कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सिकारी युगको 'साकेला सिली' सिक्दै सिलिमोपा र सिलिमोमा

गणेश राई

काठमाडौँ — मानव सभ्यता विकास क्रमका अनेकौं चरण छन् । त्यसमा पदचाप रहेका सिकारी युग, कृषि युग हुँदै आधुनिक युगसम्म आइपुग्दा धेरै धेरै पदचिह्नहरू खिपिएका छन् । कविला युगको छिँडीहरू छिचोल्दै आएको किरात समुदायका सांस्कृतिक प्रतिनिधि उही सिकारी युगको नक्कल सिक्दैछन् । 

सिकारी युगको 'साकेला सिली' सिक्दै सिलिमोपा र सिलिमोमा

साकेला किरात राई जातिको प्रसिद्ध नाच हो । एउटा गोलाकारभित्र नाच्नेलाई दुई जनाले अगुवाइ गर्दछन् । त्यसमा शिरमा फेटा गुथाइएका पुरुषलाई सिलिमोपा र महिलालाई सिलिमोमा भनिन्छ । प्राय:जसो पुरुषले ढोल र महिलाले झ्याम्टा बजाउँछन् । ढोलको ढुङ्कु ढुङ्कुसँगै हातको चाल, गोडाको चाल, शरीरको हाउभाउले रौनकता छाउँछ । लस्करै नाच्नेहरूको ‘सै सै ला हौ सै सै ला’ एकै स्वरमा सुनिन्छ । सामान्य रूपमा सबैले बुझ्ने यत्ति नै हो । हरेक वैशाख पूर्णिमा उभौली र मंसिर पूर्णिमा उधौलीमा किरातीहरूको सिली (नाच) उस्तै लाग्छ ।

उभौलीको रौनक सकिएलगत्तै यतिखेर काठमाडौंको कोटेश्वरस्थित किरात राई यायोक्खाको सुम्निमा हलमा हरेक बिहान नाचको अगुवाइ गर्नेहरूको जमघट हुने गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा ‘साकेला सिलीको सिलिमोपा, सिलिमोमा प्रशिक्षण’ सञ्चालन गरिएकाले यसरी भेला भएका हुन् ।

सिली प्रशिक्षणमा जेपी राई, सुमन राई, नवीन राई (क), नवीन राई (ख), मुकेश राई, चन्द्रकला थुलुङ राई जुटिरहेका छन् । सैद्धान्तिक पाटोमा भोगीराज चाम्लिङ, जनक राई, खुक्सङ खम्बु, शान्तिराम राई, मुकेश राई खटिएका छन् । ढोल र झ्याम्टा सिकाउनेमा काम दिपेश राई, रामकुमार राईलगायत छन् ।

साकेला भनेको पितृ पुर्खाको सम्झना र सम्मान, प्रकृतिको पूजा, आशीर्वाद माग्ने, प्रकृति अनुकूल होस्, सहकाल सुव्यफाव्य होस्, रोगव्याधी नलागोस् भर्ने गरिने पूजाआजा हो । घरदेखि सामूहिक थलोसम्म गरिने सांस्कृतिक अनुष्ठान हो । नयाँ अन्नबाली छर्ने याममा उभौली साकेला गरिन्छ । अन्नबाली पाकेपछि प्रकृतिलाई धन्यवाद दिँदै पुर्खालाई आस्थाको भागभुरो चढाउने यामलाई उधौली भनिन्छ । यो सांस्कृतिक अनुष्ठानले मानव जीवन, जगतको सामाजिकीकरणको चरणहरू प्रतिबिम्बित गर्दछ ।

यायोक्खाका महासचिव जनक राईका अनुसार प्रस्तुतिका हिसाबले तीन प्रकारका सिली सिकाइँदैछ । ती सिली सिकारी युग, कृषि युग र आधुनिक युगको सिली हुन् । ‘जीवन निर्वाहको क्रममा मानव जगतले सिकारी युगदेखि वर्तमानसम्म आइपुगेको छ,’ नृत्य प्रशिक्षकसमेत रहेका राई भन्छन्, ‘हाम्रा पुर्खाले हज्जारौं वर्षदेखि विकास गरेका मूल्य मान्यता र जीविकोपार्जनको लागि गरेको विभिन्न कामहरू र प्रकृतिसँगको सम्बन्धलाई ढोल, झ्याम्टाको तालमा गोलाकारमा नाचिने अभिनय कला साकेला सिली हो ।’

