२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

‘कान्तिपुर हिसान एडुफेयर’ आजदेखि

काठमाडौँ — शैक्षिक क्षेत्रका विविध विषयक केन्द्रित ‘कान्तिपुर हिसान एडुफेयर’ शुक्रबारदेखि काठमाडौंस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा सुरु हुँदै छ । एसर्ईईपछि कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गरिएको हिसानले जनाएको छ । आयोजकका अनुसार विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई शिक्षण संस्था, विषय, पठनपाठन पद्धति छनोट, भर्ना मापदण्डलगायतका विषयमा जानकारी दिइनेछ ।

‘कान्तिपुर हिसान एडुफेयर’ आजदेखि

यो बृहत् शैक्षिक मेलामा ७५ भन्दा बढी शिक्षण संस्थाका स्टल रहनेछन् । विद्यार्थी अभिभावकले ती स्टलबाट शिक्षण संस्थाबारे जानकारी लिन सक्ने संयोजक युवराज शर्माले जानकारी दिए । ‘नेपालमै सञ्चालित शिक्षालयहरूले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्यतथ्य र यथार्थ जानकारी गराउन मेला आयोजना गरिएको हो,’ शर्माले भने, ‘विद्यार्थी र अभिभावकले निःशुल्क रूपमा मेलामा प्रवेश गरी शिक्षण संस्था, विषय, पठनपाठन विधिलगायत विविध विषयमा जानकारी लिन सक्नेछन् ।’ मेलाले विद्यार्थीलाई कहाँ पढ्ने, के पढ्नेलगायत विषयमा निर्णय गर्न मद्दत गर्ने उनको भनाइ छ ।

‘कलेज–कलेज चहार्नु पर्दैन, एकै ठाउँमा धेरै शिक्षण संस्थाबारे जानकारी पाइन्छ,’ उनले भने, ‘विद्यार्थी, अभिभावकको समयको बचत पनि हुन्छ ।’ एडुफेयरको यो सातौं संस्करणमा दुई लाखभन्दा बढीले सहभागिता जनाउने आयोजकको अनुमान छ । मेलामा विद्यालय तहदेखि विभिन्न विश्वविद्यालयका सम्बन्धन र प्राविधिक तथा व्यावसायिक शिक्षा दिने शिक्षण संस्थाका बारेमा जानकारी प्राप्त गर्न सकिनेछ । एक हजारभन्दा बढी विद्यार्थीलाई पूर्ण तथा आंशिक छात्रवृत्तिको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मेलाको उद्घाटन गर्नेछन् । मेलामा कला प्रतिस्पर्धा, कविता वाचन, निबन्ध लेखन, प्रविधि प्रदर्शनलगायत हरेक दिन विभिन्न कार्यक्रम पनि हुनेछन् । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने मूल नाराका साथ आयोजित मेला असार १३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित : असार १०, २०७९ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?