सुरु भयो ‘कान्तिपुर हिसान एडुफेयर’- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरु भयो ‘कान्तिपुर हिसान एडुफेयर’

कान्तिपुर संवाददाता

काठमाडौँ — शैक्षिक क्षेत्रका विविध विषय केन्द्रित ‘कान्तिपुर हिसान एडुफेयर’ शुक्रबारदेखि काठमाडौंस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मेलाको उद्घाटन गरेका हुन् ।

एसईईपछि कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गरिएको हिसानले जनाएको छ । आयोजकका अनुसार विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई शिक्षण संस्था, विषय, पठनपाठन पद्धति छनोट, भर्ना मापदण्डलगायतका विषयमा जानकारी दिइनेछ ।

यो बृहत् शैक्षिक मेलामा ७५ भन्दा बढी शिक्षण संस्थाका स्टल रहेका छन्  । विद्यार्थी अभिभावकले ती स्टलबाट शिक्षण संस्थाबारे जानकारी लिन सक्ने संयोजक युवराज शर्माले जानकारी दिए । ‘नेपालमै सञ्चालित शिक्षालयहरूले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्यतथ्य र यथार्थ जानकारी गराउन मेला आयोजना गरिएको हो,’ शर्माले भने, ‘विद्यार्थी र अभिभावकले निःशुल्क रूपमा मेलामा प्रवेश गरी शिक्षण संस्था, विषय, पठनपाठन विधिलगायत विविध विषयमा जानकारी लिन सक्नेछन् ।’ मेलाले विद्यार्थीलाई कहाँ पढ्ने, के पढ्नेलगायत विषयमा निर्णय गर्न मद्दत गर्ने उनको भनाइ छ ।

एडुफेयरको यो सातौं संस्करणमा दुई लाखभन्दा बढीले सहभागिता जनाउने आयोजकको अनुमान छ । मेलामा विद्यालय तहदेखि विभिन्न विश्वविद्यालयका सम्बन्धन र प्राविधिक तथा व्यावसायिक शिक्षा दिने शिक्षण संस्थाका बारेमा जानकारी प्राप्त गर्न सकिनेछ । एक हजारभन्दा बढी विद्यार्थीलाई पूर्ण तथा आंशिक छात्रवृत्तिको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

मेलामा कला प्रतिस्पर्धा, कविता वाचन, निबन्ध लेखन, प्रविधि प्रदर्शनलगायत हरेक दिन विभिन्न कार्यक्रम पनि हुनेछन् । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने मूल नाराका साथ आयोजित मेला असार १३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित : असार १०, २०७९ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्

जीटीए चुनावका कारण नेपाल-भारत नाका सिल 

पर्वत पोर्तेल

काँकडभिट्टा — दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जीटीए) चुनावलाई लक्षित गरी शुक्रबार बिहानैदेखि नेपाल-भारत सीमा नाका सिल गरिएको छ । 

चुनावलाई लक्षित गरी नेपाल–भारत सीमा नाका सिल गरिपछि शुक्रबार सुनसान देखिएको मेची पुल । तस्बिर : पर्वत पोर्तेल

आइतबार हुने चुनावमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न भारतले गरेको पत्राचारपछि पश्चिम बंगालसँग सीमा जोडिएका झापाको काँकडभिट्टा, भद्रपुर तथा इलामको पशुपति नगर नाका ७२ घण्टाका लागि सिल गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोले जनाए । उनका अनुसार भारतीय पक्षको पत्राचारपछि नाका सिल गरिएको हो ।

‘शुक्रबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म नाका सिल हुनेछ,’ डीएसपी महतोले भने । उनका अनुसार अत्यावश्यकबाहेकका काममा नाका वारपारमा पूर्ण निषेध गरिएको छ । नाका ठप्प हुँदा वर्षामा सर्वसाधारणले सास्ती बेहोर्नु परेको गुनासो गरेका छन् ।

विशेषगरी बिरामी, असहाय र असक्तहरूलाई नाका वारपारमा समस्या भएको छ ।

दार्जिलिङसहित मिरिक, खरसाङ र सिलिगुडी क्षेत्रमा जीटीए चुनाव हुँदै छ । जीटीएको संवैधानिक अस्तित्वमाथि प्रश्न गर्दै चुनाव खारेजीको विरोधमा केही समयअघि कोलकातास्थित उच्च न्यायालयमा रिट परेको थियो । न्यायालयले शुक्रबार चुनावको पक्षमा फैसला गरेपछि चुनाव हुने निश्चित भएको हो ।

प्रकाशित : असार १०, २०७९ १२:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×