मन्त्री हेरफेर अब दिन होइन केही घण्टाभित्रै : खतिवडा

काठमाडौँ — नेकपा एकीकृत समाजवादीले अब केही घण्टाभित्रै मन्त्रीहरू हेरफेर हुने दाबी गरेको छ । केन्द्रीय सचिवालय बैठकपछि जानकारी दिँदै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब दिन होइन केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुने बताए ।

मन्त्री हेरफेर अब दिन होइन केही घण्टाभित्रै : खतिवडा

‘पार्टीले निर्णय गरेर प्रधानमन्त्रीलाई पठाइसकेको छ । अहिलेसम्म विविध कारणले ढिला भयो । अब दिन लाग्दैन, पार्टीको निर्णय कार्यान्वयन हुन्छ, अब केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुन्छ,’ उनले भने ।

उनले पार्टीमा मन्त्रीहरूले फिर्ता हुनका लागि विभिन्न शर्त राखेको भन्दै हल्लामात्रै भएको बताए । ‘पार्टीमा व्यक्तिगत रुपमा कसले कोसँग छलफल गर्‍यो ? के भन्यो भन्ने कुराले अर्थ राख्दैन । पार्टीको निर्णय नै अन्तिम सर्त हुन्,’ उनले भने, ‘पार्टीले निर्णय गरिसकेको छ । अहिले पार्टीको निर्णयभन्दा माथि कोही पनि छैन ।’

उनले पार्टीमा मन्त्री हेरफेरकै विषयलाई लिएर कसैले विद्रोह गर्ने अवस्थासमेत नरहेको दाबी गरे । ‘हामीले सरकारमा जाने बेला नै छ महिनामा हेरफेर हुने भन्ने सहमति गरेका थियौँ । अहिले त्यसैको कार्यान्वयन गर्न लागिएको हो । पार्टीको निर्णय कार्यान्वयन गर्दा कसैले विद्रोह गर्ने भन्ने हुदैन, अहिले त्यस्तो विद्रोहको कुनै सम्भावना छैन,’ उनले भने ।

शुक्रबारदेखि एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दैछ । त्यस्तै, शनिबार केन्द्रीय कमिटी र असार १३ र १४ गते केन्द्रीय परिषद् बैठक बस्दैछ । प्रचार विभाग प्रमुख खतिवडाले ती नै बैठकका प्रस्तावहरू तयारीका लागि सचिवालय बैठकमा छलफल भइरहेको जानकारी दिए ।

प्रकाशित : असार ९, २०७९ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?