अख्तियार अनुसन्धानमा रहेका ज्वार्चन निगम महाप्रबन्धक

मातृका दाहाल

काठमाडौँ — आर्थिक अनियमितता आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा रहेका दीपुराज ज्वार्चनलाई सरकारले नेपाल वायु सेवा निगमको ‘अस्थायी’ महाप्रबन्धकमा नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल एयरलाइन्स (न्यारोबडी–३२०) का विमान चालक ज्वार्चनलाई कार्यकारी अधिकारसहित बिहीबार नियुक्त गरेका छन् ।

अख्तियार अनुसन्धानमा रहेका ज्वार्चन निगम महाप्रबन्धक

ज्वार्चनमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन, निगमभित्र आर्थिक अनियमितता, विमान चालकको उडान तालिका निर्धारणमा विभेद, कानुनी प्रावधानविपरीत अपरेसन डाइरेक्टरमा नियुक्तिलगायत दर्जन बढी आरोप छन् । ‘निगमका विमान चालकको तालिम (सिमुलेटर ट्रेनिङ) का लागि विदेशमा केन्द्र छनोट गर्दा बढी कबोल गर्नेलाई जिम्मा दिएको, विमान चालकको उडान तालिका निर्धारणमा विभेद, योग्यता नपुगेका ज्वार्चनको अपरेसन डाइरेक्टरमा नियुक्ति, अपरेसन डाइरेक्टरको योग्यतासम्बन्धी मापदण्ड संशोधन, विदेशी विमान चालकले तिर्नुपर्ने आयकरबापतको रकम गैरकानुनी छुट दिई निगमबाटै भुक्तानीलगायत आरोपलाई एकै ठाउँमा राखेर अनुसन्धान गरिरहेका छौं,’ अख्तियार स्रोतले भन्यो ।

अख्तियारले गत वैशाख ७ मा मात्रै निगमलाई पत्र लेख्दै ‘दीपुराज ज्वार्चनलाई अपरेसन डाइरेक्टरमा नियुक्ति गर्दा सोको कानुनी आधार र प्रक्रिया’ तथा जापानको नारितामा ‘क्रु’ हरू बस्नका लागि तीनतारे नारिता होटल छनोट गर्दा लिइएका आधारहरू’ खुलाएर १० दिनभित्र राय/प्रतिक्रिया पठाउन निर्देशन दिएको थियो । अख्तियारको निर्देशनपछि तत्कालीन कार्यकारी अध्यक्ष (हाल निलम्बित) युवराज अधिकारीले जवाफ पठाउँदै ज्वार्चनलाई अपरेसन डाइरेक्टरमा नियुक्त गर्दा तत्कालीन व्यवस्थापनले कानुनी प्रावधान उल्लंघन गरेको र जापानमा क्रु बस्नका लागि होटल छनोट गर्दा ‘अनियमितता भएको’ स्वीकार गर्दै कानुन मिच्नेमाथि कारबाही गर्नुपर्ने राय दिएको थियो । यस विषयमा अख्तियारले अनुसन्धान जारी राखेको छ । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले भने ज्वार्चनमाथि अनुसन्धान भइरहेको उल्लेख गर्दै थप विषय बोल्न नमिल्ने बताए ।

निगममा अनियमितता भएको उजुरीपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २०७७ कात्तिक २३ मा सतर्कता केन्द्रका एसपी राजेन्द्रकुमार पोखरेलको संयोजकत्वमा डीएसपी बुद्धिराम खनाल र शाखा अधिकृत भावना पुडासैनी सम्मिलित तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले ७ महिना लगाएर तयार पारेको प्रतिवेदन २०७८ असार ३ मा बुझाउँदै अनियमिततामा संलग्न ज्वार्चनसहितलाई कारबाही र हिनामिना भएको रकम सम्बन्धित व्यक्तिबाटै असुल गर्न सुझाव दिएको थियो ।

त्यसपछि प्रधानमन्त्री कार्यालयले आरोपितमाथि थप अनुसन्धान गरी कारबाही चलाउन अख्तियारमा प्रतिवेदन पठाएको थियो । त्यसमाथि अख्तियारको अनुसन्धान पूरा नहुँदै मन्त्री आलेले ज्वार्चनलाई नै निगमको नेतृत्वमा अस्थायी नियुक्ति दिएका हुन् । अनुसन्धानको दायरामा रहेको व्यक्ति नै निगमको महाप्रबन्धकमा नियुक्ति हुँदा यसअघिका प्रमाण पनि लोप हुन सक्ने जोखिम रहेको एक उच्च अधिकारीले बताए ।

मन्त्रिपरिषद्ले सोमबार पर्यटनमन्त्री आलेको प्रस्तावमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको थियो । मन्त्री आलेले अध्यक्ष अधिकारीलाई कार्यकक्षमै अश्लील गालीगलोज गरेको अडियो केही दिनअघि मात्र सार्वजनिक भएको थियो । त्यस विषयमा आलेको सार्वजनिक आलोचना भइरहेका बेला अधिकारीलाई जिम्मेवारीबाट हटाइएको हो । अधिकारीले सम्हाल्दै आएको कार्यकारी अधिकार प्रयोग गर्ने गरी ज्वार्चनले नियुक्ति पाएका हुन् ।

