एसपीपीमा किन बोल्यो चीन ?- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसपीपीमा किन बोल्यो चीन ?

जगदीश्वर पाण्डे

काठमाडौँ — अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाली सेनाको संलग्नता अस्वीकार गर्ने नेपाल सरकारको निर्णयलाई उत्तरी छिमेकी चीनले प्रशंसा गरेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता संसद्‌बाट अनुमोदन गर्ने तयारी चलिरहेका बेला टीकाटिप्पणी गरेको चीनले नेपाल र अमेरिकाबीचको मामिलामा फेरि खुलेरै प्रतिक्रिया दिएको हो ।

चीनको सरकारी मिडिया सिन्ह्वाका अनुसार बिहीबार आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले एसपीपीमा अगाडि नबढ्ने नेपालको निर्णयलाई प्रशंसा गरेका हुन् । पत्रकारले उनलाई नेपालबाट एसपीपी अस्वीकार भएको विषयमा प्रश्न गरेका थिए । जवाफ दिने क्रममा वाङले विभिन्न राजनीतिक दल र गुट, सरकार, सेना र नेपाली जनताले एसपीपीलाई इन्डो–प्यासिफिक रणनीतिसँग जोडिएको सैन्य र सुरक्षा कार्यक्रमका रूपमा हेरेकाले नेपालमा व्यापक रूपमा विवादित भएको उल्लेख गरेका थिए । नेपालीले राष्ट्रिय हित र असंलग्न एवं सन्तुलित परराष्ट्र नीतिका आधारमा एसपीपीमा आबद्धता अस्वीकार गरेको उनको भनाइ थियो । ‘नेपालको मित्रवत् र नजिकको छिमेकी तथा रणनीतिक सहयोगी साझेदार भएकाले चीन नेपाल सरकारको निर्णयको प्रशंसा गर्छ,’ वाङले भने ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डता र नेपालको स्वतन्त्र र गैरअखण्डताप्रतिको प्रतिबद्धतालाई चीनले निरन्तर समर्थन गर्ने पनि बताए । चीन नेपालसँग मिलेर क्षेत्रीय सुरक्षा, स्थायित्व र साझा समृद्धिको रक्षा गर्न चीन तयार रहेको पनि उनको भनाइ थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला २०७२ कात्तिक १० मा नेपाली सेनाले पहिलो पटक एसपीपीमा सहभागिताका लागि अमेरिकालाई अनुरोध गरेको थियो । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले सरकारको स्वीकृतिमा अमेरिकी राजदूतलाई पत्राचार गरेका थिए । त्यसपछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल र शेरबहादुर देउवाको कार्यकालमा पनि क्षत्रीले एसपीपीमा नेपाली सेनालाई आबद्ध गराउन पत्र लेखेका थिए । अमेरिकाले सन् २०१९ मा नेपालको अनुरोधलाई स्वीकार गरेको थियो । अमेरिकाले त्यही वर्ष सार्वजनिक गरेको इन्डो–प्यासिफिक रणनीतिको प्रतिवेदनमा एसपीपी उल्लेख थियो । मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई पत्र लेखेर एसपीपीमा आबद्ध नहुने जानकारी दिने निर्णय गरिसकेको छ । सरकारले गत फागुनमा ऊर्जा र सडक पूर्वाधार विकासका लागि ५०० मिलियन अमेरिकी डलरको एमसीसी परियोजना स्वीकार गरेको थियो । उक्त परियोजना विशुद्ध पूर्वाधार र ऊर्जा विकास रहेको निष्कर्षसहित एमसीसी सम्झौतालाई १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित संसद्ले अनुमोदन गरेको थियो । उक्त अनुमोदनप्रति चीन असन्तुष्ट थियो ।

अन्तर्राष्ट्रिय मामिला विज्ञ दिनेश भट्टराई मित्रराष्ट्रसँग नेपालले के गर्ने भन्ने विषय विशुद्ध आन्तरिक भएकाले अरू मुलुकले प्रतिक्रिया दिनु राम्रो नभएको बताए । ‘नेपालले आफ्नो परराष्ट्र नीति र राष्ट्रिय स्वार्थअनुसार के लिने वा के नलिने अथवा के गर्ने वा नगर्ने मूल्यांकन गरेर निर्णय गर्छ,’ उनले भने, ‘एमसीसी नेपालका लागि सही परियोजना थियो, हामीले लियौं । एसपीपी इन्डो–प्यासिफिक रणनीतिअनुसार भयो । त्यसैले हामी त्यसतिर गएनौं ।’ भट्टराईले नेपाल र अमेरिकाबीचको सम्बन्धमा टिप्पणी गरिरहँदा चीनले आफूलाई रणनीतिक सहयोगी साझेदार भएको उल्लेख गर्नु आफैंमा प्रश्न सोध्नुपर्ने विषय रहेको बताए ।

