हिमालमा डढेलो

सुर्मा, बझाङ — सुर्मा गाउँपालिकाको ब्याँसीमारे हिमालबाट आएको हिमपहिरोमा सुर्मा–१ की सिन्की बोहरा बेपत्ता भइन् । गत जेठ १९ गते राति पहिरो आउनुअघि ठूलो विस्फोटको आवाज आएपछि भदा र छोरा भाग्न सफल भए । तर, सिन्की पालसँगै बगेर हराइन् । उनी सपरिवार यहीँ पाल टाँगेर बसेको ११ वर्ष भएको थियो । प्रत्येक वर्ष तीन महिना (वैशाख–असार) सम्म उनीहरू यार्चा संकलन गर्थे ।

अहिलेसम्म हिमपहिरो नआएको ठाउँमा कसरी भयो यस्तो घटना ? त्यस रात ब्याँसीमारे हिमालभन्दा केही पर डेरा गरी बसेका सिन्कीका आफन्त रमेश बोहरा भन्छन्, ‘उनको पालभन्दा माथि (पहिरो सुरु भएको ठाउँतिर) तीन–चार दिनदेखि ठूलो डढेलो लागेको थियो । त्यही डढेलोले हिउँ तातिएर पहिरो गएजस्तो लाग्छ ।’ उनका अनुसार हिमपहिरो गएको ठाउँ वरिपरि डेढ किलोमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको धुपीको झाडीमा चार दिनसम्म डढेलो लागेको थियो ।
सुर्माका अरू स्थानीयले पनि हिमपहिरो जानुको कारण चार दिनअघि लागेको आगो हुन सक्ने अनुमान गरेका छन् । हिमालविज्ञ एवं मध्यपश्चिम विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डिन डा. सुदीप ठकुरीले पनि स्थानीयको भनाइमा सत्यता हुन सक्ने बताए । डढेलो लाग्दा हिमाली क्षेत्रमा हावाको तापक्रम बढ्ने र त्यसका कारण हिउँ पग्लिने क्रम तीव्र हुने उनको भनाइ छ ।
‘हिमाल भएको ठाउँमा सानो उपत्यका जस्तो पनि हुन्छ, त्यहाँ आगो लाग्दा धूवाँ उपत्यकाभित्र गुम्सिएर बस्छ र तातो हावाले हिउँलाई छिटो पगाल्छ । त्यसो हुँदा हिमपहिरो जान सक्छ,’ उनले भने, ‘डढेलो लाग्दा उत्सर्जन हुने कार्बन हिमालमा गएर थुप्रिने र त्यसले ताप सोस्ने क्रम बढ्ने भएकाले पनि हिमाल पगाल्न डढेलोको ठूलो भूमिका देखिन्छ ।’
जथाभावी डढेलो लगाउँदा बझाङको हिमाली क्षेत्रको पर्यावरण र जैविक विविधता बर्सेनि नष्ट हुँदै गएको छ । डढेलोकै कारण जंगल, जडीबुटी र जीवजन्तु मात्रै सखाप भएका छैनन्, हिमालय क्षेत्रको प्राकृतिक स्रोतमा निर्भर बासिन्दाको जीवनमा पनि त्यसको प्रत्यक्ष मार परेको छ । गत जेठ तेस्रो साता मात्रै, सुर्माका गाइसेरा, तपोवन, देलठेला, चाँदेशिखर, ब्याँसीमारे, सुनखानी, जलजलालगायत दर्जनभन्दा बढी हिमालको फेदीमा एकै पटक ठूलो डढेलो लागेको थियो ।
