कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजधानीमा भित्रभित्रै हैजा !

एक–दुई पटक चौलानी जस्तो पखाला हुनासाथ तुरून्त अस्पताल पुग्न चिकित्सकको सुझाव
अतुल मिश्र

काठमाडौँ — राजधानी उपत्यकामा भित्रभित्रै हैजा (कोलेरा) फैलिरहेको स्वास्थ्य विज्ञहरूले आशंका गरेका छन् । हालसम्म झाडापखालाको उपचारका लागि अस्पताल पुगेकामध्ये बागबजारका दुई जना, सानेपा र डिल्लीबजारका एक–एक गरी ४ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ ।

राजधानीमा भित्रभित्रै हैजा !

त्यस्तै, बल्खु बस्ने २९ वर्षीया महिला र बालाजुका १८ वर्षीय पुरुषको परीक्षणमा पनि हैजा देखिएको छ । तर, उनीहरूको दिसाको कल्चर रिपोर्ट आउन भने बाँकी छ ।

‘हालसम्म विभिन्न ठाउँबाट हामीकहाँ पठाइएका नमुनामध्ये स्टुल कल्चरबाट ४ जनामा हैजा देखिएको छ,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा. रुना झाले कान्तिपुरसँग भनिन्, ‘विभिन्न ठाउँको पानीको नमुनासमेत परीक्षणका लागि आएको छ ।’ डा. झाका अनुसार पानीको नमुना परीक्षण गर्दा कोलिफर्म पाइएको छ । ‘ब्याक्टेरियम भिब्रियो कोलेरी’ नामक जीवाणुले हैजाको संक्रमण हुन्छ । हैजाको जीवाणु शरीरमा प्रवेश गरेपछि रोगको लक्षण दुई घण्टादेखि पाँच दिनसम्ममा देखिन सक्छ । समयमै उपचार नगरिए बिरामीको मृत्युसमेत हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । हैजाको संक्रमण भएपछि अत्यधिक बान्ता र पखाला लाग्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार सामान्यतया १० जनामा हैजाको संक्रमण हुँदा २ जना अस्पताल पुग्नुपर्ने अवस्था आउँछ । बुधबारसम्म चार जनामा हैजा प्रमाणित भइसकेकाले कम्तीमा पनि १६ जना हैजाको जीवाणुबाट संक्रमित भएको उनको दाबी छ । बाँकी संक्रमितहरूले भित्रभित्रै संक्रमण फैलाइरहेको हुन सक्ने उनी बताउँछन् । उनका अनुसार लक्षण नदेखिएका संक्रमितबाट पनि १० दिनसम्म दिसाको माध्यमबाट संक्रमण फैलने जोखिम रहन्छ ।

डब्लूएचओका अनुसार हैजाले संक्रमित करिब ८० प्रतिशत व्यक्तिमा कुनै लक्षण विकसित हुँदैन । सामान्य पखाला मात्र लाग्ने गर्छ । जबकि यस्ता संक्रमितको दिसामा संक्रमण भएको १० दिनसम्म ब्याक्टेरिया रहन सक्छ । यसैबाट अरूलाई संक्रमण सर्छ । आन्द्रामा हुने संक्रमणको सुरुवात पखाला र बान्ताबाट भए पनि समयमा उपचार नगर्दा यसले ज्यानसमेत लिन सक्ने डा. पुन बताउँछन् । हैजाले प्यास बढी लाग्ने, नाडी मन्द हुने, पिसाब कम आउने र बेहोससम्म हुने समस्या देखिन्छ ।

संक्रमणको बढ्दो जोखिमसँगै त्यसको स्रोत खोजी र खानपान तथा सरसफाइमा ध्यान दिन विज्ञहरूले सुझाएका छन् । एक जनामा प्रयोगशाला प्रमाणित हैजाका बिरामी देखिनुको अर्थ कम्तीमा थप ९ जना यस्ता बिरामी हुन सक्ने र हैजा विस्तार भइरहेको हुन सक्ने उनीहरूको भनाइ छ ।

पछिल्लो समय राजधानीमा झाडापखालाका बिरामीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । यस्ता बिरामी बढिरहेका बेला हैजाको संक्रमणसमेत पुष्टि भएपछि ठूला अस्पतालले उच्च सतर्कता अपनाउन थालेका छन् । पाटन अस्पतालमा दिनहुँ १०–१५ जना झाडापखालाका बिरामी आउने गरेको निर्देशक डा. रवि शाक्यले जानकारी दिए । करिब ६ वर्षअघि ललितपुरमा हैजाको प्रकोप नै फैलिएको सम्झिँदै उनले आफूहरू उच्च सतर्कताको अवस्थामा रहेको बताए । झाडापखाला लागेपछि औषधिमूलो गरेर ठीक हुन्छ भनेर घरमै नबस्न उनले सुझाए । ‘उपत्यकामा हैजा देखिइसकेकाले एक–दुई पटक चौलानी जस्तो पखाला हुनासाथ तुरुन्त अस्पताल पुग्नुपर्छ,’ डा. शाक्यले भने ।

भक्तपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. श्रीघर अर्याल हाल झाडापखालाको केस देखिइरहे पनि हैजासमेत भेटिएकाले आफूहरू पूर्ण तयारीसाथ उच्च सतर्कताको अवस्थामा रहेको बताउँछन् ।

यसैबीच, हैजा रोकथाम तथा नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिन समिति गठन गरेको छ । कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति बनाइएको हो । टोलीमा प्रयोगशालाका प्रतिनिधि, जनस्वास्थ्यकर्मी, महानगरपालिकाका स्वास्थ्यकर्मीलगायत सदस्य छन् । अधिकारीले खानेपानीमै समस्या हुन सक्ने भनेर प्रारम्भिक नतिजा आइसकेको र थप परीक्षण नतिजाको परिणाम कुरिरहेको जनाए ।

‘हैजा पुष्टि भएको ठाउँको नमुना संकलन गरिरहेका छौं । कस्तो पानी तथा खानेकुरा खाइरहेका छन्, जाँच गरिरहेका छौं,’ उनले भने, ‘बागबजारमा त्यहाँका बासिन्दाले धाराको पानी सोझै खाने गरेको पाइयो । उक्त पानीमा दिसा मिसिएको भन्ने रिपोर्ट आएका छन् । पानीको कारणले नै हुन सक्ने देखिएको छ ।’

प्रकाशित : असार ९, २०७९ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?