भूराजनीतिक जानकार तथा पूर्वउपरथी विनोज बस्न्यात नेपाल र अमेरिकासँग सम्बन्धित एसपीपीबारे चीनले टिप्पणी गर्नुले नेपाल भूराजनीतिक रूपमा शक्ति राष्ट्रहरूको खेल मैदान भएको प्रस्ट पारेको बताउँछन् । ‘नेपाल आफू खेल मैदान होइन, खेलाडी भएर प्रस्तुत हुनुपर्छ । अरूले हाम्रो खेल मैदान प्रयोग नगरून्,’ उनले भने । बस्न्यातले नेपाल शक्ति केन्द्रसँग कूटनीतिक, सैन्य शक्ति वा अन्य हिसाबमा योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने सुझाव दिए ।

भूराजनीतिक जानकार रूपक सापकोटा एसपीपीमाथि चीनले गरेको टिप्पणीलाई स्वाभाविक मान्छन् । ‘नेपालको अमेरिका वा अन्य कुनै मुलुकसँगको सम्बन्धलाई सीमा जोडिएको छिमेकीका नाताले चीनले चासो राखेको देखिन्छ,’ उनले भने, ‘जुनै शक्ति राष्ट्रले पनि हामीसँग रणनीतिक चरित्रको साझेदारी वा सहकार्य गर्न खोजे अर्को मुलुकले चासोपूर्वक हेर्छ भन्ने देखिन्छ ।’

प्रकाशित : असार १०, २०७९ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्

रामायण सर्किट रेल पहिलो पटक जनकपुरमा

भगवान् राम र सीतासँग सम्बन्धित स्थल जोड्ने ६५० किमि लामो सर्किटको यात्रामा ५ सय भारतीय पर्यटक
सन्तोष सिंह

धनुषा — भारतको नयाँदिल्लीबाट रामायण सर्किट यात्रामा निस्किएको ‘भारत गौरव टुरिस्ट रेल’ बिहीबार अपराह्न जनकपुर आइपुगेको छ । करिब ५ सय धार्मिक पर्यटक बोकेको उक्त रेल जनकपुर आइपुग्दा भव्य स्वागत गरिएको थियो । भारतको रहनसहन, खानपान र संस्कृति झल्काउने गरी सजाइएको उक्त रेलमा आएका पर्यटकलाई जनकपुरस्थित रेलवे प्लेटफर्ममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो र जनकपुरधाम उपमहानगर प्रमुख मनोज साहलगायतले स्वागत गरे ।

वातानुकूलित प्रविधियुक्त रेल प्लेटफर्ममा रोकिनेबित्तिकै एकै प्रकारका छाता ओढेर भारतीय पर्यटक उत्रिए । असारको हप्प गर्मीमा नेपाल भित्रिएका भारतीयलाई विद्यार्थीहरूले नेपालको झन्डा प्रदान गर्दै आतिथ्य प्रदान गरे । यहाँका साधुसन्त तथा सांस्कृतिक समूहले पर्यटकलाई फूलको गुच्छा दिए । धार्मिक पर्यटक बोकेर भारतबाट सिधै जनकपुर रेल आइपुगेको यो नै पहिलो अवसर हो ।

स्वागतपछि भारतीय पर्यटकले सीताको माइती जनकपुरमा आएको र जन्तीजस्तै स्वागत गरिएको प्रतिक्रिया दिए । त्रेतायुगमा भारत अयोध्याका राम र जनकपुरकी सीताको विवाह भएको थियो । जन्तीका रूपमा स्वागत गर्ने गरी नेपाली पक्षले पनि तयारी गरेको थियो । प्लेटफर्ममै ठूलो अक्षरमा लेखिएको थियो, ‘तपाईंहरूलाई ननिहाल (सीताको माइत) मा स्वागत छ ।’

पर्यटकलाई फूलमाला लगाएर स्वागत गर्दै मधेस प्रदेशका मुख्यमन्त्री राउतले यस्तो विशेष रेल सिधै जनकपुर आउनुले नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ भएको बताए । ‘पर्यटकको आगमनले दुवै देशको सम्बन्ध थप सुमधुर हुनेछ,’ उनले भने, ‘यसबाट मधेस प्रदेश र समग्र मुलुककै पर्यटन प्रवर्द्धन हुने सम्भावना बढेको छ ।’ दुवै मुलुकका सम्बन्धित निकायले छलफल गरेर रामायण सर्किटमा जनकपुरलाई जोडेर भारतीय पर्यटकलाई नेपाल ल्याउन पहल गर्नुपर्नेमा उनले जोड दिए । ‘सीताको जन्मभूमि जनकपुरको विश्वभर प्रचारप्रसार गरी पर्यटक आउने वातावरण प्रदेश सरकारले बनाउँछ,’ उनले भने ।

