६९ करोडका ८ अलपत्र पुलको ठेक्का तोडियो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६९ करोडका ८ अलपत्र पुलको ठेक्का तोडियो

तीन वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौताको आठ वर्षसम्म आधा पनि काम भएन, लिखित तथा मौखिक ताकेतासमेत बेवास्ता गरेपछि कारबाहीमा उत्रियो सडक विभाग
कान्तिपुर संवाददाता

काठमाडौँ — रौतहटको गौर नगरपालिका–४ टिकुलियाघाटस्थित लालबकैया नदीमा पुल बनाउन थालेको वर्षौं बित्यो । समयमै पुल नबन्दा ईशनाथ नगरपालिकाका स्थानीयले सदरमुकाम आउन कठिनाइ भोग्नुपरेको छ । यसको ठेक्का पप्पु कन्स्ट्रक्सनले १६ करोड ८६ लाख ९ हजार रुपैयाँमा ०७१ असार २४ मा लिएको थियो । यसको अहिलेसम्म भौतिक प्रगति ३८ प्रतिशतभन्दा बढी छैन ।

अलपत्र छाडेको पुलको काम केही दिनअघि कन्स्ट्रक्सनले सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरलाई थाहै नदिई थालेको थियो । तर यसबारे जानकारी पाएपछि सडक डिभिजनले पुलको काम रोकिसकेको छ । पुल बनाइसक्नुपर्ने म्याद सकिएको ५ वर्ष हुन लागेको छ । सडक डिभिजन चन्द्रनिगाहपुरले गत जेठ ९ मा ठेक्का तोडिसकेको छ । ठेकेदारले सम्झौताअनुसार काम नगरेको र पटकपटक लिखित तथा मौखिक ताकेता गर्दा पनि बेवास्ता गरेकाले सम्झौताको सर्तबमोजिम ठेक्का तोडिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

चाँदी खोला विश्रामपुर हजरियामा पुल नबन्दा सर्लाही र रौतहटका स्थानीयलाई समस्या भएको छ । ठेकेदारले सम्झौताअनुसार काम नगरेको र पटकपटक लिखित तथा मौखिक ताकेता गर्दा पनि बेवास्ता गरेपछि यसको ठेक्का तोडिएको छ । रौतहटकै ४० प्रतिशत काम भएको विश्रामपुरस्थित चाँदी नदी पुलको ठेक्का पनि तोडिएको छ । ०७३ असार २१ मा भएको ठेक्काको काम अलपत्र पारेपछि सम्झौता तोड्नुको विकल्प नभएको पुल महाशाखाले जनाएको छ । यसको ठेक्का १० करोड ३४ लाख ९ हजार ९ सय ६३ रुपैयाँमा लगाइएको थियो ।

रौतहटकै पिपरा समनपुरस्थित झाँझ नदी पुलको ठेक्का ०७१ असार २९ मा नीलगिरि/नेसनल क्यानोन जेभीमा लिएको थियो । पटक–पटक काममा ताकेता गर्दा पुलको भौतिक प्रगति १६ प्रतिशतभन्दा बढ्न सकेन । यसको ठेक्का रकम ५ करोड ५३ लाख १५ हजार ८ सय ४२ रुपैयाँ थियो । निर्माण कम्पनीको लापरबाहीले सप्तरीस्थित हुलाकी राजमार्गअन्तर्गत पर्ने मुतनीधार नदीमा पुल निर्माणको काम अझै सकिएको छैन । जसले गर्दा नदी पारपार गर्न स्थानीय सास्ती खेप्न बाध्य छन् । लामो समय भए पनि पुलले पूर्णता नपाउँदा जिल्लाको पश्चिमी भेग बोदे बरसाइन, खडक, शम्भुनाथ, डाक्नेश्वरी नगरपालिका र बलान विहुल गाउँपालिकावासीलाई सदरमुकामसम्म आउन समस्या भएको छ ।

मुतनीधार खोला पुलको ठेक्का सप्तरीको नीलगिरि निर्माण सेवाले ०७१ असार ३१ मा लगाएको थियो । यसको ठेक्का रकम २ करोड ५१ लाख ७० हजार १ सय ९७ रुपैयाँ हो । २५ प्रतिशत काम भएको पुललाई पछि अलपत्र पारिएपछि ठेक्का तोडिएको सडक विभागअन्तर्गत पुल महाशाखाले बताएको छ ।

