कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दुई सातामै कोरोना संक्रमण दर तेब्बर

संक्रमण बढ्ने क्रम दुई महिनादेखि नै सुरू भए पनि एक सातायता तीव्र  
सघन उपचारमा ४ जना, सक्रिय संक्रमितको संख्यासमेत उकालो लाग्यो
अतुल मिश्र

काठमाडौँ — दुई सातायता कोभिडको संक्रमण दरमा झन्डै तीन गुणाले बढेको छ । गत जेठ २९ मा कोभिड संक्रमण दर (पोजिटिभिटी रेट) ०.५५ प्रतिशत मात्र थियो । दुई सातामै शनिबार त्यो दर १.४९ प्रतिशत पुगेको छ । पछिल्लो पटक असार ६ गते पाजिटिभिटी दर १.१३ प्रतिशत पुगेको थियो ।

दुई सातामै कोरोना संक्रमण दर तेब्बर

संक्रमण दर उकालो लागेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ । दुई साताअघि (२९ गते जेठमा) १०६ जना सक्रिय संक्रमित रहेकामा शनिबार त्यो संख्या बढेर १८८ पुगेको छ । त्यस्तै सघन उपचार कक्षामा भर्ना हुने कोभिड बिरामीको संख्यासमेत चार पुगेको छ । ६ दिनअघि एक जनामात्र सघन उपचारमा थिए ।

‘दुई सातामा पोजिटिभिटी रेट झन्डै तीन गुणाले बढेको छ,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले भने, ‘भारतमा बढ्दो संक्रमणको प्रभाव र मुलुकमा हाल देखिएको जनस्वास्थ्य मापदण्डमा लापरबाहीले संक्रमणमा वृद्घि देखिएको हो ।’

विज्ञहरूका अनुसार संक्रमण बढ्ने क्रम दुई महिनादेखि नै सुरु भए पनि एक सातायता तीव्र बनेको हो । कोभिडको केस बढेपछि सबै अस्पताललाई सतर्क हुन पत्र पठाइसकेको डा. दासले जानकारी दिए । भारतमा संक्रमण बढ्ने क्रमसँगै नेपालमा पनि त्यसको प्रभाव देखिन थालेको डा. दासको भनाइ छ । भारतबाट नेपाल आउनेको परीक्षण नतिजा हेर्दा पनि संक्रमण दर क्रमशः बढ्न थालेको छ । ‘नाकामा आज (शनिबार) मात्र ४ जना पोजिटिभ देखिएका छन् भने केही दिनयता दैनिक सरदर ४ देखि ६ जना संक्रमित भेटिएका छन्,’ उनले भने । दासका अनुसार नाकामध्ये सबैभन्दा बढी संक्रमण लुम्बिनी प्रदेशको बेलहियामा देखिएको छ ।

भारतमा शुक्रबार कोभिडले २० जनाको मृत्यु भएको छ भने संक्रमण दर बढेर ४.३९ प्रतिशत पुगेको छ । कोभिड संक्रमितको संख्या करिब एक लाख पुगेको छ । संक्रमण उकालो लागेपछि भारतमा बढी संक्रामक मानिएका ‘बीए ४’ र ‘बीए ५’ भेरिएन्ट नेपाल भित्रिएको आशंका गरिएको छ । यसका लागि विशेष सावधानी अपनाइएको डा. दासले बताए । ‘तेस्रो लहरअन्तर्गत ओमिक्रोन र यसको ‘बीए.२’ भेरिएन्ट मात्र पाइएकामा भारतमा बढी संक्रामक मानिएका ‘बीए.४’, र ‘बीए.५’ भेरिएन्ट नेपालमा भित्रियो वा भित्रिएन भन्नेबारे निरन्तर परीक्षण गरेर सावधानी अपनाइरहेका छौं ।’

कुल जनसंख्याको झन्डै ७० प्रतिशतले कोभिडविरुद्धको पूर्ण खोप लगाइसकेकाले जटिल संक्रमण, संक्रमणको विस्तार धेरै तीव्र नभएको र मृत्युदर न्यून रहेको डा. दासको दाबी छ । संक्रमणबाट बच्न मास्कको प्रयोग, खोप, हातको सरसफाइलगायतका स्वास्थ्य मापदण्ड पालना गर्न उनले सुझाव दिए ।

प्रकाशित : असार १२, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?