कान्तिपुर हिसान एडुफेयर शुक्रबारदेखि

काठमाडौँ — विद्यार्थीहरूलाई संकाय, पाठ्यक्रम र शैक्षिक संस्थाबारे जानकारी दिने शैक्षिक मेलाको सातौं संस्करण कान्तिपुर हिसान एडुफेयर शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

कान्तिपुर हिसान एडुफेयर शुक्रबारदेखि

उच्च तथा माध्यमिक विद्यालय संघ (हिसान) र कान्तिपुर पब्लिकेशन्स्को आयोजनामा मेला यसपटक ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ ४ दिन सञ्चालन हुने संयोजक युवराज शर्माले बताए ।

आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै एडुफेयरबारे जानकारी दिएको हो । असार १० देखि १३ गतेसम्म बृहत् शैक्षिक मेला सञ्चालन गरिने शर्माले बताए । ‘नेपालमै सञ्चालित शिक्षालयहरूले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्यतथ्य र यथार्थ जानकारी गराउन एडुफेयर आयोजना गरिएको हो,’ उनले भने, ‘विद्यार्थी र अभिभावकहरू निःशुल्क रूपमा मेलामा प्रवेश गरी शिक्षण संस्था, विषय, पठनपाठन विधिलगायत विविध विषयमा जानकारी लिन सक्नेछन् ।’ एसर्ईईपछि कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गरिएको हिसानले जनाएको छ ।

आयोजकले दुई लाखभन्दा बढीले मेलामा सहभागिता जनाउने अनुमान गरेको छ । ‘कुन विषय पढ्ने, विषय कसरी छनोट गर्नेलगायतमा विद्यार्थी अभिभावक अलमलमा पर्ने गरेका छन्,’ शर्माले भने, ‘गुणस्तरीय र उत्कृष्ट शिक्षाका बारेमा उचित परामर्श दिन एडुफेयर फलदायी हुने अपेक्षा गरेका छौं ।’ मेलामा विद्यालय तहदेखि विभिन्न विश्वविद्यालयका सम्बन्धन र प्राविधिक तथा व्यावसायिक शिक्षा दिने शिक्षण संस्थाका बारेमा जानकारी प्राप्त गर्न सकिने शर्माले जनाए ।

एकै थलोमा ७५ भन्दा बढी शिक्षण संस्थाबारे एकै पटक जानकारी लिन सकिने उनको भनाइ छ । ‘मेलामा विभिन्न संस्थाहरूका प्रस्तुतिका साथै विज्ञहरूको सहभागितामा शिक्षा तथा प्रविधिलगायत शैक्षिक जानकारी र विषयगत सेमिनारहरूसमेत सञ्चालन हुनेछ,’ उनले भने । मेलामा १ हजारभन्दा बढी विद्यार्थीका लागि पूर्ण तथा आंशिक छात्रवृत्तिको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

अघिल्ला वर्षहरूमा पनि कान्तिपुर हिसान एडुफेयर सञ्चालन हुँदै आएको थियो । पछिल्ला दुई वर्ष कोभिड महामारीका कारण एडुफेयरलाई निरन्तरता दिन नसकिएको हिसान अध्यक्ष रमेश सिलवालले बताए । ‘कतिपय विद्यार्थी तथा अभिभावकहरूको विदेश मोहका कारणले शिक्षा प्राप्तिका लागि ठूलो धनराशि विदेशिने गरेको छ,’ उनले भने, ‘यसलाई रोक्न पनि मेलाले टेवा पुग्ने विश्वास लिएका छौं ।’

स्वदेशमा नै उपलब्ध हुने शिक्षाका बारेमा ज्ञान नहुँदा पनि विद्यार्थी विदेश पुग्ने गरेकाले मेलाले उनीहरूलाई उचित निर्णय लिन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । सरकारले पनि विदेश पढ्न जाने प्रवृत्ति रोक्न नीति ल्याउनुपर्ने उनले बताए । मेलाले विद्यार्थी सँगै नेपाली पैसा पनि विदेश जान रोक्ने सिलवालको भनाइ छ । पत्रकार सम्मेलनमा कान्तिपुर पब्लिकेशन्स्का सीईओ महेश स्वाँरले स्वदेशमै गुणस्तरीय शिक्षाका लागि शिक्षण संस्था र विषय छनोट गर्न विद्यार्थी–अभिभावकलाई अवसर प्रदान गर्ने जनाए ।

प्रकाशित : असार ९, २०७९ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?