नीलगिरि निर्माण सेवाले नै ठेक्का लिएको सुमरीखोला पुल सप्तरीको पनि ठेक्का तोडिएको छ । निर्माण कम्पनीले सुरुवातदेखि नै काममा ढिलासुस्ती र आलटाल गर्दै आएको थियो । सम्बद्ध निकाय र जनप्रतिनिधिले पनि चासो नदिँदा पुल अधुरै र निर्माणाधीन रहँदा अस्तव्यस्त छ दुर्घटनाको जोखिम पनि उच्च छ । पुल महाशाखाले निर्माण अघि बढाउन पटकपटक ताकेता गर्दा पनि लापरबाही गर्ने निर्माण व्यवसायीको ठेक्का तोड्न थालेको छ । केही ठेक्का अझै तोड्ने प्रक्रियामा रहेको पुल महाशाखाले जनाएको छ ।

कास्कीको मादी गाउँपालिका वडा १२ र ९ जोड्ने सिम्ले मोटरेबल पुल ८ वर्षदेखि अलपत्र छ । कांग्रेस नेता गणेश लामाको सिरुवा कन्स्ट्रक्सनले ठेक्का पाएको उक्त पुल नबन्दा कास्कीको पूर्वी र लमजुङको पश्चिम भेगका स्थानीय प्रभावित छन् । मादी–१२ को सिमलचौर र ९ को सिम्ले जोड्न मादी नदीमाथि बन्नुपर्ने उक्त पुलको एकातिर आधा पिलर मात्रै उठाएर छाडिएको छ । खोलाको बीचमा पिलर बनाउँदा बनाउँदै छाडिएको छ । बर्खामा उक्त पिलरको रडमात्रै देखिन्छ । हिउँदमा मादी नदीबाटै मोटर तरे पनि बर्खा सुरु भएपछि भने बाटो बन्द हुने गरेको छ । मादी–९ का मुग्रीबेंसी, गहते, गोर्जे, वडा ८ का पाख्रीकोट, नागिधार, पोसीपर्क्युका स्थानीय झोलुंगे पुल तरेर पैदल हिँड्ने गरेका छन् ।

पोखराबाट सिम्ले हुँदै लमजुङको क्व्होलासोंथर गाउँपालिकाका मजुवा, करापु, गिलुङ, टक्सार, पसगाउँ, सिङ्दी पुग्ने छोटो बाटो हो यो । बेलैमा पुल नबन्दा बर्खामा ती गाउँमा पुग्न सर्वसाधारणले वैकल्पिक बाटोका रूपमा बेगनासताल–रामबजार–भोर्लेटार हुँदै लामो बाटो प्रयोग गर्न बाध्य छन् । मादी–१० सौरे हुँदै वार्दी खोला तरेर जाने वैकल्पिक बाटोमा मध्यपहाडी लोकमार्गको मोटरेबल पुल बन्दै गरेकाले उक्त बाटो पनि बन्द छ । सर्वसाधारण बिरामी हुँदा बर्खामा एम्बुलेन्स जान सक्ने स्थिति नरहेको मादी–९ का पूर्ववडाध्यक्ष तोरण गुरुङले बताए । ‘हामीले पटकपटक ठेकेदार कम्पनीलाई ताकेता गर्‍यौं । तर जे गर्ने हो गर भन्ने किसिमको धम्की आयो,’ उनले भने ।

सिरुवा कन्स्ट्रक्सनले नै थालेको पोखरा–१३ कसेरी र २८ को काफलघारी जोड्ने विजयपुर खोला मोटरेबल पुलसमेत ४ वर्षदेखि अलपत्र छ । उक्त पुलपछि बन्न सुरु भएका नजिकैका अन्य दुई पुल बनिसक्दा काफलघारी पुलको पिलर मात्रै ठडिएको छ । उक्त पुलको समेत दुईवटा पिलर मात्रै बनेका छन् । जिल्ला समन्वय समितिका पूर्वअध्यक्ष बैनबहादुर क्षत्रीकै घरनजिक उक्त पुल निर्माणाधीन छ । बर्खा लागेपछि स्थानीयले दुःख पाउने गरेको क्षत्रीले बताए । ठेकेदार कम्पनीको गम्भीर लापरबाहीले पुल बन्न नसकेको उनको भनाइ छ । उक्त पुल बन्दा पोखरा महानगरपालिकाका कालिका, माझठाना र मादी गाउँपालिकाका मिजुरे, भाचोक, सैमराङ, हंसपुर र लमजुङसम्मका स्थानीय लाभान्वित हुन्छन् ।

