल र एकै खालको अभिनय गर्दै गोकालारमा सयौंको संख्यामा नाच्न सकिन्छ । जुनसुकै उमेर समूह र लिङ्गकाले सँगसँगै पंक्तिबद्ध नाचिन्छ । प्रत्येक सिलीले कुनै न कुनै अर्थ वा सन्देश दिन्छ ।

संगीतकार शान्तिराम राई उभौली र उधौलीमा सार्वजनिक रूपमा नाचिने साकेला नाचलाई अर्थपूर्ण तुल्याउन प्रशिक्षण दिइएको बताउँछन् । ‘यो सिली पहिलेदेखि नाच्दै आएकै हो तर सिलीको आफ्नो मौलिकता, उत्पत्तिका कथाहरू, सैद्धान्तिक पक्ष र प्रयोगात्मक पक्ष हेरेका छौं,’ सिलीको उत्पत्ति, विशेषता, किन नाचियो भन्नेबारे जानकारी राखेका व्यक्तिको जरुरत रहेको उल्लेख गर्दै उनले भने, ‘पुर्खाको इतिहास, सामाजिक मिथकहरू, सभ्यताको चरणलाई हाम्रा सिलीहरूले प्रतिनिधित्व गर्छ । त्यसैले सिलीलाई सार्थक र अर्थपूर्ण नाच्न तथा नचाउन सिलिमोपा, सिलिमोमाहरूलाई प्रशिक्षण दिएको हो ।’

सभ्यताको विकास क्रमलाई सिलसिलेवार ढंगले समय, परिस्थितिअनुसार सिली प्रस्तुत गराउनु प्रशिक्षणको मूल उद्देश्य रहेको जनाए । ‘तयामा खियामा सिलीमा तानबुन्ने, लुगा लगाउने युगमा प्रवेश गरियो र आधुनिक युगमा प्रवेश ग¥यौं,’ किरात सभ्यताको सूचक सिलीहरूमा पाइने उल्लेख गर्दै उनले भने, ‘हामीले बीसदिने प्रशिक्षणमा आधुनिक सन्दर्भसमेत जोडेर ४६ जना सिलिमोपा र सिलिमोमालाई पारंगत तुल्याएका छौं । लाग्छ, अब पुस्तान्तरण क्रमवद्ध ढंगले अघि बढ्छ ।’

मानिस नाचगानप्रति स्वाभाविक ढंगले बढी आकर्षित हुने तर पुस्तान्तरण सही ढंगले हुन नसक्दा युवा पुस्ता विचलित हुने गरेका छन् । राई जातिभित्र २६ भाषिक समुदाय रहेका छन् । भूगोल र क्षेत्रअनुसार हरेक समुदायपिच्छे केही फरक–फरक नाचहरू नाचिन्छन् । यसपटक ती फरक नाचमध्ये केहीलाई प्रशिक्षण दिइएको र त्यसलाई अभिलेखीकरणसमेत गरिने जनाइएको छ ।

प्रकाशित : असार १२, २०७९ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्

पिछडा वर्ग पहिचान गर्नै सकस

विभिन्न जातको एउटै थर भएकाले समस्या
गणेश राई

विराटनगर — आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक रूपमा पछाडि परेका तथा दलित र आदिवासी जनजातिमा नपरेका तराई–मधेसका समुदायले पिछडा वर्गमा सूचीकृत गर्न लामो समयदेखि माग गर्दै आए पनि आधिकारिक अध्ययन, अनुसन्धानको अभावमा राष्ट्रिय समावेशी आयोग अन्योलमा छ । समावेशी आयोग ऐन, २०७४ मा पिछडा वर्ग तथा समुदायको हक, अधिकारको संरक्षण र संवर्द्धन तथा त्यस्तो समुदायको सशक्तीकरण गर्ने उल्लेख छ ।

समावेशी आयोगका अध्यक्ष रामकृष्ण तिमल्सेनाले पिछडा वर्ग पहिचान गर्न गाह्रो भएको बताए । ‘ऐनमा थर सूचीकरण भनिएको छ, व्यवहारमा जात सूचीकरण गर्नुपर्ने स्थिति देखिएको छ,’ अध्यक्ष तिमल्सेनाले भने, ‘पिछडा वर्गले आफूलाई हिन्दू वर्णव्यवस्थामा नपर्ने मूलतः तराईमा बसोबास गर्ने छुट्टै जातका रूपमा रहेको दाबी गर्दै आएका छन् । समस्या यहींनेर रहेको छ ।’

सरकारले आयोग गठन हुनुअघि २९ वटा जातका समुदायलाई पिछडा वर्गमा सूचीकृत गरेको थियो । उक्त सूचीसहित ४१ वटा समुदाय पिछडा वर्गमा रहेको राष्ट्रिय पिछडा वर्ग महासंघको दाबी छ । तराई–मधेसका पिछडा वर्गका समुदायले मगही, मैथिली, बज्जिका, भोजपुरी र अवधी मातृभाषा बोल्दछन् भने क्षेत्रगत रूपमा उनीहरूका आ–आफ्नै संस्कार संस्कृति छन् । आयोगका अध्यक्ष तिमल्सेनाका अनुसार पिछडा वर्गभित्र चार सयभन्दा बढी थर रहेका छन् । उनका अनुसार विभिन्न जातको एउटै थर भएकाले पहिचान गर्न समस्या आएको हो ।