आगोले हिमाली क्षेत्रका झाडी बुट्याउन डढाउँदा आउने ‘चडचड’ आवाज दुई–तीन किलोमिटर परैसम्म प्रस्ट सुनिएको स्थानीय बताउँछन् । डढेलो लागेका ठाउँमा रहेका धुपी भुइँचिमालो, भोजपत्र, चिमालो, चाँप, लेककुयली, पङराँतो, कालोभोज, बायोजडी च्याङ्वालगायतका बोटबिरुवाका हरिया जंगल खरानी बनेका थिए । जेठमा यसरी डढेलो लागेको सुर्मामा मात्रै होइन । बझाङका अधिकांश उच्च हिमाली क्षेत्रका वन यसैगरी डढेका थिए । ‘हिमाली क्षेत्रमा वैशाखदेखि डढेलो लाग्न थालेको हो । जब यार्चा टिप्न मानिस लेकतिर लाग्छन्, त्यसपछि ठाउँ–ठाउँमा आगो लगाउँछन्,’ साइपालका सुवास बोहराले भने, ‘यसपालि मात्रै होइन, हरेक वर्ष यस्तै हुन्छ ।’
वन तथा वातावरण मन्त्रालय, वन तथा भूसंरक्षण विभागको वन डढेलो अनुगमन प्रणालीले २०२२ मे र जुन २० सम्म बझाङका ४८ स्थानमा डढेलो लागेको रेकर्ड गरेको छ । गत वर्ष यही अवधिमा बझाङका २ सय ९० स्थानमा डढेलो लागेको अनुगमन प्रणालीले अभिलेख राखेको छ । यद्यपि भूउपग्रहले जमिनबाट १ सय मिटर ग्रिडसम्मको डढेलो मात्रै पहिचान गर्न सक्छ । सानातिना, डाँडा र खोंचले छेकिएका ठाउँमा लागेको डढेलो भूउपग्रहमा रेकर्ड हुँदैनन् ।
बझाङको कुल क्षेत्रफलको करिब ३० प्रतिशत भूभाग हिमाली क्षेत्रमा पर्छ । बर्सेनि लाग्ने डढेलोले हिमाली क्षेत्र वनस्पतिविहीन हुने अवस्थामा पुगेको छ । समुद्र सतहदेखि ४ हजार मिटरभन्दा माथि पाइने यस्ता जंगल कस्तूरी, झारल, नाउर, हिमचितुवाको बासस्थान हो । डाँफे, मुनाललगायत संरक्षित चराचुरुंगी पनि यस्तै जंगलमा आश्रित हुन्छन् । तर, पछिल्लो समय यस्ता जनावर र पन्छी लोप भइरहेका छन् ।
‘पहिला–पहिला यार्चा टिप्न जाँदा आँखैअगाडि डाँफे, मुनालका बथान उड्थे । कस्तूरी, झारल र नाउरका समूह नजिकैबाट देखिन्थे । अचेल देखिनै छाडेका छन्,’ जयपृथ्वी नगरपालिकाका मनबहादुर सिंहले भने, ‘बरु यार्चा खोज्ने बेला चराका गुँडमा अन्डा र चल्ला आगोले डढेका थुप्रै भेटिन्छन् ।’
मानव बस्ती नजिकका जंगलमा राम्रो घाँस उम्रिने आसमा आगो लगाउने गरिए पनि हिमाली क्षेत्रमा भने मानिसले बिनाकारण यस्तो गर्छन् । ‘कतिपय अवस्थामा जडीबुटी खोज्न गएका बेला बिँडी, चुरोटका ठुटा फाल्दा आगो लाग्ने गरेको छ,’ सुर्माका नवराज पुजारा भन्छन्, ‘धेरैजसो केटाकेटीले रहरले आगो लगाउँछन् । जडीबुटी पाइएन भने रिसले पनि आगो लगाउने गर्छन् ।’
सिकारीहरूले पनि जथाभावी आगो लगाउँदा जडीबुटी संकलन नहुने समय (कात्तिक–मंसिर) मा पनि हिमाली क्षेत्रमा डढेलो देखिने गरेको उनको भनाइ छ । ‘डढेलो लागेको ठाउँमा घाँसबाहेक अरू केही उम्रिँदैन । जंगल नभएपछि जीवजन्तु पनि कसरी रहुन्,’ साइपालका रुन्छे बोहराले भने, ‘मान्छेको घरमा आगो लागेजस्तै त हो । न बस्ने ठाउँ रहन्छ, न खानेकुरा ।’ आहारा र बासस्थान अभाव हुँदै गएपछि जीवजन्तु र पन्छीहरू लोप हुन थालेको उनले बताए ।