भोजपुर र संखुवासभा जोड्ने लम्सुवाघाटमा पुल निर्माणका लागि ६ वटा पिलर मात्रै उठाइएको छ । ठेकेदार कम्पनीले डोजर र ट्रिपर नदी किनारमा राखेको छ । तर काम भने गरेको छैन । पिलरमा राखिएका रड खिया लागेर काम नलाग्ने अवस्थामा छन् । यसको ठेक्का ०६७ असार २५ मा स्वच्छन्द निर्माण सेवाले लिएको हो । निर्माण थालेको १२ वर्ष बित्दा ३० प्रतिशत मात्र भौतिक प्रगति छ । ठेक्का रकम १४ करोड ७५ लाख ११ हजार रुपैयाँ हो । ठेक्का लिएको कम्पनीले चट्टान भेटिएको भन्दै काम छाडेको थियो । अरुण नदीको बीचमा ६ वटा पिलर मात्रै देखिन्छन् । पुल नबन्दा हिउँदमा डुंगाबाट स्थानीय नदी वारपार गर्न बाध्य छन् । बर्खा सुरु भएपछि स्थानीय आधा घण्टा घुमेर तुम्लिङटार आउनुपर्छ ।

लामो समय काम अघि नबढाई अलपत्र पारिएका ८ वटा पुलको ठेक्का तोडिएको पुल महाशाखाले जनाएको छ । पटकपटक ताकेता गर्दा पनि निर्माणमा प्रगति नदेखिएपछि ६८ करोड ९६ लाख रुपैयाँ बराबरका पुलको ठेक्का तोडिएको हो । यो चालु आर्थिक वर्षमा ठेक्का तोडिएका पुलको संख्या रहेको पुल महाशाखाका प्रमुख उमेशविन्दु श्रेष्ठले बताए । ०६७ देखि ०७३ सालसम्म ठेक्का भएका पुल रहेको उनको भनाइ छ । ‘जति ठेक्का तोडिएका छन्, ती पुलको कामै भएन, सकेसम्म ठेक्का नतोडी काम सकौं भन्ने लाइनमै थियौं,’ प्रमुख श्रेष्ठले भने, ‘ठेकेदारले काममा चासो नदिएपछि ठेक्का तोड्नुको विकल्प रहेन ।’ आधा बनाएर छाडेको पुलमा पुनः ठेक्का लगाउन समस्या हुने श्रेष्ठको भनाइ छ ।

‘एउटाले आधा बनाइसकेको पुलमा ठेक्का तोडेर पुनः ठेक्का गर्दा अर्कोले ठेक्का हाल्छ/हाल्दैन, यकिन छैन । त्यसमाथि यस्ता ठेक्कामा समस्या आए एकअर्कालाई दोष दिँदैमा ठिक्क हुन्छ,’ उनले भने, ‘यस्तै केही समस्या भएका र रुग्ण बनेका पुलमा काम लगाएर सम्पन्न पनि गराएका छौं ।’ कामै नभएका पुलको मात्र ठेक्का तोडिएको पुल महाशाखाले जनायो । ‘यी सबै ठेक्का ठेकेदारले काम नगरेपछि तोडिएको हो,’ प्रमुख श्रेष्ठले भने ।

- विमल खतिवडा (काठमाडौं), शिव पुरी (रौतहट), दीपक परियार (पोखरा), अवधेशकुमार झा (सप्तरी) र दीपेन्द्र शाक्य (संखुवासभा)

