काठमाडौंको बजेट गत वर्षभन्दा ६ अर्बले बढ्यो- समाचार - कान्तिपुर समाचार

काठमाडौंको बजेट गत वर्षभन्दा ६ अर्बले बढ्यो

पूर्वाधार विकास प्राथमिकतामा
कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै २५ अर्ब ४१ करोडको बजेट सार्वजनिक गरेको छ ।
शुक्रबारको नगरसभामा उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गरिन् ।

यो चालु आर्थिक वर्षको बजेटभन्दा ६ अर्ब ४६ करोड रुपैयाँले बढी हो । चालु आर्थिक वर्षमा महानगरले १८ अर्ब ९५ करोडको बजेट विनियोजन भएको थियो । महानगरले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएको हो ।

उपमेयर डंगोलले महानगरपालिकाले कुल बजेटको ४९.५७ प्रतिशत बजेट पूर्वाधार विकास क्षेत्रमा विनियोजन गरेको बताइन् । उनले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड ८९ लाख ३ हजार बजेट विनियोजन गरेकी छन् ।

त्यस्तै, कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड ९८ लाख ६० हजार, सामाजिक विकासका लागि १ अर्ब ६२ करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ४ अर्ब ४६ करोड विनियोजन गरेको जानकारी दिइन् । उनका अनुसार महानगरले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा ८ अर्ब ८० करोड आम्दानी गरेको छ ।

प्रकाशित : असार १०, २०७९ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्

फेरि प्रधानमन्त्री बन्ने दाहालको चाहना

‘एक पटक नेतृत्व गरेर देशलाई नयाँ युगतिर लैजाने सपना छ’
कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन् ।  पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आशीर्वाद दिएको प्रसंग उल्लेख गर्दै फेरि एक पटक प्रधानमन्त्री भएर  देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका हुन् । 

नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मर प्रहार गर्दै अघि बढ्ने बताएका हुन् । अध्यक्ष दाहालले पहिलो पटक प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो कार्यकाल भने गर्व गर्न लायक रहेको दाबी समेत गरे ।

‘पहिलो चोटि प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलीमिलीमै गयो । यो सपना हो कि विपना हो भनेर विचार गर्दैगर्दै नौ महिना बिती गयो । एउटा नयाँ परिस्थिति बन्यो । दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले साँच्चै नै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ । मलाई त्यसमा गर्व छ,’ उनले भने ।

राष्ट्रिय एकता नै खण्डित हुने अवस्थामा मधेसलाई विश्वासमा लिएर चुनाव सम्पन्न गराएको पनि दाहालले बताए । ‘आर्थिक वृद्धिदरलाई २५ वर्षपछि साढे ७ प्रतिशत बनाउने कुरा पनि सानो कुरा थिएन,’ दाहालले भने ।

वामपन्थीहरूको बीचमा एकता गरेर स्थायित्वसहित विकास र सामाजिक न्यायमा आमूल परिवर्तन गर्न खोजे पनि त्यो सफल नभएको उनको भनाइ थियो । फेरि एक पटक देशको नेतृत्व गरेर नयाँ युगमा मुलुकलाई लैजाने आफ्नो सपना रहेको उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘तपाईंहरुको आशीर्वाद हो भने अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाउने हो भने सम्पूर्ण रुपमा देशमा देखा परेका यी तमाम विकृतिहरुमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना त मेरो मनभित्र छ । किनकि मेरै नेतृत्वमा हजारौं नेपालीहरुको बलिदान भएको छ । यो परिवर्तन ल्याउनका निम्ति । यहाँ त्यो कुरा पनि आयो । म नेपाल पर्वतारोहण संघलाई धन्यवाद भन्न चाहन्छु ।’

अध्यक्ष दाहालले मुलुकमा देखिएको आर्थिक संकटलाई टार्नका लागि पर्यटक क्षेत्र एकमात्रै भरपर्दो माध्यम भएको बताए । उनले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित : असार १०, २०७९ १६:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×