पहिलो, सांस्कृतिक अनुष्ठानमा नाचिने सिलीलाई लिइएको छ । यसभित्र धेरै खाले अभिनय छन् । जसमा कुलपितृ गर्दा नाचिने मछामा सिली, खाउमो गर्दा नाचिने खाउमो सिली, विवाहमा नाचिने सिली र धामी चिन्ता बस्दा नाचिने सिलीलाई लिइएको छ ।

यसैगरी दोस्रो जीवजन्तुको हाउभाउ गरिने सिलीहरू छन् । जसमा जीवजनावर बाघ, भालुको अभिनय सिली, पन्छीमा परेवा, नारवा (कर्‍याकुरुङ), धोबिचरा, बेसारा, भाले, मयुरलगायतको अभिनउ पर्दछ । यसैगरी माछा, भ्यागुतो, उपियाँ, जुका, झिंगाजस्ता किरा, फट्यांग्राको अभिनय गरिन्छ ।

तेस्रो, जीविकोपार्जनका सिलीलाई लिइएको छ । जनावरहरूको सिकार गर्ने, माछा मार्ने सिली नाचिन्छ । यसैगरी कृषि कर्ममा आधारित बालीनाली लगाउँदा खनजोत गर्ने, बीउ छर्ने, बिरुवा गोडमेल गर्ने, पाकेपछि भित्र्याउने, पकाइतुल्याइ खाने अभिनय गरिन्छ । यसलाई चासुम÷चारी सिली भनिन्छ । यस्तै, कपास खेती गरेर कपडा बुनेर लगाउनेसम्मका अभिनयलाई तयामा खियामा सिली भनिन्छ ।

सिलीको विविधा र विशेषताहरू छन् । ढोल र झ्याम्टाको ताल अनिवार्य छ । एउटै ताल र एकै खालको अभिनय गर्दै गोकालारमा सयौंको संख्यामा नाच्न सकिन्छ । जुनसुकै उमेर समूह र लिङ्गकाले सँगसँगै पंक्तिबद्ध नाचिन्छ । प्रत्येक सिलीले कुनै न कुनै अर्थ वा सन्देश दिन्छ ।

संगीतकार शान्तिराम राई उभौली र उधौलीमा सार्वजनिक रूपमा नाचिने साकेला नाचलाई अर्थपूर्ण तुल्याउन प्रशिक्षण दिइएको बताउँछन् । ‘यो सिली पहिलेदेखि नाच्दै आएकै हो तर सिलीको आफ्नो मौलिकता, उत्पत्तिका कथाहरू, सैद्धान्तिक पक्ष र प्रयोगात्मक पक्ष हेरेका छौं,’ सिलीको उत्पत्ति, विशेषता, किन नाचियो भन्नेबारे जानकारी राखेका व्यक्तिको जरुरत रहेको उल्लेख गर्दै उनले भने, ‘पुर्खाको इतिहास, सामाजिक मिथकहरू, सभ्यताको चरणलाई हाम्रा सिलीहरूले प्रतिनिधित्व गर्छ । त्यसैले सिलीलाई सार्थक र अर्थपूर्ण नाच्न तथा नचाउन सिलिमोपा, सिलिमोमाहरूलाई प्रशिक्षण दिएको हो ।’

सभ्यताको विकास क्रमलाई सिलसिलेवार ढंगले समय, परिस्थितिअनुसार सिली प्रस्तुत गराउनु प्रशिक्षणको मूल उद्देश्य रहेको जनाए । ‘तयामा खियामा सिलीमा तानबुन्ने, लुगा लगाउने युगमा प्रवेश गरियो र आधुनिक युगमा प्रवेश ग¥यौं,’ किरात सभ्यताको सूचक सिलीहरूमा पाइने उल्लेख गर्दै उनले भने, ‘हामीले बीसदिने प्रशिक्षणमा आधुनिक सन्दर्भसमेत जोडेर ४६ जना सिलिमोपा र सिलिमोमालाई पारंगत तुल्याएका छौं । लाग्छ, अब पुस्तान्तरण क्रमवद्ध ढंगले अघि बढ्छ ।’

मानिस नाचगानप्रति स्वाभाविक ढंगले बढी आकर्षित हुने तर पुस्तान्तरण सही ढंगले हुन नसक्दा युवा पुस्ता विचलित हुने गरेका छन् । राई जातिभित्र २६ भाषिक समुदाय रहेका छन् । भूगोल र क्षेत्रअनुसार हरेक समुदायपिच्छे केही फरक–फरक नाचहरू नाचिन्छन् । यसपटक ती फरक नाचमध्ये केहीलाई प्रशिक्षण दिइएको र त्यसलाई अभिलेखीकरणसमेत गरिने जनाइएको छ ।

प्रकाशित : असार १२, २०७९ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?