प्रकाशित : असार १०, २०७९ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्

पढे पो नेता

अध्ययन, लेखन र बौद्धिक मन्थनको जिम्मा बुद्धिजीवीलाई मात्रै सुम्पिएझैं गरी नेताहरू आफैंले रचेको भेटघाट, दौडधुप, षड्यन्त्र र भाषणको अनन्त चक्रमा फँसेका छन् ।
सुजित मैनाली

पुस्तकप्रेमीहरूको आवतजावत बाक्लो हुने काठमाडौंका केही पुस्तक पसल सञ्चालकलाई ‘चिनिएका नेताहरू किताब किन्न कत्तिको आउनुहुन्छ ?’ भनी सोध्दा सबैजसोले ओठ लेपारे । एकाध नेता मात्रै पुस्तक पसल जाँदा रहेछन् ।

अधिकांश नेताले पुस्तक पसल अथवा पुस्तकालय नटेकेको सायद वर्षौं भइसक्यो । किताब र अध्ययनप्रति नेताहरूको उदासीनता उनीहरूले हाँकेका दलमा अनि दलको प्रभाव राज्य सञ्चालनमा परिरहेको छ । अध्ययनको महत्त्वलाई नेताहरूले गहिरोसँग महसुस गर्न सके समग्र देशकै पठन संस्कृतिमा उल्लेख्य सुधार ल्याउन सकिने भएकाले नेता र किताबबीचको सम्बन्धको सान्दर्भिकता केलाउनु सामयिक हुन्छ ।

अपरिहार्य अध्ययन

आम मानिसलाई पथप्रदर्शन गर्ने र देशलाई प्रगतितिर डोहोर्‍याउने अभियानको नेतृत्व गर्ने भएकाले नै त्यस्तो अगुवालाई नेता भनिएको हो । नेता इतिहासका सर्जक मानिन्छन् । यस्तो काम गर्न तीक्ष्ण बुद्धि, अनुभव, समयोचित ज्ञान अनि जोखिम मोल्ने साहस चाहिन्छ । यस्तो सामर्थ्य दिलाउने एउटा मुख्य स्रोतमा किताब पर्छ । यति हुँदाहुँदै पनि अध्ययन, लेखन र बौद्धिक मन्थनको जिम्मा बुद्धिजीवीलाई सुम्पिएझैं मात्रै गरी नेताहरू आफैंले रचेको भेटघाट, दौडधुप, षड्यन्त्र र भाषणको अनन्त चक्रमा फँसेका छन् ।

अध्ययनको आवश्यकता बुद्धिजीवीहरूलाई भन्दा बढ्ता नेताहरूलाई हुन्छ । प्रखर कूटनीतिज्ञ हेनरी किसिन्जरले अन्तर्राष्ट्रिय सम्बन्धका सन्दर्भमा बुद्धिजीवी र नेताबीचको भिन्नताबारे चर्चा गर्दै आफ्नो किताब ‘डिप्लोमेसी’ मा लेखेका छन्, ‘बुद्धिजीवीहरूले अन्तर्राष्ट्रिय व्यवस्था सञ्चालनको विवेचना गर्छन्, नेताहरूले ती व्यवस्थाहरूको निर्माण गर्छन् ।’ विवेचना गर्नुभन्दा रचना गर्नु जटिल र जोखिमपूर्ण काम हो । नेताहरूको यस्तो जिम्मेवारीबारे थप चर्चा गर्दै किसिन्जरले बुद्धिजीवीलाई अध्ययनको विषय चयन गर्ने, त्यसलाई समय लगाएर गहिरिएर अध्ययन गर्ने सुविधा हुने गरेको तर नेताहरू त्यस्तो सुविधाबाट वञ्चित रहने गरेको बताएका छन् । आफूले गरेको विश्लेषण नमिले अर्को एउटा लेखोटमार्फत आफूलाई संशोधन गर्ने सुविधा बुद्धिजीवीलाई हुन्छ तर नेताहरूलाई एउटै विश्लेषण र तदनुरूपको निर्णयले इतिहासमा अभिलिखित गराउँछ । त्यसैले नेताहरूको बुझाइ अझ तीक्ष्ण र खारिएको हुनुपर्ने आशय किसिन्जरको छ ।

