एसपीपी अस्वीकार गर्ने नेपालको निर्णय प्रशंसनीय:चीन

काठमाडौँ — नेपालले अमेरीकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्नु प्रशंसनीय भएको चीनले टिप्पणी गरेको छ । उक्त सम्झौता नेपालको हित प्रतिकुल भएको भन्दै तीब्र विरोधपछि सरकारले अस्वीकार गर्ने निर्णय गरेको थियो । उक्त निर्णयमाथि बिहीबार चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले नियमित पत्रकार सम्मेलनमा प्रतिक्रिया दिएका हुन् ।

एसपीपी अस्वीकार गर्ने नेपालको निर्णय प्रशंसनीय:चीन

'नेपालको ‍रणनीतिक साझेदार मित्र र निकट छमेकी हुनुको नाताले चीन नेपाल सरकारले गरेको निर्णयको प्रशंसा गर्दछ' प्रवक्ता वाङले भनेका छन्,'चीन नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डता र नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिको प्रतिबद्धतामा निरन्तर सहयोग गरिरहन्छ ।'

'चाइना डेली'ले 'नेपाल सरकारले एसपीपी अघि बढाउने विषयमा निर्णय गरेको र यसलाई विष्लेषकहरुले यो सैन्य साझेदारीको रणनीति भएको तथा यसले नेपालको परराष्ट्र नीति र नेपालको स्वार्थमा आघात पार्ने भनिरहेका बेला चीनको प्रतिक्रिया के छ ?' भनेर प्रवक्ता वाङलाई प्रश्न गरेको थियो ।

उक्त प्रश्नको जवाफ दिने क्रममा प्रवक्ता वाङले भनेका छन् - 'नेपालमा हालै धेरै विवादमा परेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे हामीले जानकारी पाएका छौैं । धेरै राजनीतिक दल, समूह, सरकार, सेना र नेपाली जनताहरुले एसपीपीलाई इन्डो-प्यासिफिक रणनीतिसँग नजिक जोडिएको सैन्य या सुरक्षा अभियान हो र यो नेपालको राष्ट्रिय स्वार्थ र लामो समयदेखि लिइदै‌ं आएको असंलग्न र सन्तुलित परराष्ट्र नीतिको प्रतिकुल रहेको ठानेका छन् ।'

उनले चीन क्षेत्रीय सुरक्षा,स्थिरता र आपसी समृद्धिका लागि नेपालसँग संयुक्त रुपमा काम गर्न तयार रहेको उल्लेख गरेका छन् ।

प्रकाशित : असार ९, २०७९ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?