२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

प्रविधिले मेटिँदै प्यास

हरि गौतम

रुकुम पश्चिम — चौरजहारी–१४ नाउलीकी रामसरी पुनसँग दुई घण्टा पैदल हिँडेर कालाखोलाबाट खानेपानी बोकेको वर्षौं लामो दुःखको अनुभव छ । पानी बोक्दाबोक्दै दिन जान्थ्यो । पानीका लागि पाएको दुःखमा नाउलावासी महिलाहरूको दैनिकी उनीभन्दा फरक थिएन ।

प्रविधिले मेटिँदै प्यास

त्रिवेणी–९ नालेचौरकी धनकली ओलीको दैनिक तीन घण्टा पानी बोक्दै जान्थ्यो । बागटारे मूलबाट पानी बोक्नु ओलीसँगै गाउँवासीको बाध्यता थियो । नालेचौरसहित खड्का टोल, डाँडागाउँ, नुवाकोटडाँडालगायतका टोलवासीको सास्ती पनि उति फरक थिएन ।

उज्यालो नहुँदै गाग्री बोकेर खोलातिर कुद्ने बाध्यताबाट अहिले गाउँले मुक्त छन् । जिल्लाभर बनेका दुई दर्जन खानेपानी अप–लिफ्टिङ परियोजनाका कारण सम्भव भएको हो । झन्डै डेढ करोड खर्चेर सोलार प्रविधिमा गरिएको कालाखोला–घोर्लेगोठ–नुवाकोटडाँडा खानेपानी आयोजनामार्फतको लिफ्टिङ योजनाले दुःख बिर्साइदियो ।

आयोजनाका सचिव टीकाराम ओलीले ३५ प्रतिशत थप श्रमदान उपभोक्ताले गरेको बताए । उनले भने, ‘स्थानीयले ८० दिनसम्म श्रमदान गरे ।’

जिल्लामा बिजुली पुगेका ठाउँमा विद्युत् र नपुगेको स्थानमा सौर्य ऊर्जामार्फत लिफ्टिङ योजना सञ्चालनमा छन् । गाउँभन्दा तलका मुहान खोला र नदीको पानीले स्थानीयका वर्षौं पुराना दुःखको अन्त्य भएको छ ।

बरानेटीका कर्णबहादुर खड्काले लिफ्टिङ योजनाले धेरै राहत भएको सुनाए । ‘अब घरमै पानी आयो, बेखुस हुनुपर्ने कुरै भएन,’ उनले भने, ‘हामीलाई खोज्दै पानी आएको जस्तो भएको छ ।’ खड्का र ओलीको जस्तै दुःखको कथा थियो त्यस क्षेत्रका १ सय १० घरधुरीको ।

त्रिवेणी, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकामा लिफ्टिङका धेरै योजना बनाइएको छ । स्थानीय, प्रदेश र संघ सरकार तथा रेडक्रसको आशा परियोजनाजस्ता निकायको लगानीमा यस्ता योजना निर्माण सम्पन्न भएका छन् ।

त्रिवेणी गाउँपालिकामा दोमिल्ला टोट्के, थारमारे राजकोट, कालाखोला भेरीपोखरा, सिम्तारे खोला, बल्लेजुरी, जुगेपानी, मूलपानी, कालाखोला, घोर्लेगोठ, नुवाकोटडाँडा र सानीभेरी गाउँपालिकामा विप्पेलेक र पोखरी लिफ्ट खानेपानी आयोजना निर्माण सम्पन्न भइसकेका छन् । मेलचौर, अध्याचौर बुकीचौर र किटकिटे–बुगेरी लिफ्ट खानेपानी निर्माण क्रममा छन् ।

चौरजहारी उपत्यकामा पानी आएको पनि लिफ्ट प्रविधिमार्फत नै हो । १ देखि ४ नम्बर वडाको झन्डै १ हजार ४ सय उपभोक्ताकामा पानी पुर्‍याउने उद्देश्यसहित चौरजहारी सुक्खा खानेपानी आयोजना सम्पन्न भएको छ । २१ करोड ६२ लाख लागतमा ठूलीभेरी नदीबाट पानी लिफ्ट गरेर वितरण गरिएको छ ।

यसअघि चौरजहारीवासीले नदीको पानी घोडामा बोकाएर ल्याउँथे । लिफ्टिङमार्फत आएको पानी मैखाराको ३ सय घनमिटर क्षमताको ट्यांकीमा ल्याएर वितरण भइरहेको छ । ‘भेरीमा बगिरहेको पानी तानेर पनि खान मिल्ने रहेछ भन्ने यो ठूलो प्रमाण हो,’ चौरजहारी–३ का कृष्ण बटालाले भने, ‘भेरीबाट तानिएको पानी माथि डाँडाबाट वितरण गरिएको छ ।’

यसबाहेक पनि चौरजहारीमा अरू लिफ्ट खानेपानी योजना छन् । दहखोला–झापे, लामीरह–सुर्कीमारे योजना तयार भएको छ । सिस्नेरी–पातिहाल्ना, तिजुखोला–प्रियाटाकुरी र गरेधुरा लिफ्ट खानेपानी योजना अन्तिम चरणमा छन् । जोगिनेटाखोला–डलसिङे, ठूलाखोला–टाकुरा आयोजना, तिमितले लिफ्ट आयोजना, लिउरेबारी खानेपानी आयोजना पनि निर्माण भएको छ ।

प्रकाशित : असार १२, २०७९ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?