प्रधानसेनापति शर्मा सिरियामा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानसेनापति शर्मा सिरियामा

कान्तिपुर संवाददाता

काठमाडौँ — संयुक्त राष्ट्र संघ (यूएन) अन्तर्गत शान्ति सैनिकहरूले निर्वाह गरेको जिम्मेवारीको अवलोकन गर्न गएका प्रधानसेनापति प्रभुराम शर्मा सिरिया पुगेका छन् ।

उनले बुधबारबाट यूएनको ‘डिसइन्गेजमेन्ट अबजर्भर फोर्स मिसन’ सिरियाको अवलोकन थालेका हुन् । उनले बिहीबार उक्त मिसनअन्तर्गतको सुरक्षा पोस्टहरूको भ्रमण गरे ।

भ्रमणको क्रममा टोलीले माउन्ट हर्मन कम्प्लेक्सस्थित फोर्स हेडक्वाटर ईन्फेन्ट्री सपोर्ट युनिट दसौं डफ्फाको भ्रमण गरेको नेपाली सेनाले जनाएको छ । उक्त ईलाकाको वस्तुस्थितिलगायत विविध पक्षबारे समेत शर्माले जानकारी दिएका थिए । सोही अवसरमा शर्माले उक्त युनिटमा उल्लेखनीय कार्य गर्ने चार नेपाली शान्ति सैनिकहरूलाई ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गरे ।

शर्माले फोर्स हेडक्वाटरको इन्फेन्ट्री सपोर्ट युनिटका सकलदर्जालाई सम्बोधन गर्दै भौगोलिक, सामरिक तथा सुरक्षात्मक दृष्टिकोणले समेत अति महत्त्वपूर्ण स्थानको रुपमा रहेको माउन्ट हर्मन ईलाकामा तैनाथ रहेर शान्ति स्थापनार्थ योगदान दिई नेपाल, नेपाली सेना र यूएनको विश्वसनीयता बढाएकोमा धन्यवाद दिए । शर्मा लेवनान हुँदै सिरिया गएका हुन् । उनी त्यसपछि असार १३ मा अमेरिकाको ५ दिने औपचारिक भ्रमणमा जाने छन् ।

प्रकाशित : असार ९, २०७९ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्

मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप

तस्बिर : अंगद ढकाल

काठमाडौँ — पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप भएको छ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघले मूल्यवृद्धिविरुद्ध मसाल जुलुस निकालेर सडक अवरुद्ध गरेपछि बिहीबार बेलुकी झडप भएको हो ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको भन्दै युवा संघले बुद्धनगरदेखि नयाँ बानेश्वरसम्म मसाल जुलुससहित प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीले ‘मूल्यवृद्धि फिर्ता गर’, ‘प्रधानमन्त्री राजीनामा दे’ लगायत नारा लगाएका थिए । झडपपछि त्यस क्षेत्रमा यातायात सञ्चालन हुन सकेको छैन ।

पछिल्लो चरणमा भएको मूल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर १ सय ९९ र डिजेल, मट्टितेल १ सय ९२ पुगेको छ । इन्धनको मूल्यवृद्धिसँगै खाद्यान्न, यातायातलगायत क्षेत्रमा पनि महँगी बढेको छ ।

प्रदर्शनकारीले सडक ठप्पा पार्न थालेपछि झडप भएको हो ।


प्रकाशित : असार ९, २०७९ १९:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×