कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

१८ वर्षपछि एउटै लहरमा देखिँदैछन् ५ ग्रह

शुक्रबार बिहान ३:३९ बजेदेखि ४:४३ सम्म बुध‚ शुक्र‚ मंगल‚ वृहस्पति र शनि ग्रह एउटै लहरमा देखिने
‘एस्ट्रोफोटोग्राफी’ गर्नेका लागि विशेष महत्त्व
गोविन्द पोखरेल

काठमाडौँ — १८ वर्षपछि सौर्यमण्डलका ५ वटा ग्रहहरू एउटै लहरमा देखिँदैछन् । शुक्रबार बिहान सूर्योदयभन्दा एक घण्टाअघि बुध‚ शुक्र‚ मंगल‚ वृहस्पति र शनि ग्रहहरू एउटै लहरमा देखिने छन् ।

१८ वर्षपछि एउटै लहरमा देखिँदैछन् ५ ग्रह

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिनसमेत रहेका खगोलशास्त्री प्राध्यापक विनील अर्यालले शुक्रबार बिहान सूर्योदय हुनुअघि नै बुध, शुक्र, मंगल, वृहस्पति र शनि ग्रह एउटै लहरमा देखिने बताए । शुक्रबार बिहान ३ बजेर ३९ मिनेटदेखि ४ बजेर ४३ मिनेटको बीचमा यी ग्रहहरूलाई एउटै लहरमा देखिने छ ।

‘सूर्य उदाउनुभन्दा अघिको ४५ मिनेटसम्म यी ग्रहहरूलाई एउटै लहरमा देख्न सकिन्छ,’ प्राध्यापक अर्यालले कान्तिपुरसँग भने, ‘शुक्र र मंगल ग्रहहरूको बीचमा चन्द्रमा हुन्छ । यो एउटा अद्भूत घटना हो ।’

खगोलशास्त्री एवं वाल्मीकि विद्यापीठका सहप्राध्यापक जयन्त आचार्यले ५ वटा ग्रह एउटै लहरमा देखिनुको आफैंमा विशेष महत्त्व भएको बताउँछन् । खगोलीय गणितको हिसाब प्रक्षेपण परीक्षण गर्न खगोलशास्त्रीहरूलाई ‘अवसर’ पनि भएको उनको भनाइ छ । ‘गणना गर्दा मिले/नमिलेको चेक गर्न पाइयो नि,’ उनले भने । धार्मिक पक्षबाट हेर्दा पनि यो घटनालाई शुभ संकेतको रुपमा लिइने उनले जनाए । यसरी ग्रहहरू एकै लहरमा देखिनुलाई पूर्वीय खगोलशास्त्रले ग्रहहरूको युति भन्ने गरेको छ ।

यी ग्रहहरू यसअघि सन् २००४ को डिसेम्बरमा एउटै लहरमा देखिएका थिए । शुक्रबारपछि यी ग्रहहरू अब सन् २०४० मा मात्रै एउटै लहरमा देखिने अमेरिकन एस्ट्रानोमिकल सोसाइटीले प्रकाशित गर्ने ‘स्काई–एन्ड–टेलिस्कोप’ ले जनाएको छ । यो युतिलाई नाङ्गो आँखाले देख्न सकिने बताइएको छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी(नासो)का अध्यक्ष सुरेश भट्टराईले शुक्रबारपछि मंगल, शनि, बुध र शुक्र ग्रह सँगै देखिए पनि सेप्टेम्बरदेखि भने शुक्र र शनि नदेखिने बताए ।

सौर्यमण्डलका सबै आठवटा ग्रहहरू भने यसअघि सन् ९४९ मा देखिएको बीबीसीको विज्ञान तथा प्रविधिसम्बन्धी म्यागजिन ‘साइन्स फोकस’ले जनाएको छ । अब यी सबै ग्रहहरू सन् २४९२ को मे ६ तारिखमा एउटै लहरमा हुने प्रक्षेपण गरिएको छ ।

वैज्ञानिक अर्थ के ?