सफल बन्ने हो भने राजनीतिज्ञले अध्ययनलाई आफ्नो जीवनको अभिन्न अंग बनाउनुपर्छ भन्ने कुरामा राजनीतिशास्त्रका प्रतिष्ठित सिद्धान्तकारहरूबीच मतैक्य छ । प्राचीन भारतका राजनीतिशास्त्री कौटिल्यले विद्याश्रमको समाप्तिपछि पनि शासकले अध्ययनलाई निरन्तरता दिनुपर्छ भनेका छन् । शासकको अध्ययनको ढाँचाबारे उनले लेखेका छन्, ‘(उनीहरूले) दिनको पहिलो भागमा हात्ती, घोडा, रथ र अस्त्रशस्त्र सम्बन्धी विद्या आर्जन गर्नुपर्छ; दिनको पछिल्लो भाग इतिहास पढेर/सुनेर बिताउनुपर्छ । इतिहास अन्तर्गत पुराण, विगत समयका वास्तविक घटनाको वर्णन (इतिवृत्त), आख्यायिका (कथा), उदाहरण (राजाहरूको जीवनचरित्र), धर्मशास्त्र (कानुन) पर्छन् । दिउँसो र राति बचेका बाँकी समयमा नयाँ ज्ञान आर्जन गर्ने र पहिले पढेर बिर्सिएका कुराहरूलाई मननचिन्तन गर्नुपर्छ । जुन कुरो एक पटक सुनेर/पढेर सम्झिइँदैन, त्यसलाई बारम्बार सुन्नुपर्छ/पढ्नुपर्छ (कौटिल्यीय अर्थशास्त्र, १।२।४।६) ।’

नेताको योग्यता र पात्रतासँग समग्र देशको भविष्य गाँसिएको हुन्छ । त्यस्तो महत्त्वपूर्ण व्यक्तिले आफ्नो परिवेशलाई गहिरोसँग बुझेको हुनुपर्छ । कौटिल्यले गरेको विवेचनाको मर्म यही हो । कौटिल्यको समयको जस्तो राजनीति अहिले छैन । एउटा नेताको योग्यता अथवा अयोग्यतालाई इतिहास निर्धारणको कारक बन्न नदिनेगरी राजनीतिलाई विधि र विधानले बाँधेर यसका अवयवहरूलाई संस्थागत गर्ने परिपाटी चलेको धेरै भइसक्यो । नेतालाई भन्दा नीतिलाई प्रधान मान्ने र देशको हित गर्न नसक्ने अथवा अहित गर्ने नेतालाई पन्छाउने परिपाटीको महत्त्व, यसको सफल अभ्यासका उदाहरण आदि पेस भएको पनि धेरै भइसक्यो । तर हाम्रोमा आफूलाई राजनीतिको केन्द्रमा राखिरहन नेताहरूले राजनीतिक प्रणालीलाई संस्थागत हुन दिइरहेका छैनन् । यसले गर्दा देशले अग्रगति लिन सकेको छैन । विधिको सट्टा नेताहरू अहिले पनि राजनीतिको मियो छन् । जनतालाई कर्मशील र व्यस्त राख्नेगरी हुने प्रगतिलाई नेताकेन्द्रित राजनीतिले मर्दन गरिराखेकाले प्राथमिकताका सारा विषय छोडेर हामी जनता पनि बाह्रैमास राजनीतिको कुरा गर्न स्वाद मानिरहेका छौं । यो जटिल राजनीतिक रोगको लक्षण हो । यस्तो रोग नेपाली समाजमा नराम्रोसँग संक्रमण भइसकेको छ । यसले हाम्रो चेतनालाई बोधो बनाइदिएको छ । त्यसैले समयमै किताब छाप्न अथवा मल ल्याउन नसकेर देश र जनताप्रति हरेक वर्ष घात गर्दै आएका (गैर)जिम्मेवार अधिकारीहरूका कुकर्मको चर्चासम्म गर्न पनि हामी आवश्यक ठान्दैनौं । तर ‘फलानो नेता चतुर कि तिलानो, फालानो पार्टीले फलानो नेतालाई कारबाही गर्न मिल्छ कि मिल्दैन’ जस्ता बकम्फुसे र अर्थहीन कुरामा गलफती गर्दै चिया र रक्सीका ग्लास रित्याइरहन्छौं ।

