कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

मल बोराकै २८ सय

भारतबाट अवैध रुपमा भित्र्याइएको मल चर्को मूल्यमा बिक्री
सरिता श्रेष्ठ

धादिङ — नीलकण्ठ–१२ की सुशीला कुमाल मल लिन दिन बिराएर सदरमुकाम धादिङबेसी झर्छिन् तर रित्तै घर फर्किन्छिन् । उनलाई मकै खेतीका लागि मल चाहिएको छ । ‘मल आउला र राखेर गोडमेल गरौंला भन्दाभन्दै सबथोक बितिसक्यो,’ उनले भनिन् ।

मल बोराकै २८ सय

नीलकण्ठ–३ की संगीता श्रेष्ठ पनि मल पाइने आसमा नीलकण्ठ सहकारी संस्था लिमिटेड धाएको धायै छिन् । तर मल हात पार्न सकेकी छैनन् ।

ज्वालामुखी गाउँपालिका–५ का हरि थापाले भने २ हजार १ सय रुपैयाँ तिरेर एक बोरा (५० किलो) मल किन्न पाए । स्थानीय व्यापारीले अवैध रूपमा भित्र्याएको मल उनले किनेका हुन् । ‘मल नहाले उत्पादनै घट्ने भयो । त्यही भएर महँगोमा भए पनि ल्याएँ,’ थापाले भने । उनका अनुसार व्यापारीले युरिया मसिनो २ हजार १ सय र अलि ठूलो २ हजार ६ सय प्रतिबोराका दरले बेचिरहेका छन् । नीलकण्ठ–९ का तुलबहादुर गुरुङले पनि मलका लागि १५ दिन लगातार बजार धाएपछि बल्ल महँगोमा मल पाए । ‘जेठभरि मकैमा हाल्न मल खोज्दैमा बित्यो, अब धानमा हाल्ने बेला पाइएको छैन,’ उनले भने ।

सरकारले सहुलियतमा मल ल्याउन नसकेपछि व्यवसायीले कालोबजारी गरेर फाट्टफुट्ट बेचिरहेका छन् । त्यसैले महँगोमा किन्न तयार किसानले पनि हतपती भेट्दैनन् । ‘मलमा चरम कालोबजारी छ । मललाई २८ सयसम्म तिरेको छु,’ नीलकण्ठ–३ का किसान राजकुमार श्रेष्ठले भने, ‘यति बेला हामीलाई पैसाभन्दा मलको महत्त्व छ, जति भन्यो त्यतिमा किन्न बाध्य छौं ।’

मल अभावको मौकामा व्यापारीले अत्यधिक नाफा राखेर बिक्री गरिरहेको किसानको गुनासो छ । व्यापारी भने किसानकै हितका लागि जोखिममा मल ल्याएको र थोरै मात्र फाइदा राखेर बिक्री गरेको दाबी गर्छन् । व्यापारीले वैध प्रक्रियाबाट युरिया मल जिल्लामा ल्याइपुर्‍याएका होइनन् । भारतबाट चोरीनिकासी हुँदै ल्याइएको हो । ‘बोरामा १ हजार ९ सय ४० रुपैयाँ आफ्नै पर्छ । हामीले प्रतिबोरा २ हजारसम्ममा बिक्री गर्ने गरेका छौं,’ एक व्यापारीले भने ।

नीलकण्ठ सहकारी संस्था लिमिटेडले युरिया मल भएका बेला प्रतिबोरा १ हजार ३० रुपैयाँका दरले बिक्री गर्ने गरेको थियो । ‘सहकारीमा मल आएका बेला किसानलाई १५ केजीका दरले बाँड्यौं,’ संस्थाका अध्यक्ष बलराम श्रेष्ठले भने, ‘अहिले स्टोरमा खाली छ ।’ उनका अनुसार किसानलाई सहज रूपमा वितरण गर्ने हो भने धादिङमा ३० हजार बोरा मल चाहिन्छ ।

प्रकाशित : असार १२, २०७९ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?