काठमाडौं महानगरपालिकाले ल्यायो २५ अर्ब ४१ करोडको बजेट [पूर्ण पाठसहित]- समाचार - कान्तिपुर समाचार

काठमाडौं महानगरपालिकाले ल्यायो २५ अर्ब ४१ करोडको बजेट [पूर्ण पाठसहित]

कर्मचारीको तलबभत्ता र प्रशासनिक खर्चका लागि करिब २१ प्रतिशत बजेट विनियोजन
कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब ४१ करोडको बजेट ९६ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले शुक्रबार नगरसभाको ११ औं अधिवेशनमा आगामी आर्थिक वर्षको आय–व्यय अनुमान पेस गरेकी हुन् । 

महानगरपालिकाले आगामी आर्थिक वर्षमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि ४ अर्ब ६८ करोड ९८ लाख ६० हजार रुपैयाँ बराबर छुट्याएको छ । जुन कुल विनियोजित बजेटको २०.९६ प्रतिशत बराबर हुन जान्छ । त्यस्तै, पूर्वाधार विकास क्षेत्रका लागि ११ अर्ब ८ करोड ८९ लाख ३ हजार रुपैयाँ बराबर रहेको छ । यो रकम कुल बजेटको ४९.५७ प्रतिशत बराबर हो ।

सामाजिक विकास क्षेत्रका लागि १ अर्ब ६२ करोड २८ लाख २२ हजार रुपैयाँ अर्थात ७.२५ प्रतिशत बराबर बजेट छुट्याइएको छ । त्यस्तै, सुशासन क्षेत्रका लागि ४ अर्ब ४६ करोड ५८ लाख ४० हजार रुपैयाँ बराबर बजेट छुट्याइएको छ । जुन कुल बजेटको १९.९६ प्रतिशत बराबर हुन आउँछ ।

स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्रअन्तर्गतका कार्यक्रमका लागि महानगरले ५० करोड २१ लाख २४ हजार रुपैयाँ बराबरको बजेट छुट्याएको छ । जुन कुल बजेटको २.२४ प्रतिशत बराबर हो ।

आगामी आर्थिक वर्ष महानगरले २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार रुपैयाँ बराबर आम्दानी हुने अनुमान गरिएको छ । काठमाडौं महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार र सामाजिक सुरक्षा भत्ता लगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाबाट हुने आम्दानी स्थानीय सञ्चित कोषबाहेकको बजेटमा समावेश हुने कुल ३ अर्ब ५ करोड १ लाख ४७ हजार रुपैयाँ बराबर रहेको छ । संघीय र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानबाट १ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ बराबरको स्रोत सुनिश्चितता भएको बजेटमा उल्लेख छ ।

बजेट वक्तव्यको पूर्ण पाठ

प्रकाशित : असार १०, २०७९ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्

जयपृथ्वी नगरपालिकाको बजेट ५५ करोड २९ लाख 

वसन्तप्रताप सिंह

बझाङ — आगामी आर्थिक वर्षका लागि जयपृथ्वी नगरपालिकाले ५५ करोड २९ लाख ८१ हजार बजेट प्रस्तुत गरेको छ । शुक्रबार नगरसभामा उपप्रमुख रतनबहादुर सिंहले उक्त बजेट प्रस्तुत गरेका हुन् ।  

'समृद्ध जयपृथ्वी नगरपालिका निर्माणको मूल आधार, दिगो कृषि, पर्यटन, व्यापार र उत्थानशील पूर्वाधार' भन्ने नारा दिएर स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार निर्माण, वन वातावरण, विपद् व्यवस्थापन र सुशासनका क्षेत्रमा उक्त रकम खर्च गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रत्येक वडामा नर्सरी स्थापना, कृषि पूर्वाधार विकास र यान्त्रिकीकरण, उपजको भण्डारण र बजारीकरण गर्ने तथा रैथाने बीउबिजन र वालीजन्य जैविक विविधता संरक्षणमा स्थानीयलाई प्रोत्साहन गरिने र युवाको विदेश पलायन रोक्नका लागि काम गरिने नगरपालिकाले जनाएको छ । वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई स्थानीय स्रोतमा आधारित उद्योग खोलेर आत्मनिर्भर बनाउने, पर्यटनका सम्भावना अध्ययन र प्रवर्द्धन गरिने, सहकारीमार्फत गरिबी न्यूनीकरणका अभियान चलाइने नगरसभामा प्रस्तुत बजेट तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै स्थास्थ्य सेवाअन्तर्गत विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने, दीर्घरोगीलाई उपचारमा सहयोग गर्ने कार्यक्रम बनाएको नगरपालिकाले ६० वर्ष उमेर पुगेका स्वयंसेविकालाई सम्मानसहित बिदा गर्ने नीति तय गरेको छ । शिक्षामा एक विद्यालय एक फूलबारी, नगरस्तरीय शैक्षिक क्यालेन्डर निर्माण गर्ने शिक्षकलाई तालिम दिने र डाक्टर पढन चाहने असाहाय विद्यार्थीलाई छात्रवृत्ति दिने जस्ता कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।

एक घर एक धारा, सार्वजनिक शौचालयको निर्माण, पानीको गुणस्तर परीक्षण, ढल निकास र फोहोर बाट कम्पोस्ट मल बनाउने काम गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरपालिकाले खेलकुद, सामाजिक सुरक्षा, पूर्वाधार विकास वन वातावरण र विपद् व्यवस्थापनका क्षेत्रमा पनि उल्लख्य बजेट विनियोजन गरेको नगरपालिकाले करार सेवामा कार्यरत कर्मचारीको कल्याणकोष स्थापना गर्ने, सेवाको गुणस्तर थाहा पाउन तेस्रो पक्षबाट नागरिकको सन्तुष्टि स्तर मापन गर्ने जस्ता कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित : असार १०, २०७९ १७:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×