शैक्षिक मेलामा विद्यार्थी-अभिभावकको भीड- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शैक्षिक मेलामा विद्यार्थी-अभिभावकको भीड

अभिभावक भन्छन्– ‘शिक्षण संस्थाबारे धेरै सूचना पाउन मेलाले सहयोग पुर्‍याएको छ’
कान्तिपुर संवाददाता

काठमाडौँ — ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ सञ्चालित कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को दोस्रो दिन शनिबार मेला अवलोकन गर्न विद्यार्थी, अभिभावकको भीड लागेको छ । आयोजकका अनुसार शनिबार करिब ५० हजार जनाले मेलाको अवलोकन गरेका छन् । 

काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी मेलामा ७४ वटा शिक्षण संस्थाको स्टल रहेको छ । शिक्षण संस्थाबारे धेरै जानकारी प्राप्त गर्न सजिलो हुने मेलाको भ्रमण गरेका नेपालगन्जका विद्यार्थी सुजिता कार्कीले बताइन् ।

‘कुन कलेज पढ्ने, कुन विषय रोज्ने, शुल्क कति लाग्छ, छात्रवृत्तिको व्यवस्था के छ भनेर बुझ्न पाइयो,’ उनले भनिन्, ‘एकै ठाउँमा यति धेरै शिक्षण संस्थाबारे बुझ्न पाउँदा समयको बचत भएको छ, सबै कलेजमा पुगेर बुझ्न सम्भव पनि हुँदैन ।’ मेला घुम्न आउने विद्यार्थीलाई शिक्षण संस्था सञ्चालक, शिक्षक, स्वयंसेवक र त्यहाँ अध्ययनरत विद्यार्थीले परामर्श दिने गरेका छन् ।

काठमाडौंका अभिभावक गणेश प्रधानले शिक्षण संस्थाबारे धेरै सूचना पाउन अभिभावकलाई पनि मेलाले सहयोग पुर्‍याएको बताए । ‘मेलामा फरक–फरक कलेज, विषयबारे भिन्दाभिन्दै सूचना पाइयो,’ मेला स्थलमा भेटिएका उनले भने, ‘आफ्ना छोराछोरीलाई कुन कलेजमा पढाउने, कुन विषय पढाउने, शुल्क कति लाग्छ भन्ने कुरा बुझ्न सजिलो रहेछ ।’

एसईई उत्तीर्णपछि कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई लक्षित गरी एडुफेयर सञ्चालन गरिएको हिसान अध्यक्ष रमेश सिलवालले जानकारी दिए । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मेलाको उद्घाटन गरेका थिए । मेला सोमबारसम्म सञ्चालन हुनेछ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेशन्स्ले संयुक्त रूपमा मेलाको आयोजना गरेका हुन् ।

मेलामा विभिन्न प्रतियोगिता पनि आयोजना गरिएको छ । विजयी विद्यार्थीले छात्रवृत्ति र नगद पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको छ । मेलामा एक हजारभन्दा बढी विद्यार्थीका लागि पूर्ण तथा आंशिक छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ । एडुफेयरको यो सातौं संस्करणमा २ लाखभन्दा बढीले सहभागिता जनाउने आयोजकको अनुमान छ ।

प्रकाशित : असार १२, २०७९ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्

ङादीले थाल्यो उत्पादन

आश गुरुङ

लमजुङ — निर्माण सुरु भएको ५ वर्षपछि ३० मेगावाटको ङादी जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन थालेको छ । उत्तरी लमजुङको ङादी खोलामा निर्मित आयोजनाले अहिले २६ मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ । तर व्यावसायिक उत्पादन थालेको जानकारी नेपाल विद्युत् प्राधिकरणले करिब डेढ महिनापछि मात्रै सार्वजनिक गरेको हो ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका ६ र ७ बीचमा ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको पावर हाउस । तस्बिर : कान्तिपुर

गत वैशाख ९ को बेलुका ८ बजेबाट परीक्षण उत्पादन थालिएकामा चलनचल्तीअनुसार त्यसको १५ दिन प्राधिकरणले निःशुल्क विद्युत् लिने गर्छ । त्यसपछि व्यावसायिक रूपमा उत्पादन हुन्छ । तर त्यसबारे प्राधिकरणले सूचना दिन नै उपयुक्त नसम्झेको आयोजनाका कर्मचारी बताउँछन् । प्राधिकरणले गत वैशाख २७ मध्यरात १२ बजेदेखि व्यावसायिक उत्पादनसँगै ‘मिटरिङ’ भएको जानकारी हालै मात्र दिएको आयोजनाका प्रशासकीय अधिकृत वासुदेव गड्तौलाको भनाइ छ । ‘अहिले अधिकतम २६ मेगावाटसम्म उत्पादन भइरहेको छ । प्राधिकरणको भारप्रेषण केन्द्रको निर्देशनअनुसार उत्पादनमा थपघट गर्ने गरिएको छ,’ उनले भने ।

परीक्षण उत्पादनको २ महिनाअगावै विद्युत् उत्पादनको तयारीमा रहेको आयोजनाले प्रसारण लाइनमा समस्याका कारण उत्पादन गर्न सकेको थिएन । प्राधिकरणले निर्माण गरिरहेको २२० केभीएको राष्ट्रिय प्रसारण लाइन नबन्दा यहाँ उत्पादित विद्युत् खुदीको टारीकुना सबस्टेसनमा जोड्ने भनिए पनि काम हुन सकेको थिएन । उत्पादित विद्युत् खेर जाने भएपछि हाललाई चिनियाँ कम्पनीले निर्माण गरेको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको प्रसारण लाइनमा ‘स्विचयाड’ गरिएको ङादी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए ।

स्रोतका अनुसार प्राधिकरणसँग ‘कनेक्सन एग्रिमेन्ट’ भइसकेको अवस्थामा माथिल्लो मर्स्याङ्दी ‘ए’ निर्माण गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रोले सहमति नदिँदा २ महिना उत्पादनमा ढिलाइ भएको हो । बुटवल पावर कम्पनी (बीपीसी) को सहायक ङादी हाइड्रोपावर कम्पनीले निर्माण गरेको आयोजनाले खुदी सबस्टेसनसम्मको ६ किलोमिटर प्रसारण लाइन आफैं बनाएको छ । चिनियाँ कम्पनी च च्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनी लिमिटेडले आयोजना निर्माण गरेको हो । कम्पनीले आयोजनाको अध्ययन, खरिद र निर्माण ईपीसी मोडलमा गरेको छ । कम्पनीसँग २०७३ माघ ३ मा ठेक्का सम्झौता भई चैत ३० बाट निर्माण सुरु भएको थियो ।

मर्स्याङ्दी गाउँपालिका–६ र ७ को बीचमा पर्ने ङादीखोलामा बनेको आयोजनामा बीपीसीको ९७.२२ प्रतिशत र लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) को २.७८ प्रतिशत लगानी छ । करिब ४ अर्ब ३८ करोडमा सक्ने गरी डिजाइन गरिए पनि आयोजना निर्माणमा ब्याजसहित ६ अर्ब ४ करोड २८ लाख रुपैयाँ खर्च भएको अनुमान गरिएको छ ।

प्रकाशित : असार १२, २०७९ ०७:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×