भारत सरकारले रामायण सर्किटलाई जोड्न पहिलो पटक धार्मिक रेल सेवा सुरु गरेको हो । राम र सीतासँग जोडिएका सबै स्थलमा पुग्ने गरी यो रेलयात्रा थालिएको हो । त्यहीक्रममा बिहीबार रामायण सर्किटको रेल जनकपुर आइपुगेको हो । इन्जिनसहित १४ वटा बोगीमा जनकपुर आएका करिब ५ सय भारतीय पर्यटकलाई झारेर रेल बिहीबार नै भारत फर्किएको छ । भारतीय पर्यटक एक रात जनकपुर बस्नेछन् । शुक्रबार उनीहरू बसमा जनकपुरबाट भारतको सीतामढी पुग्नेछन् । त्यहाँबाट पुनः उनीहरू रेलयात्रा गर्दै फर्कनेछन् ।

भारतीय पर्यटकको सम्मानमा बिहीबार साँझ जानकी मन्दिरमा विशेष कार्यक्रम आयोजना गरियो । पर्यटक जनकपुरमा दैनिक हुने सन्ध्याकालीन गंगा आरतीमा पनि सहभागी भए । शुक्रबार बिहान धनुषाधाम दर्शन गर्ने कार्यक्रम छ । जहाँ, त्रेतायुगमा रामले धनुषा भाँच्दा मध्यभाग खसेको जनविश्वास छ ।

भारत गौरव टुरिस्ट रेल हरेक २ महिना वा ६ महिनाको अन्तरमा नेपाल आउने इन्डियन रेलवे क्रियटिङ एन्ड टुरिज्म कोपरेसन लिमिटेडका टुरिजम म्यानेजर अच्युत सिंहले जानकारी दिए । ‘यात्रुवाहक रेलजस्तो नियमित रूपमा यो रेल सञ्चालन हुँदैन,’ उनले भने, ‘यो रेलमा जोकोही पर्यटकले यात्रा गर्न पाउनेछन् । भारतीयका लागि मात्रै होइन । पहिलो पटक भारतीय पर्यटक मात्रै आएका हुन् । यसपछि अनलाइन बुकिङ गरेर निर्धारित समयमा फेरि पनि यो यात्रा हुनेछ ।’

उनका अनुसार रामायण सर्किट १८ दिनको यात्रा हो । जसका लागि ६२ हजार ३ सय ७० भारतीय रुपैयाँ भाडा तोकिएको छ । यात्राको क्रममा बस्ने–खाने सबै व्यवस्था रेलवेकै हुन्छ । नयाँदिल्लीबाट छुटेको रेल अयोध्या, चित्रकोट हुँदै जयनगरबाट नेपाल प्रवेश गरेको थियो । यो रुटमा अहिले नेपालको रेल पनि गुडिरहेको छ । यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा दुवै देशबीच रामायण सर्किट सम्झौता भएको थियो । सोही सम्झौताअनुसार नै रामायण सर्किट जोड्न यो रेलयात्रा दिल्लीबाट सुरु भएको हो । जनकपुरमा पनि ब्रोडगेज रेल लिंक रहेकाले रामायण सर्किटको रेल सिधै जनकपुर आइपुगेको हो ।

भारत सरकारले भगवान् राम र सीतासँग जोडिएका धार्मिक स्थलहरूलाई स्थलमार्गबाट जोडेर रामायण सर्किट नामकरण गरेको छ । जानकीलाई विवाह गरेर लैजान राम अयोध्याबाट आएको बाटो र जनकपुरमा स्वयम्बरपछि सीतालाई लिएर गएको बाटो तथा धार्मिक भूमिलाई रामायण सर्किटले जोड्ने लक्ष्यअनुरूप भारत सरकारले सन् २०१४/१५ को बजेटमै यसको अवधारणा अघि सारेको थियो ।

सर्किटले नेपाल र भारतका धार्मिक क्षेत्रहरूलाई जोड्ने लक्ष्य लिएको छ । रामायण सर्किटमा श्रीलंकासमेत जोडिनेछ । ६ सय ५० किलोमिटर लामो सर्किटले भारत उत्तरप्रदेशको अयोध्या, शृंगवेरपुर र चित्रकुट, नेपालको जनकपुर, बिहारको सीतामढी, बक्सर र दरभंगा, मध्यप्रदेशको चित्रकुट, पश्चिम बंगालको नन्दीग्राम, उडिसाको महेन्द्रगिरि, छत्तीसगढको जगदलपुर, तेलंगानाको भद्राचलम, तमिलनाडुको रामेश्वरम, कर्नाटकको हम्पी, महाराष्ट्रको नासिक र नागपुरका विभिन्न धार्मिक स्थललाई जोड्नेछ ।

प्रकाशित : असार १०, २०७९ ०६:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×