मन्त्री बडू १६३ र १६४ मा झुक्किएपछि...

काठमाडौँ — शनिबार दिउँसो उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले पेट्रोलियम पदार्थको मूल्य घटाइएकोबारे जानकारी दिन पत्रकार सम्मेलन गरे ।

मन्त्री बडू १६३ र १६४ मा झुक्किएपछि...

सुरुमा महँगी समस्यामा रहेका नागरिकलाई राहत दिनका लागि सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको कर घटाउने निर्णय गरेको उनले बताए ।

मन्त्री बडूले सुरुमा पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ घटाइएको जानकारी दिए । तर कर कटौतीपछि हुने नयाँ मूल्यमा भने मन्त्री बडू झुक्किए । मन्त्री बडूले मूल्य घटाइएको जानकारी दिँदै भने, ' अहिले पेट्रोल १९९ छ, त्यसलाई घटाएर १७९ गर्ने, त्यसमा २० रुपैयाँ ट्याक्स घटाइएको छ । र डिजेलमा अहिले १९२ छ त्यसलाई हामीले १६३ बनाएका छौँ जसमा हामीले २८ रुपैयाँ ट्याक्स घटाएका छौँ ।'

सुरुमा मन्त्री बडूले डिजेलमा २८ रुपैयाँ घटाइएपछि नयाँ मूल्य १६३ हुन आउने बताएका थिए । तर अहिलेको मूल्य १९२ रुपैयाँमा २८ घटाउँदा १६४ हुन आउँछ । बारम्बार मन्त्री बडूले २८ रुपैयाँ घटाएपछि १६३ भएको बताइरहेपछि नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले २८ घटाउँदा १६४ हुन्छ भनेका थिए । त्यसपछि मन्त्री बडूले डिजेलको नयाँ मूल्य १६३ नै भएको र त्यसका लागि जति घटाउनुपर्ने हो घटाउन निर्देशक थानीलाई निर्देशन दिए । मन्त्री बडूले भने, '१६३ नै हो । कति घटाउँदा हुन्छ त्यति घटाउनुस् ।'

सरकारको निर्णयसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७९ र डिजेलको मूल्य प्रतिलिटर १६३ भएको छ । मन्त्री बडू झुक्किए पनि इन्धनमा चर्को मूल्यवृद्धिले सास्ती खेपिरहेका नागरिकले भने केही राहत महसुस गर्ने भएका छन् ।

प्रकाशित : असार ११, २०७९ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?