हजयात्रीलाई गृहमन्त्री खाँणद्वारा बिदाइ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हजयात्रीलाई गृहमन्त्री खाँणद्वारा बिदाइ

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाँणले शुक्रबार बिहान ११३ हजयात्रीलाई बिदाइ गरेका हुन् ।


यो वर्ष हजका लागि नेपाललाई छुट्ट्याइएको ५५५ जनाकाे काेटामध्ये शुक्रबार बिहान अन्तिम टाेली हज गर्नका लागि त्यसतर्फ गएकाे हाे । हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाँणले सरकारले सबै धर्मलाई सम्मान गर्ने बताएका छन् ।

उनले हज गर्न जाने परम्पराले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि विस्तार हुने बताए । हजयात्रीलाई बिदाइ गर्न नेपाली काङ्ग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँसहितकाे उपस्थिति थियाे ।

असार ६ गतेदेखि एयर अरेबियाकाे हवाइजहाजबाट दैनिक एक टाेली हज गर्न गइरहेकाे थियाे । साउदीको जेब्दास्थित महावाणिज्यदूतावासबाट १० जनाकाे स्वयंसेवककाे टाेली हजयात्रीकाे व्यवस्थापनका लागि खटिएको छ । टाेलीमा ८ जना डेलिकेट्स र ३ जना मेडिकल सपाेर्ट टिम सहभागी छ । हज यात्रा गरेर प्रत्येक टाेली ३४ दिनपछि नेपाल फर्कने छ ।

मुस्लिम समुदायको पवित्र तीर्थस्थानको रूपमा रहेको मक्कामदिनामा विश्वभरका लाखौँ मुस्लिम समुदाय हज गर्नका लागि जाने गर्दछन् ।

प्रकाशित : असार १०, २०७९ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्

बिहारमा सेन वंशको श्वेत धरोहर

रमेशकुमार पौडेल

रामनगर, भारत — सेतो रङको अग्लो र भव्य मन्दिर । नेपालको सीमाभन्दा पर भारत बिहार राज्यको पश्चिम चम्पारण रामनगरमा रहेको यो मन्दिर १७९ फिट अग्लो छ । मन्दिर नेपालमा बन्ने प्यागोडा शैलीभन्दा फरक खालको छ । तर पशुपतिनाथ मन्दिरको जस्तो शिवको आकृति यसको अग्रभागमा पनि देखिन्छ । पाँचवटा शिखर रहेको यो ‘नर्मदेश्वर महादेव मन्दिर’ हो । यो मन्दिरको साइनो तनहुँका सेन वंशसँग जोडिएको छ ।

राजा प्रह्लाद सेनले बनाएका हुन् यो मन्दिर । पाल्पाली सेन वंशका नै खलक हुन् प्रह्लाद सेन । मन्दिरको जगको काम सन् १८७९ मा राजा प्रह्लाद सेनले सुरु गरे । ‘मन्दिर नबन्दै उहाँको स्वर्गवास भयो । त्यसपछि उहाँको रानी विन्ध्वासिनीले ६ वर्ष लगाएर यो मन्दिर पूरा गर्नुभएको हो,’ रामनगरका बासिन्दा रञ्जन उपाध्यायले भने । ०७२ सालमा नेपालमा गएको भूकम्पका बेला मन्दिरको गजुरमा नोक्सानी पुगेपछि जीर्णोद्धार गरिएको थियो । भारतीय मुद्रा १ लाख २५ हजार रुपैयाँ खर्च गरेर मन्दिर निर्माण भएको हो ।