हिमाली क्षेत्रको वन र जैविक विविधता अत्यन्तै संवेदनशील भएकाले डढेलो लाग्दा अन्यत्रभन्दा गम्भीर क्षति हुने विज्ञहरूको चिन्ता छ । संकटापन्न, संकटासन्न, लोपोन्मुख र जोखिम उन्मुख धेरैजसो वनस्पति र जीव यो क्षेत्रमा पाइने भएकाले डढेलोले जैविक विविधतामा अपूरणीय क्षति हुने गरेको उनीहरूको भनाइ छ । ‘सानो क्षेत्रफलमा पनि प्रजातीय विविधता धेरै हुने हिमालमा डढेलो लाग्दा हुने क्षति पुनर्भरण गर्न सम्भव नै हुँदैन,’ त्रिभुवन विश्वविद्यालय वनस्पति विभागका एसोसिएट प्रोफेसर डा. नारायण घिमिरे भन्छन्, ‘यहाँ डढेलो लाग्दा कतिपय प्रजातिको अस्तित्व नै समाप्त हुन सक्छ ।’ तराई–पहाडमा कुनै बिरुवा एक वर्षमा एक मिटर बढ्न सक्छ भने हिमालमा त्यति उचाइको हुन १०/१५ वर्ष लाग्ने उनले बताए ।
जथाभावी डढेलो लगाउँदा वन्यजन्तु र पन्छी मात्रै होइन, यार्चागुम्बुलगायत जडीबुटी पनि पाइन छाडेको छ । जडीबुटीको उत्पादन घटेकै कारण स्थानीय बासिन्दा मजदुरीका लागि भारत जाने क्रम प्रतिवर्ष बढ्दो छ । १० वर्षअघिसम्म जडीबुटीको बिक्रीबाट वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी रकम बझाङ भित्रिने गरेकामा अहिले त्यो अंक घटेर २० देखि २५ करोडमा सीमित भएको कारोबारमा संलग्नहरू बताउँछन् । ‘अहिले जडीबुटी नै पाउन छाड्यो । कारोबार त घट्ने नै भयो,’ उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दानबहादुर सुर्मेली भन्छन्, ‘आउँदा वर्ष अझै घट्न सक्छ ।’
हिमाली क्षेत्रको जैविक विविधता नै नष्ट हुने गरी बिनाकारण लगाइने डढेलो रोक्न कसैले ध्यान दिएका छैनन् । ‘डढेलो धेरै लाग्ने गरेको त थाहा छ तर नियन्त्रण गर्न त्यस्तो कुनै कार्यक्रम छैन,’ डिभिजन वन कार्यालयका प्रमुख कर्णबहादुर खातीले भने, ‘जडीबुटी संकलनको समयमा त्यहीँ गएर जनचेतनामूलक कार्यक्रम गर्न सके हुन्थ्यो होला ।’ पालिकाहरू पनि हिमाली जैविक विविधता ध्वस्तै हुने गरी लगाउने गरेको डढेलोबारे जानकार छन्, यद्यपि रोक्न कुनै पहल भएको छैन । ‘डढेलो लगाएर सबै ध्वस्त बनाइसके । यस्तै हो भने अब हिमाली क्षेत्रमा त बोटबिरुवा नै नरहने भयो,’ सुर्मा गाउँपालिकाका अध्यक्ष खड्क बोहरा भन्छन्, ‘जडीबुटी संकलन गर्ने अर्को सिजनसम्म नियन्त्रणका लागि ठोस प्रयास गर्नेछौं ।’
प्रकाशित : असार ९, २०७९ ०७:२०