पाँचवटा ग्रह एउटै लहरमा देखिनुलाई वैज्ञानिकहरूले रोचक घटनाको रुपमा लिएका छन् । प्राध्यापक अर्याल भन्छन्, ‘ग्यालिलियोको बेलामा यो घटनालाई अद्भूत र महत्त्वपूर्ण रुपमा लिइन्थ्यो । त्यतिबेला मानिसहरूलाई खगोलशास्त्रका बारेमा धेरै कुराहरू थाहा पाउनु थियो । पछि यस्ता घटनालाई सामान्य रुपमा लिन थालियो ।’

सौर्यमण्डलमा रहेका ग्रहहरू सबै आफ्नै कक्ष(अर्बिट)मा सूर्यको परिक्रमा गर्छन् । सूर्यको परिक्रमा गर्ने क्रममा उनीहरूको कक्ष कहिलेकाहीँ एउटै लहरमा हुने प्राध्यापक अर्यालको भनाइ छ ।

एउटै लहरमा यी ग्रहहरू केही समयमात्रै हुने उनले बताए । गुरुत्व बलका कारण ग्रहहरू धेरैबेरसम्म एउटा लहरमा हुन नसक्ने उनको भनाइ छ । यो घटनाबाट ग्रहहरूको सतहमा भने असर गर्ने वैज्ञानिकहरू बताउँछन् । यस्तो घटना हुँदा समुद्रमा ज्वारभाटा र छालहरू आउन सक्ने बताइएको छ ।

अन्तरीक्ष अन्वेषणका क्रममा वैज्ञानिकहरूको विशेष ध्यान मंगल ग्रहमा छ । ग्रहहरू एउटै लहरमा हुँदा अन्य ग्रहहरूको सतहमा कस्तो प्रभाव पर्छ भन्ने अध्ययनको विषय बन्ने उनले जनाए । विशेषगरी यो घटनाबाट मंगल ग्रहलगायत मानिसले चासो दिने अन्य ग्रहहरू एउटै लहरमा हुँदा त्यसको प्रभाव कस्तो देखिन्छ भन्ने अध्ययनको विषय हुने अर्यालले बताए ।

उनले यो घटनालाई ‘विशेष अवस्था’को रुपमा व्याख्या गर्दै यसले पृथ्वीमा त्यति धेरै असर नगर्ने जनाए । यो घटना ‘एस्ट्रोफोटोग्राफी’ गर्नेहरूका लागि भने विशेष महत्त्वको हुने वैज्ञानिकहरूले बताएका छन् ।

नासोका अध्यक्ष भट्टराईले यी ग्रहहरूलाई अझै केही हप्तासम्म देख्न सकिने छ । जुलाई महिनाभरि बुध ग्रहबाहेक अन्य ग्रहहरू राम्रोसँग देखिने उनले बताए ।

सौर्यमण्डलमा बुध, शुक्र, मंगल, वृहस्पति तथा शनि ग्रह नाङ्गो आँखाले देख्न सकिने ग्रह हुन् । अरुण र वरुण ग्रह पछिमात्रै पत्ता लागेका ग्रह रहेको र यिनलाई हेर्नका लागि टेलिस्कोप वा दूरबिनको सहायता चाहिने उनले जनाए ।

सौर्यमण्डलमा रहेका ८ ग्रहमध्ये बुध, शुक्र, पृथ्वी तथा मंगल ग्रह भित्री ग्रहहरू हुन् । वृहस्पति, शनि, अरुण र वरुणलाई बाह्य ग्रह भनिन्छ ।

भित्री र बाह्य ग्रहहरूलाई ‘एस्टोरोइड बेल्ट’ले छुट्याएको छ । एस्टोरोइड बेल्टमा धेरै मात्रामा आकशीय पिण्ड(क्षुद्र ग्रह)हरू धेरै छन् । भित्री ग्रह भएको ठाउँमा धेरै मात्रामा क्षुद्र ग्रहहरूको उपस्थिति छ भने बाह्य ग्रहमा यिनको उपस्थिति नगण्य रहेको नासोले जनाएको छ ।

प्रकाशित : असार ९, २०७९ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?