सघन शल्यक्रियाबिना हाम्रो रोगी राजनीति तङ्ग्रिन गाह्रो छ । यस्तोमा राजनीतिज्ञहरू विवेकी र विषयगत ज्ञानमा पोख्त हुनुपर्छ भन्ने आम धारणा संस्थागत हुन सके राजनीतिलाई क्रमशः प्रगतिमुखी र मर्यादित बनाउने अभियान सहज हुन सक्छ । नेताहरू आम चासोको केन्द्रमा रहेकाले किताबलाई उनीहरूले प्राथमिकताको विषय बनाए यसले देशभरि पठन संस्कृति विस्तार गर्ने अभियानमा उल्लेख्य टेवा पुर्‍याउन पनि सक्छ ।

छुटेको पढाइ

अहिलेका मुख्य नेताहरू राजनीतिक संघर्षको पृष्ठभूमिबाट आएका हुन् । संघर्षको समयमा अध्ययन गर्नु अनिवार्य हुन्छ । तात्कालीन राज्यव्यवस्थालाई निकम्मा साबित गर्न र आफूहरूले हासिल गर्न खोजेको लक्ष्यबारे जान्न किताब नपढी हुँदैन । हाम्रा इन्द्रियले भोग्ने जीवन सीमित हुने भएकाले इन्द्रियजनित ज्ञानको सीमा साँघुरो हुन्छ । किताबमा असंख्य व्यक्तिका भोगाइ र निष्कर्ष समेटिएका हुन्छन् । त्यसैले सूचना र ज्ञानको प्रमुख स्रोतमा किताब पर्छ । अध्ययनबिना जनतालाई विश्वासमा लिएर राजनीतिक प्रभाव फैलाउन असम्भव हुने भएकाले संघर्षको अवधिमा नेताहरू पढ्ने गर्थे पनि । अहिले क्रियाशील नेताहरूमध्ये अधिकांशले सम्भवतः सबैभन्दा बढ्ता पञ्चायतकाल वा सशस्त्र द्वन्द्वकालमा पढे होलान् ।

संघर्षको भावले मानिसमा क्रान्तिकारी काम गर्ने हुटहुटी पैदा गराउँछ । त्यस्तो हुटहुटीलाई थप उद्वेलित गर्न र आकार दिलाउन किताबले मद्दत गर्छ । अधिकांश नेताले क्रान्तिको व्यग्रता किताबबाटै ग्रहण गरेका हुन्छन् । प्रजातान्त्रिक आन्दोलनका नेता टंकप्रसाद आचार्यको भोगाइलाई उदाहरण मान्न सकिन्छ । किशोरवयमा आचार्यले हिन्दीमा प्रकाशित नेपोलियन बोनापार्टको जीवनी पढ्न नपाएका भए क्रान्तिप्रति उनमा हुटहुटी जाग्न समय लाग्ने थियो होला । बोनापार्टको जीवनी पढेपछि उनको मनमा फ्रेन्च जनक्रान्तिबारे थप जान्ने उत्सुकता जाग्यो । त्यसका लागि नेपाली र हिन्दी भाषाको ज्ञान पर्याप्त थिएन । फ्रेन्च जनक्रान्ति र त्यस्तै खालका राजनीतिक संघर्षका गाथा पढेर प्रेरणा लिनकै लागि उनले बनारस हिन्दु विश्वविद्यालय पढेका भिनाजु रामनाथ शर्मासँग अंग्रेजी सिके । दुई वर्षको अथक परिश्रमपछि अंग्रेजी भाषामा छापिने पत्रिका पढ्न सक्ने भए । त्यसपछि उनले भोल्तेयर, जाँ ज्याक रुसो, कार्ल मार्क्स, भ्लादिमिर लेनिन, जर्ज बर्नाड श, एच.जी. वेल्स, बर्ट्रेन्ड रसेलदेखि त्यतिबेला भारतमा चर्चित अमेरिकी स्वतन्त्रता संग्रामका नेता थोमस पेनसम्मका किताब पढे । संघर्षको हुटहुटीले अध्ययनलाई उनको कर्मको अभिन्न अंग बनायो । आचार्यका अन्तर्वार्ताकार जेम्स फिसरका अनुसार आचार्यले सबैभन्दा गहिरिएर पढेको किताब एच.जी. वेल्सको ‘द आउटलाइन अफ हिस्ट्री’ थियो । जीवनको अन्तिम घडीसम्मै उनी त्यो किताब पल्टाइरहने गर्थे । आचार्यको घरमै गएर अन्तर्वार्ता लिएका फिसरले त्यस किताबमा प्रशस्तै अन्डरलाइन गरिएका थिए र त्यसका असंख्य पृष्ठमा फोल्ड गरिएका डाम लागेका थिए भनी लेखेका छन् । किताबमा वेल्सले पृथ्वीको उत्पत्तिदेखि पहिलो विश्वयुद्धसम्मका घटनाको एकसरो वर्णन गरेका छन् ।