राष्ट्रिय पिछडा वर्ग महासंघका अध्यक्ष कौशलकुमार सिंह कुशवाह पहाड र मधेसमा जात र थरबारे बुझाइ फरक परेको बताउँछन् । ‘पिछडा वर्गको जातमा जुन राखिएको छ, ती जातहरूमा बुझाइमा फरक छ, मधेस र पहाडमा,’ उनी भन्छन्, ‘पहाडतिर थर भन्नेबित्तिकै जात भन्ने बुझिन्छ । जस्तो पौडेल भन्नेबित्तिकै बाहुन भन्ने बुझिन्छ । कार्की भनेपछि क्षत्री हो । तर मधेसमा त्यसरी बुझिन्न । जस्तो मेरो सिंह थर हो । सिंह थर मधेसका राजपुत, दनुवार, कुर्मीले पनि लेख्छन् । म कुशवाह जातको हो ।’

महासंघले दावी गरेको पिछडा वर्गका जातहरूमा कुशवाहा, कुर्मी, कुम्हार, कहार, केवट, कानु, कलवार, कमार, तेली, नुनिया, बनियाँ, बरैई, बढैई, भडिहर, माली, मल्लाह, यादव, राजभर, राजधोव, रौनियार छन् । यसैगरी लोहार, लोध, सुडी, सोनार, हजाम, हुलवाई, अमात, केवरत, बिन, जोगिया, कलाल, कमलापुरी वैश्य, पटनवार, कालाबन्जर, वोट, कथबनिया, कमकर, चनउ, लहेरी, ठठेरी/कशेरा, पटवा र बन्जारा छन् । ती जातभित्र धेरै थरहरू रहेका छन् ।

‘मधेसीको नाममा आरक्षण दिँदा मधेसका माथिल्लो र पहुँचवालाले मात्र आरक्षणको सुविधा उपभोग गर्दै आएका छन्,’ मधेसी समुदायमा सबै वर्ग, समुदाय र जातजाति रहेको उल्लेख गर्दै महासंघका अध्यक्ष कुशवाहले भने, ‘त्यसैले पिछडावर्गका लागि छुट्टै क्लस्टर कायम गरी आरक्षण व्यवस्था लागू हुनुपर्छ ।’

यसैगरी, अन्तर्राष्ट्रिय पिछडा वर्ग अनुसन्धान केन्द्रका अध्यक्ष वीरबहादुर महतो कुल जनसंख्या १८ प्रतिशत पिछडा वर्ग रहेको र त्यसमा ४२ वटा थर रहेको दाबी गरे । छिमेकी मुलुक भारतमा जस्तै नेपालमा पनि पिछडा वर्गलाई ओबीसी (अदर ब्याकवार्ड क्लास) मा राखिने पर्ने उनले बताए । ‘राज्यले अनुसन्धान गरेर जातजाति वर्गीकरण गरी सूची प्रकाशन गर्नुपर्छ,’ राज्य पक्षबाट समावेशिताको नीति तथा आधारहरूलाई वैज्ञानिक हुनपर्ने उल्लेख गर्दै महतोले भने, ‘पिछडा वर्गको पहिचान भाषा, संस्कृति परम्पराको संरक्षण पहल गर्नुपर्छ ।’

आयोगले विराटनगर, सप्तरी, वीरगन्ज, नवलपरासी, रौतहट र कपिलवस्तुमा सम्बन्धित जातीय समुदायसहितको गोष्ठी गरेको अध्यक्ष तिमल्सेनाले जनाए । ‘अब जातीयतामा होइन, वर्गीय रूपमा आरक्षण व्यवस्था गर्नुपर्ने देखिन्छ,’ पिछडा वर्ग पहिचानले आरक्षणमा समस्या हुने ठहर गरेको उल्लेख गर्दै अध्यक्ष तिमल्सेनाले भने, ‘तर अझै पनि सरकारलाई सिफारिस गर्न निचोडमा पुगिसकेका छैनौं ।’

दलित आयोग, मधेसी आयोग, मुस्लिम आयोग, आदिवासी जनजाति आयोग, थारू आयोगको ऐनले समेत थर सूचीकरण कार्यसम्पादन गर्न निर्देश गरेको छ । पिछडा वर्गभित्र रहेको दाबी गरिएका थरहरू दलित, मधेसी, जनजाति, मुस्लिम, जनजातिमा सूचीकृत रहेका छन् ।

अध्येता तथा लेखक भोला पासवान फरक–फरक आयोगले अलग–अलग जात र थर सूचीकरण गर्न नहुने बताउँछन् । ‘नेपालमा विभिन्न जातिजाति छन् र अनेक थरहरू छन्,’ जात र थरको विषय विरोधाभासपूर्ण रहेको उल्लेख गर्दै पासवानले भने, ‘पिछडा वर्गको सूचीकरण समावेशी आयोगले मात्रै गरेर हुन्न । सरोकारवाला सबै आयोगहरूले संयुक्त रूपमा विज्ञहरूसहित जातीय क्लस्टर राखेर थर सूचीकरण गर्न आवश्यक छ । नत्र यो बजेट पचाउने मेलोमात्र हुन्छ ।’ उनी थर सूचीकरण प्रत्येक वर्ष गर्नुपर्ने विषय नभई दीर्घकालीन उपादेयता दिने गरी हुनुपर्ने बताउँछन् ।

महासंघले पिछडा वर्गलाई समावेशिताका लागि प्रशासनिक, सुरक्षा, न्याय सेवालगायत क्षेत्रमा हुने नियुक्ति र सेवा प्रवेशमा तथा एक पटक बढुवामा समेत आरक्षणको व्यवस्था हुनुपर्ने माग राख्दै आएको छ । यसैगरी राजनीतिक सहभागिताका लागि स्थानीय, प्रदेश र संघ तीनवटै निकायमा हुने विधायिकामा पिछडा वर्गका छुट्टै क्लस्टर कायम गरी समानुपातिक समावेशी गराउन पनि महासंघको माग छ ।

प्रकाशित : असार १०, २०७९ ११:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×