रामनगरका राजा मोहनविक्रम शाहका छोरा नारायणविक्रम विहारका विधायक पनि भएका थिए । मन्दिर तयार भएको झन्डै सय वर्षपछि पहिलोपटक जिर्णोद्वार भएको छ । नारायणविक्रम शाहले सन् १९७२ मा भारतीय ८० हजार रुपैयाँ खर्च गरेर पहिलोपटक जीर्णोद्धार गरेको उपाध्यायले बताए । ‘दोस्रो जीर्णोद्धार प्रेमा शाहको अध्यक्षतामा सन् २००२ मा भएको छ । तेस्रो पटकको जीर्णोद्धारमा हामी पनि सामेल भइयो,’ रञ्जनले भने । नर्मदेश्वर नदीबाट शिवलिंग ल्याएर मन्दिरमा राखेको उनले बताए । अमितकुमार उपाध्याय कोइराला मन्दिरका पुजारी हुन् ।

आमाको निधन भएका कारण दुःखमा रहेको हुँदा हाललाई अर्कै पुजारी छन् । ‘शिवरात्रि, साउनको सोमबार धेरै नै भीडभाड हुन्छ । यहाँ उत्तरप्रदेश, मध्यप्रदेशका धेरै नै आउँछन् । नेपालका पनि आउँछन् । वीरगन्ज हेटौंडाबाट आउँछन्,’ अमितकुमारले भने । सेन वंशको राज्य रहेको पाल्पा, तनहुँबाट भने खासै नआउने गरेको उनले बताए । इतिहासकार सूर्यमणि अधिकारीले लेखेको ‘तनहुँ राज्यको इतिहास’ मा उल्लेख भएअनुसार विशाल पाल्पा राज्य टुक्रिएपछि मुकुन्द सेन प्रथमका छोरामध्ये जेठा पाल्पाका, माहिला बुटवलका, साहिँला भृङ्गी सेन तनहुँका र कान्छा मकवानपुरका राजा भए । तनहुँका राजा भृङ्गी सेन र उनीहरूका सन्तानले विसं. १६१० देखि १८३४ सम्म शासन गरेको इतिहास छ । तनहुँ राज्यको सिमाना फैलँदै रामनगरसम्म पुग्यो ।

नेपाल एकीकरणका बेला तनहुँ र चितवन विसं १८३९ मा शाह राजाहरूको नियन्त्रणमा आयो । कुनै बेला तनहुँ राज्यको अंग रहेको रामनगर भारत स्वतन्त्र भएपछि पूर्ण रूपमा बिहार राज्यमा गाभियो । नर्मदेश्वर महामन्दिर बनाउन सुरु गर्ने प्रह्लाद सेनको मृत्युअघि नै उनका तीन भाइ छोराहरूको निधन भइसकेको थियो ।

प्रह्लाद सेनको छोरीको बिहे नेपालका शाह राजाका खलकसँग भएको थियो । प्रह्लाद सेनको मृृत्युपछि मन्दिरको निर्माण सम्पन्न गरेकी विन्ध्यवासिनीले नै राज्य चलाइन् । विन्ध्यवासिनीकी एक मात्र छोरी बोधकुमारीको बिहे नेपालका राजा राजेन्द्रकी कान्छी रानी लक्ष्मीदेवीका कान्छा छोरा वीरेन्द्रविक्रम शाहसँग भयो । विन्ध्यवासिनीको मृत्युपछि बोधकुमारी र वीरेन्द्रका छोरा मोहनविक्रमले रामनगर राज्यको अपुताली पाएको इतिहासकार सूर्यमणि अधिकारीले आफ्नो किताबमा लेखेका छन् ।

सेन वंशले दरबारको राजकाज चलाउन तनहुँबाट नै खनाल, पौडेलहरूलाई लगेका थिए । उनीहरू कोही काजी भए, कोही फौजदार भए । नेपाली भाषा बोल्नेहरूकै माझमा खडा भएको भव्य मन्दिर सेन वंशको सान र प्रतीकका रूपमा रहेको छ । ‘अहिले राजाखलक र यहाँ बस्ने हामी नेपालीभाषीसहित अन्य समुदाय पनि मिलेर यसको रेखदेख संरक्षण गर्दै आएका छौं,’ रञ्जनले भने ।

प्रकाशित : असार १०, २०७९ ०८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×