आचार्यको समयका अन्य नेताहरूको राजनीतिक बुझाइलाई आकार दिलाउने र उनीहरूमा क्रान्तिको हुटहुटी पैदा गर्ने काम पनि किताबले नै गरेको थियो । यो कुरा दशरथ चन्द, गंगालाल श्रेष्ठ, बीपी कोइराला, पुष्पलाल आदिका जीवन अथवा उनीहरूका रचना नियाल्दा पनि स्पष्ट हुन्छ ।

अहिले क्रियाशील नेताहरूको अनुभव पनि संघर्षका दिनताका भिन्न थिएन । प्रजातन्त्र प्राप्तिपछि राजकाजमा व्यस्त हुन थलेसँगै उनीहरूले पढ्न क्रमशः छोड्दै गए । पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको स्थापनालाई उनीहरूले आफ्नो प्रमुख लक्ष्य बनाएका थिए । प्रजातन्त्र स्थापनापछि सशस्त्र युद्ध सुरु गरेका माओवादी नेताले गणतन्त्रलाई गन्तव्य बनाएका थिए । जब लक्ष्य प्राप्त भयो, तब नेताहरूमा ज्ञान बढाउने हुटहुटी क्रमशः हराउँदै गयो । यदी दलहरूले प्रजातन्त्र वा गणतन्त्र प्राप्तिपछि भूमिसुधार वा औद्योगिकीकरण वा कृषि क्रान्ति वा शैक्षिक क्रान्तिलाई नयाँ लक्ष्य बनाएर पार्टीपंक्तिलाई संघर्षको नयाँ चरणमा होम्न सकेको भए नेताहरूमाझ पठन संस्कृति हराउने थिएन । नयाँ कुरा जान्नैपर्ने बाध्यता उनीहरूलाई हुने थियो । यसले राजनीतिलाई प्रगतिमुखी र संस्कारी बनाउने थियो ।

विरासतको प्रश्न

देश हाँक्ने अहिलेको नेतृत्वपंक्तिले राजनीतिबाट निष्क्रिय भएपछि लेखपढ गरेर बाँकी जीवन बिताउनेछ । जीवनको एउटा अवधिमा पढाइको स्वाद चाखेको र यसको महत्त्व आत्मसात् गरेको अनुभव उनीहरूसँग छ । राजनीतिबाट निष्क्रिय हुने संघारमा रहेको यो पुस्ताले सोच्नुपर्छ— हामीले कस्ता उत्तराधिकारीलाई राजनीतिको बागडोर सुम्पिँदै छौं ?

सार्वजनिक जीवनमा सक्रिय एउटा पुस्ताको योग्यता उसले कस्तो उत्तराधिकारी जन्मायो भन्ने कुराले निर्धारण गर्छ । प्रमुख दलका युवा तथा विद्यार्थी संगठनका नेताले भोलि देशको राजनीति सम्हाल्नेछन् । यो पुस्तासँग राजनीतिक संघर्षको कम, दलतन्त्रका लागि मारमुङ्ग्री, झेल र गुन्डागर्दी गरेको अनुभव बढी छ । किताबको महत्त्व यो पुस्ताले महसुस गरेको छैन । एकाध अपवादलाई बिर्सिने हो भने अध्ययनसँग यो पुस्ताको कुनै सरोकार वा अभिरुचि छैन । नत्र उनीहरूले त्रिचन्द्र क्याम्पसको पुस्तकालयमा आगो लगाएर हजारौं किताब खरानी पार्न कसरी सक्थे ?

