आमाको नाममा नागरिकता दिन कन्जुस्याइँ गर्नु हुँदैन : सांसद मगर

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आले मगरले आमाको नाममा नागरिकता दिन कन्जुस्याइँ गर्नु नहुने बताएका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद मगरले कुनै पनि नागरिकलाई राज्यविहीन र नागरिकताविहीन बनाउन नमिल्ने भन्दै आमाको नाममा नागरिकता दिन कन्जुस्याइँ गर्नु नहुने बताएका हुन् । 

आमाको नाममा नागरिकता दिन कन्जुस्याइँ गर्नु हुँदैन : सांसद मगर

पुरुषवादी र पितृसत्तावादी समाज रहेको उल्लेख गर्दै पुरुषवादी चिन्तनविरुद्ध लड्नुपर्ने आवश्यकता रहेको पनि उनले बताए । चालु संसद् अधिवेशनमा नै नागरिकता विधेयक ल्याएर नागरिकताको समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए ।

‘नागरिकताको समस्या समाधान गरियोस् । विधेयकलाई सदनमा यसैपटक ल्याएर यसलाई पास गरियोस् र सहमतिका आधारमा अगाडि बढाइयोस् । किनभने नागरिकता भन्नेकुरा धेरै संवेदनशील र गम्भीर कुरा हुन्छ । कुनै पनि नागरिक राज्यविहीन, नागरिकताविहीन रहन सक्दैन । धेरै समस्या उसले झेल्नुपर्ने हुन्छ । यो नागरिकता विधेयक ल्याइयोस् । आमाको नाममा नागरिकता दिने कुरा म पनि जोडदार रुपमा समर्थन गर्न चाहन्छु । यो समाज पुरुषप्रधान समाज हो । पुरुषवादी, पितृसत्तावादी समाज हो । बुबाको नाममा नागरिकता दिन कुनै कन्जुस्याइँ हुँदैन तर आमाको नाममा नागरिकता दिन कन्जुस्याइँ हुने गरेको छ । त्यसकारणले यो पुरुषवादी चिन्तनविरुद्ध तपाईंहरु लड्नुस् म पनि तपाईंहरुको साथमा छु,' उनले भने ।

त्यस्तै महँगीले जनताको ढाड सेकेको भन्दै जनताले कुनै राहत नपाएकोतर्फ पनि मगरले सरकारको ध्यानाकर्षण गराए । सांसद मगरले मनाङ जिल्लालाई गत वर्षको बाढीले तहसनहस बनाएकोमा हालसम्म पनि त्यहाँको स्थिति भयावह रहेकाले आवागमन सहज बनाउन सरकारसँग उनले माग गरे । त्यस्तै तनहुँ जिल्लाको आँबुखैरेनी

गाउँपालिका वडा नम्बर २ र वडा नम्बर ४ मा बाढी पहिरोले क्षति पुर्‍याएको र जनजीवन प्रभावित भएकोतर्फ पनि उनले जानकारी गराए । तनहुँको भानु नगरपालिका वडा नं. ६ स्थित चुँदिबरा कुलोको बाँध, कुलो र खेतसहित बगाएकोले सरकारलाई आवश्यक कदम चाल्न पनि उनले आग्रह गरे ।

प्रकाशित : असार १०, २०७९ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?