१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

रामायण सर्किटको रेल जनकपुर आउँदै

सन्तोष सिंह

जनकपुर — रामायण यात्राका लागि भारतीय रेल नयाँदिल्लीबाट पयर्टक लिएर जनकपुर आउने भएको छ । ६ सय धार्मिक पर्यटक लिएर आउने रेलको स्वागतका लागि जनकपुरमा तयारी गरिएको छ ।

रामायण सर्किटको रेल जनकपुर आउँदै

रामायण सर्किटमा सञ्चालन हुने ‘भारत गौरव टुरिस्ट रेल’ नन्दीग्राम, बनारस, प्रयागराज, चित्रकुट, नासिक, हम्पी, रामेश्वरम् र भद्राचलम, अयोध्या, सीतामढी हुँदै नेपाल–भारत सिमाना जयनगरबाट जनकपुर आइपुग्ने मधेस प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुघ्न महतोले बताए ।

‘विशेष रेल यात्रामा बिहीबार जनकपुर आउने ६ सय पर्यटकलाई रात्रि बासका लागि होटल व्यवस्था गरिएको छ,’ उनले भने, ‘रामायण सर्किट जोड्न विशेष रेलयात्रा दिल्लीबाट सुरु भएको हो । यात्रामा सहभागी पर्यटकलाई जानकी मन्दिर परिसरमा मधेस सरकारले स्वागत गर्नेछ ।’ पर्यटकलाई जानकी मन्दिर, धनुषाधाम र जनकपुरमा दैनिक हुने गंगा आरतीमा सहभागी गराउने तयारी गरिएको मन्त्री महतोले बताए । तीर्थालु लिएर आउने रेल तत्कालै भारत फर्किने कार्यक्रम छ ।

जनकपुर स्टेसनमा दिउँसो रेलमा आइपुग्ने पर्यटकलाई स्वागतको तयारी गरिएको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले बताए । जनकपुर दर्शनका लागि आउने पर्यटकको सम्मानमा जानकी मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रम पनि राखिएको छ ।

भारतीय रेलमा पर्यटक पहिलो पटक जनकपुर आउन लागेकाले नेपाल–भारत सिमाना र जनकपुरमा विशेष सुरक्षा नीति अपनाइएको छ । परराष्ट्र मन्त्रालयबाट आएको पत्रअनुसार भारतीय रेल र पर्यटकको सुरक्षा नीति तयार गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । भारत र नेपाल जोड्ने पहिलो रेल नयाँदिल्लीबाट जनकपुर आउन लागेको हो । भारतीय समयअनुसार मंगलबार साँझ ७ बजे नयाँदिल्लीबाट रेल जनकपुरका लागि प्रस्थान गरिसकेको छ ।

भारतका रेल र पर्यटनमन्त्रीले संयुक्त रूपमा नयाँदिल्ली रेल्वे स्टेसनमा हरियो झन्डा देखाई रेलको बिदाइ गरेका हुन् । १४ डिब्बा रहेको उक्त रेलको प्रत्येक बोगीमा भारतीय कला, संस्कृति, परम्परा, सम्पदालगायत चित्र छन् ।

प्रकाशित : असार ९, २०७९ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?