दलका युवा नेताहरूको प्रसंग आउनासाथ आम मानिसका मनमा लेखपढ नगर्ने, राजनीतिबाहेक अर्को इलम नभएका, राजनीतिक दर्शन र परिवेशबारे अत्यन्तै सतही बुझाइ भएका, विधागत सीप र विनोदी स्वभावरहित, टेन्डर र ठेकापट्टाका काममा अहोरात्र लाग्ने एउटा दम्भी चाकरीबाजको विम्ब निर्माण हुन्छ । यस्ता युवाले आम युवाको प्रतिनिधित्व गर्न र जनतालाई पार्टीप्रति आकर्षित गर्न सक्दैनन् भनी शीर्ष नेतृत्वले महसुस गर्न आवश्यक छ ।

राजनीतिको यस्तो पतनोन्मुख अवस्था रोक्न नेताहरूले आफू स्वयं र आफ्ना दललाई सिद्धान्त र कौशलको दरिलो टेको दिलाउन सक्नुपर्छ । यसका लागि पार्टीपंक्तिमाझ पठन संस्कृति अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्नु एउटा उपाय हुन सक्छ । देशभरिका पार्टी कार्यालयमा पुस्तकालय स्थापना वा अद्यावधिक गरी कार्यकर्तालाई पढ्न प्रेरित गर्ने योजना ल्याउन सकिन्छ । यसका लागि महिनाको कम्तीमा एक पटक राजनीति, दर्शन, समाज, अर्थतन्त्र आदिबारे लेखिएका गहकिला किताबबारे विमर्श गर्ने परिपाटी चलाउन सकिन्छ । विद्यार्थी संगठनको अग्रसरतामा हरेक वर्ष पार्टी कार्यालय वा अन्य उपयुक्त स्थानमा पुस्तक मेला र पठन महोत्सव आयोजना गर्न सकिन्छ । नेताहरूका गतिविधि र अभिव्यक्ति पछ्याउने जमात ठूलो भएकाले उनीहरूले पढेका किताबबारे आफ्ना टिप्पणी पत्रपत्रिका वा सामाजिक सञ्जालमा छाप्ने जाँगर चलाउन सके पठन संस्कृतिको लहर ल्याउन सजिलो हुन्छ ।

जंगबहादुर राणाको अध्ययनबारे टिप्पणी गर्ने क्रममा उनका पुत्र पद्मजंग राणाले लेखेका छन्, ‘उनलाई अक्षरहरूको मैदानमा होइन, युद्धभूमिमा चम्किनु थियो । आफ्नो लडाकुपनबारे सुरुमै जानकार भएझैं गरी उनले (बाल्यावस्थादेखि नै) आफ्ना उमेरका केटाहरूले भन्दा बढी किताबलाई प्रेम गरेनन् ।’ इतिहासकार दिनेशराज पन्तको सम्पादनमा छापिएको किताब ‘श्री ३ वीरशमशेरको जीवन चरित्र’ मा पनि यस्तै खालको भाव आउनेगरी वीरशमशेरले ५/७ वर्ष पढेपछि ‘हामी क्षत्रीयलाई यति पढाइले पुग्छ’ भनी बाबु धीरशमशेरले गुरु लक्ष्मण पण्डितलाई बिदा गरिदिएको उल्लेख छ । फगत साक्षर हुनु राजनीतिमा पर्याप्त मानिने जंगबहादुरको युग अहिले छैन । तिघ्रा ठटाएर वा खुकुरी चम्काएर राजनीति गर्ने दिन सकिएको छ । संसारमा प्रगतिको आधार सूचना, शिल्प र ज्ञान बनेको धेरै भइसक्यो । यसकै आधारमा हामीसरहका थुप्रै देश अघि फड्किसके । देशको प्रगतिका लागि राजनीति हुनुपर्छ भनी चाहने हो भने हामीले जंगबहादुरले झैं अध्ययनलाई ‘प्रेम नगर्ने’ आम राजनीतिक प्रवृत्तिलाई विसर्जन गर्न ढिलो भइसकेको छ ।

प्रकाशित : असार १०, २०७९ ०८:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×