२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

‘कलेज र विषय रोज्न मेलाले सहयोग गर्छ’

काठमाडौँ — ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ सञ्चालित कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को दोस्रो दिन शनिबार मेला अवलोकन गर्न विद्यार्थी, अभिभावकको भीड लागेको छ । आयोजकका अनुसार शनिबार करिब ५० हजार जनाले मेलाको अवलोकन गरेका छन् ।

‘कलेज र विषय रोज्न मेलाले सहयोग गर्छ’

यसै सन्दर्भमा सातौं कान्तिपुर हिसान एडुफेयरका संयोजक युवराज शर्मासँग गरिएको कुराकानीको सम्पादित अंश :

कान्तिपुर हिसान एडुफेयरको चहलपहल कस्तो छ ?

दोस्रो दिन शनिबार पनि विद्यार्थी, अभिभावकको उत्साहजनक उपस्थिति रह्यो । यसपालि नयाँ ढंगबाट एडुफेयर सञ्चालन गरिएको छ । यसअघि पहिले विद्यालय र उच्च शिक्षाको मेला एकै ठाउँमा गर्थ्यौं । यसपालि एसईई दिएर बसेका कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई बढी लक्षित गरिएको छ । उच्च शिक्षाको हकमा छिटै मेला सञ्चालन गरिन्छ । एसईईको नतिजा आउने बेला भएको छ । विद्यार्थी कहाँ जाने, के पढ्ने, कस्ता शैक्षिक कार्यक्रम नेपालमा पठनपाठन हुन्छ भनेर अलमलमा परेका छन् ।

स्वदेशमै पढेर करिअर बनाउने सम्भावना के छ भन्ने चासो विद्यार्थीलाई छ । विद्यालय शिक्षामा यी कुराको धेरै चर्चा हुँदैन । मेलामा हामी विद्यार्थीहरूलाई आइडिया सेयर गर्छौं । व्यवस्थापन, विज्ञान, मेडिकल, इन्जिनियरिङबाहेक अरू विषयका बारेमा धेरै थाहा भएको पाइँदैन । अहिले डिजिटल टेक्नोलोजीले यति धेरै नयाँ विषय आएका छन् । तुरुन्त जागिर पाइहाल्ने विषय पनि प्रशस्तै छन् ।

कक्षा ११ मै कानुन पढ्न पाइने कुरा थाहा नहुने विद्यार्थी पनि धेरै भेटिन्छन् । विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षाका अतिरिक्त संगीत, कला, टेक्नोलोजी लगायत नयाँनयाँ विषयको जानकारी पाइने थलो पनि मेला बनेको छ । ७४ वटा ख्यातिप्राप्त, स्थापित संस्थासँग विद्यार्थी, अभिभावकले अन्तर्क्रिया गरेर लाभ लिन सक्ने अवसर पाएका छन् ।

एडुफेयरको दैनिक आकर्षणहरू के–के छन् ?

यसपालि विभिन्न प्रतियोगिता पनि राखिएको छ । हामीले पढाउने मात्रै होइन, शैक्षिक कार्यक्रमबाहेक अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई जोड्न खोजिएको छ । पठनपाठन सँगसँगै विद्यार्थीलाई सीपमूलक ज्ञान दिनु हाम्रो उद्देश्य पनि हो । आइतबार पेन्टिङ प्रतियोगिता हुँदै छ । ९ देखि १२ कक्षासम्मका विद्यार्थीले भाग लिन सक्छन् । विद्यार्थीले खेर गएका चिजवस्तुबाट केही न केही उत्पादन गर्ने प्रतिस्पर्धा राखिएको छ । कविता प्रतियोगिता पनि हुँदै छ ।

अंग्रेजी र नेपाली दुवै भाषामा प्रतियोगिता हुनेछ । उत्कृष्ट विद्यार्थीले निःशुल्क छात्रवृत्ति पनि पाउनेछन् । नगद पुरस्कार पनि छ । पढाइबाहेक शिक्षण संस्थामा विद्यार्थीका रुचिका क्रियाकलाप पनि हुने सन्देश दिन खोजिएको हो ।

बेलाबेलामा हुने यस्ता शैक्षिक मेलाको फाइदाचाहिँ के हो ?

अहिले विद्यार्थी परीक्षा दिएर बसेका छन् । कोभिडले दुई वर्षदेखि यस्ता शैक्षिक गतिविधि हुन सकेको थिएन । नेपालमा भएका उत्कृष्ट शिक्षण संस्थाका बारेमा विद्यार्थी, अभिभावकबाहेक सरोकारवालालाई पनि जानकारी दिने माध्यम बनेको छ । नेपालको शैक्षिक अवस्था कस्तो छ भन्ने कुरा मेलाको अवलोकन गरेपछि छर्लंग बुझ्न सकिन्छ । विज्ञ परामर्शदाता र काउन्सिलर राखेर अन्तर्क्रिया गराइएको छ । शिक्षकसँग प्रत्यक्ष कुराकानी गर्न पाउने व्यवस्था छ । यसबाट विद्यार्थीले सही शिक्षण संस्था, सही विषय रोज्न सक्छन् ।

कक्षा ११ भनेको भविष्यमा उच्च शिक्षासम्मको बाटो रोज्ने पहिलो खुड्किलो पनि हो । निःशुल्क रूपमा मेलामा आउन आह्वान गरिएको छ । छात्रावास, यातायात, शुल्क, विगतको नतिजा, अतिरिक्त क्रियाकलाप, शिक्षण विधिबारे पर्याप्त जानकारी लिन सकिन्छ । मेलामा उपस्थित हुन नसक्ने काठमाडौंबाहिरका विद्यार्थीलाई अनलाइनबाट पनि जानकारी बाँड्ने प्रयास भएको छ । विदेशमा बस्नेले पनि जानकारी पाउन सक्नुहुन्छ । पढ्नका लागि विदेश पुग्न पर्दैन भन्ने सन्देश मेलाले दिएको छ । विद्यार्थी, अभिभावकमा पनि त्यो आत्मविश्वास बढेको पाएका छौं ।

प्रकाशित : असार १२, २०७९ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?