कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

५१ वर्षपछि फर्कियो सुन्दरी तोप

सेना र दैलेखको इतिहाससँग जोडिएको तोप फेरि कोतगढीमै
ज्योति कटुवाल

दैलेख — २०२८ सालको भोकमरी धान्न नसक्दा दैलेख सदरमुकामस्थित ज्वाला दल गण सुर्खेतमा सारियो । सैनिक गणमा रहेका सुन्दरी, अर्गालगायतका तोप पनि बोकेरै सुर्खेत लगियो । सेना र दैलेखको इतिहाससँग जोडिएको सुन्दरी तोप पाँच दशकपछि नारायण नगरपालिका–१ कोतगढीमा फर्काइएको छ । तोपसँगै ८१ थान गोली पनि हस्तान्तरण गरिएको छ । 

५१ वर्षपछि फर्कियो सुन्दरी तोप

यो तोप २ सय ३२ वर्ष पुरानो हो । तोप जिल्लामा पुग्दा स्थानीयले झाँकी, लाखे र पैचारु नाचसहित बाजागाजा बजाएर भव्य स्वागत गरे । स्थानीय र नेपाली सेनाको समन्वयमा गत पुस २० गते सुन्दरी तोप नेपाली सेनाको कालीदत्त गुल्ममा पुर्‍याइएको थियो । ‘अब तोप र कोतगढीको जिम्मा नारायण नगरपालिकाले लिएको छ,’ काँडाचौरस्थित गुल्मका गुल्मपति (सेनानी) विनोद चौलागाईंले भने । नगर प्रमुख लोमन शर्माले तोप गढीमा फर्काउँदा यहाँको शोभा बढेको बताए । गढी मात्र नभएर अन्य पुरातात्त्विक, धार्मिक र पर्यटकीय महत्त्वका सम्पदा संरक्षण गर्न नगरपालिकाले योजना बनाइरहेको उनको भनाइ छ ।

५० देखि ७० मिटरसम्म फैलिएको कोतगढी १२ फिट उचाइको छ । बहादुर शाहको नायबी कालमा पश्चिमतर्फका राज्य एकीकरण गर्न १८४६ मा कोतगढी किल्ला प्रयोग भएको थियो ।

नारायण–१ का ७३ वर्षीय लालबहादुर थापाले अर्को तोप पनि कोतगढीमा राख्न माग गरेका छन् । ‘१५ वर्षको उमेरमा कोतगढीमा तोप हेर्न भागेर जान्थ्यौं,’ उनले भने, ‘७३ वर्षमा आफ्नै आँखाअघि त्यही तोप देख्न पाउँदा खुसी लागेको छ ।’ तोप राखिएपछि पछिल्लो पुस्ताले इतिहासबारे बुझ्न पाएको उनको भनाइ छ । नेपाली सेनाको पश्चिम कमान्डका कमान्डपति प्रेम शाहीले ऐतिहासिक सम्पदा संरक्षण र प्रवर्द्धनका लागि नेपाली सेना जहिले पनि तत्पर रहने बताए । ‘त्यो बेला सुन्दरीसँगै अर्गा तोप पनि दैलेखबाट सुर्खेत ल्याइएको थियो,’ उनले भने, ‘त्यसको पनि खोजी भइरहेको छ ।’

नारायण–१ का पूर्वअध्यक्ष तीर्थनारायण श्रेष्ठले ऐतिहासिक तोप पुनःस्थापनाले दैलेखको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । ‘तोप पुनःस्थापना गरिनु ठूलो कुरा हो, यो हाम्रो अमूल्य सम्पत्ति पनि हो,’ उनले भने, ‘५० वर्षपछि गढीको रौनक फेरि फर्किएको छ ।’ उनका अनुसार तोप गढीमा हुँदासम्म दसैंलगायत महत्त्वपूर्ण चाडपर्वमा तोपको बढाइँपछि मात्र पूजाआजा सुरु हुन्थ्यो । भाषाको पहिलो अभिलेख र ३२ जातजातिको उद्गमस्थल दैलेख भएकाले यहाँका पुरातात्त्विक सम्पदा संरक्षण गर्न आवश्यक रहेको उनी बताउँछन् ।

प्रकाशित : असार १०, २०७९ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?