जापानको नारितामा नेपाल एयरलाइन्सको उडान भर्दा ‘क्रु मेम्बर’ बस्नका लागि पाँचतारे होटल व्यवस्था गर्नुपर्ने सर्तविपरीत तीनतारे होटल ‘नारिता गार्डेन इन’ लाई छनोट गरेको आरोप ज्वार्चनमाथि छ । यसमा करिब सवा ३ करोड रुपैयाँ हिनामिना भएको आशंकामा अख्तियारले अनुसन्धान गरिरहेको छ ।


अख्तियारले क्याप्टेन दीपुराज ज्वार्चनका विषयमा राय/प्रतिक्रिया माग्दै गत वैशाखमा नेपाल वायु सेवा निगमलाई लेखेको पत्र ।

निगमले ज्वार्चनलाई २५ जुलाई २०१९ मा अपरेसन डाइरेक्टर नियुक्त गरेको थियो । उनको नियुक्तिताका निगमको कार्यकारी अध्यक्षमा मदन खरेल थिए । ज्वार्चनको नियुक्तिको १ महिनामै खरेल हटेका थिए । कार्यकारी अध्यक्षमा अधिकारी आएको केही महिनापछि ज्वार्चन अपरेसन डाइरेक्टरबाट हटे तर त्यही बीचमा अपरेसन डाइरेक्टर हुन न्यूनतम योग्यता २० वर्षको अनुभव हुनुपर्ने प्रावधानलाई घटाएर ज्वार्चनले १० वर्ष भए पुग्ने बनाए । ज्वार्चन सन् २००७ मा निगममा प्रवेश गरेका हुन् । अपरेसन डाइरेक्टर हुँदा उनी १२ वर्षको अनुभव भएका चालक थिए । त्यसैले उनले आफ्नै लागि मापदण्ड नै संशोधन गरेका थिए ।

विदेशी चालकलाई तोकिएको उडान अवधि पूरा नगरी सन् २०२० को ११ महिनामा पारिश्रमिक भुक्तानी गराएको आरोप पनि ज्वार्चनमाथि छ । विदेशी चालकलाई कानुनविपरीत आयकरमा छुट पनि दिइएको थियो । जसका कारण कोभिड महामारीका बेला १५ विदेशी चालकले उडान नै नभरी निगमबाट करिब १७ करोड रुपैयाँ बुझे तर आयकर तिरेनन् । आयकर निगमले नै बेहोरेको थियो । आयकर निगमको दायित्वमा रहने गरी भएको निर्णयलाई सतर्कता केन्द्रले ‘गैरकानुनी र अनियमितता’ भन्दै निर्णयमा संलग्नमाथि कारबाही सिफारिस गरेको थियो ।

प्रशिक्षक चालकमा नेपालीलाई वञ्चित गराएर विदेशी ल्याएकामा पनि सतर्कता केन्द्रले अनियमितता र अपारदर्शी भन्दै कारबाही सिफारिस गरेको थियो । नेपाली प्रशिक्षक चालकबाट तालिम गराएको भए निगमलाई ५७ हजार ३ सय ४० अमेरिकी डलर लाग्ने तर नेपाली प्रशिक्षकलाई ३२ घण्टाको मात्रै अवसर दिएर १ सय ५६ घण्टा विदेशी प्रशिक्षकबाट तालिम गराइएको र यसमा निगमले ९१ हजार ६ सय ६० डलर बेहोरेको विषयमा पनि अनुसन्धान भइरहेको छ । विदेशीबाट प्रशिक्षण गराउँदा निगमलाई ३४ हजार ३ सय २० डलर थप भार परेको सतर्कता केन्द्रले औंल्याएको थियो । त्यस्तै ५५ वर्ष उमेर पुगेको र कार्य अवधि ६ वर्षभन्दा कम भएको चालकलाई विदेशी तालिममा पठाउन नपाइने व्यवस्था रहेकामा ज्वार्चनले ६० वर्ष पुगेका गोपालसिंह विष्टलाई करिब ४० लाख रुपैयाँ निगमबाट खर्च बेहोरेर बहराइनस्थित गल्फ एभिएसन एकेडेमीमा पठाएका थिए ।

ज्वार्चनमाथिको अनुसन्धानलाई अनदेखा गरेर बहिर्गमन उन्मुख मन्त्री आलेले नियुक्ति दिएका हुन् । मन्त्री आलेलाई उनको दल एकीकृत समाजवादीले सरकारबाट फिर्ता बोलाउने निर्णय गरिसकेको छ । मुस्ताङ घर भएका नवनियुक्त महाप्रबन्धक ज्वार्चनका बुबा पनि निगममै वाइडबडी विमानका चालक हुन् । उनकी आमा निगमको क्याबिन क्रु विभागकी प्रमुख छिन् ।

प्रकाशित : असार १०, २०७९ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?