कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रमुख प्रशासकीय अधिकृतसहित तीनविरुद्ध सवा ५ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ — नदीजन्य वस्तु उत्खननमा अनियमितता गर्ने बाराको जितपुर सिमरा उप महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवा ५ करोड रुपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृतसहित तीनविरुद्ध सवा ५ करोडको भ्रष्टाचार मुद्दा

उपमहानगरपालिका अन्तर्गत पर्ने पसाहा र र बालगंगा खोलाबाट नदीजन्य वस्तु उत्खनन, संकलन तथा बिक्रीवापतको रकम हिनामिना गरेको आरोपमा अख्तियारले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई तथा ठेकेदारहरू ओमशंकर प्रसाद र मिराकुमारी श्रेष्ठविरुद्ध अख्तियारले ५ करोड २६ लाख ६ सय ८७ रुपैयाँ बिगो, बिगो बमोजिम जरिवाना र कैद सजाय मागदावीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बाराका दुईवटा खोलाबाट नदीजन्य वस्तु उत्खनन गर्दा कायम गरिएको रकम र त्यसवापतको मूल्यअभिवृद्धि कर हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध बिगो, जरिवाना र कैद सजाय मागदाबी लिएर मुद्दा दायर गरिएको बताए ।

आर्थिक वर्ष २०७८/७७ मा प्रमुख प्रशासकीय अधिकृत सेढाईले उपमहानगरपालिकाभित्र पर्ने पसाहा खोलाको नदीजन्य सामग्री उत्खनन जिम्मा ओमशंकर प्रसादको ओम सप्लायर्स दिएका थिए ।

तर, सप्लायर्सले सम्झौता अनुसार काम नगरी उत्खनन, संकलन र बिक्री गरेर राजश्व हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । उत्खनन सम्झौता गर्दा दुई किस्ताको हुन आउने रकम ठेकेदार कम्पनीबाट कार्यसम्पादन जमानत लिनुपर्नेमा सेढाईकै मिलेमतोमा नलिई हालसम्म पनि ९९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ राजश्वमा दाखिला नभएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

सोही रकमलाई बिगो मानेर अख्तियारले सेढाईविरुद्ध बिगो, कैद र जरीवाना मागदाबीसहित मुद्दा दायर गरेको छ ।

सोही प्रकरणमा ओम सप्लायर्सका सञ्चालक ओमशंकरविरुद्ध राजश्व दाखिला गर्न बाँकी ९९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ र त्यसवापतको मूल्य अभिवृद्धि करमा हुन आउने ३८ लाख ९९ हजार ९ सय ९८ रुपैयाँ गरी १ करोड ३८ लाख ९९ हजार ९ सय ९८ रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम जरीवाना र कैद सजायको माग लिइएको छ ।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत सेढाईकै मिलेमतोमा उपमहानगरपालिका अन्तर्गत बालगंगा खोला उत्खननमा पनि अनियमितता भएको पाइएको छ ।

सेढाईको मिलेमतोमा उपमहानगरपालिले बालगंगा खोलाको गिटी/बालुवा/ढुंगा उत्खननको जिम्मा न्यू पाथिभरा सप्लायर्स, हेटौंडालाई दिइएको थियो ।

तर, सम्झौता गर्दाको शर्त र बन्जेद विपरीत उत्खनन तथा बिक्री गर्न दिएर राजश्व हिनामिना गरेको आरोपमा सेढाईविरुद्ध अख्तियारले १ करोड २० लाख २८ हजार ९० रुपैयाँ बिगो, सोही अनुसार जरीवाना र कैद सजाय‍ मागदाबी लिएर विशेष मुद्दा दायर गरेको छ । बिगो कायम गरिएको राजश्व दाखिला नगरी सेढाई र ठेकेदारको मिलेमतोमा हिनामिना गरिएको अख्तियारले जनाएको छ । राजश्व दाखिला नगरी हिनामिनामा संलग्न न्यू पाथिभरा सप्लायर्सका सञ्चालक मिराकुमारी श्रेष्ठविरुद्ध पनि अख्तियारले राजश्ववापतका १ करोड २० लाख २८ हजार ९० र मूल्य अभिवृद्धिकरवापतको ४६ लाख ४४ हजार ५ सय १० गरी कूल १ करोड ६६ लाख ७२ हजार ६ सय रुपैयाँ बिगो, सोही अनुसार जरीवाना र कैद सजायको मागसहित विशेषमा मुद्दा दायर भएको हो ।

प्रकाशित : असार १०, २०७९ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?