माओवादीले १२२ पालिका जित्दा बुर्जुवा र प्रतिक्रियावादीले जिब्रो टोकेका छन् : दाहाल

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशको राजनीतिक धारालाई कता लैजाने भन्ने जिम्मा जनताले आफूहरूलाई दिएको बताएका छन् ।

माओवादीले १२२ पालिका जित्दा बुर्जुवा र प्रतिक्रियावादीले जिब्रो टोकेका छन् : दाहाल

बिहीबार ललितपुरमा आयोजित जनप्रतिनिधि सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले स्थानीय तह चुनावमा आफूहरूले अपेक्षा गरेभन्दा कम सिट जिते पनि तेस्रो निर्णायक शक्तिका रूपमा रहेको बताए ।

'परिणामको दृष्टिकोणले राजनीतिको बागडोरलाई कतापट्टि लैजाने राजनीतिक धारालाई कसरी अगाडि बढाउने भन्ने जिम्मेवारी हामीलाई जनताले दिएका छन् । कहीँ न कहीँ यसको चाबी जनताले माओवादी केन्द्रलाई नै दिएका छन्,' दाहालले भने ।

सिटमा केही तलमाथि भए पनि निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु नै आफूहरूको ठूलो सफलता भएको बताए । उत्पीडित वर्गको हकहित संरक्षण र संविधान जोगाउनका लागि पनि निर्वाचन सफलतापूर्वक हुनु आवश्यक रहेको उनको भनाइ थियो ।

'हामीले सोचेजति परिणाम आएन । यो पटक कम्तीमा पनि गठबन्धन ठीक ढंगले जाँदा र पार्टीले पनि मेहनत गर्दा हाम्रो १७० देखि १७५ सम्म आउँछ, एमालेको पनि १६०-१७० तिर झर्छ । र, हामी वामपन्थी आन्दोलनको पहिलो पार्टी हुन्छौँ र देशको दोस्रो पार्टी बन्छ भन्ने आकलन गरेका थियौँ । तर हामी १२२ सिटमा सीमित भएका छौँ,' उनले भने ।

आफूहरूले आकलन गरेको भन्दा कम सिट जिते पनि अरूले भने माओवादी यति सिट जित्छ भन्ने अनुमान नगरेको उनको भनाइ छ । 'अरुका लागि भने बढी भाछ, माओवादीको यति आउला भनेर अरुले सोचेका थिएनन् । धेरै दस्तावेजहरू मैले हेरेको छु । ठूलठूला अन्तर्राष्ट्रिय संस्थाहरूले गरेको मूल्यांकनमा हामीलाई ३० वटा पालिकाभन्दा आउँदैन भन्ने थियो । त्यसरी हेर्दा १२२ भनेको धेरै हो । बुर्जुवा र प्रतिक्रियावादीहरूले अहिले जिब्रो टोकेका छन् । उनीहरूले माओवादीको यत्रो आयो भनिरहेका छन्, तर हामीले योभन्दा धेरै आकलन गरेका हौँ । माओवादी केन्द्रका लागि मुख्य कुरा निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु हो,' उनले भने ।

प्रकाशित : असार ९, २०७९ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?