विदुर नगरपालिकाको स्वेतपत्र : स्रोत सुनिश्चित नभई बजेट बनाउँदा काम गर्न अप्ठ्यारो

काठमाडौँ — नुवाकोटको विदुर नगरपालिकाले पूर्ववर्ती नेतृत्वले स्रोत नै सुनिश्चित नगरी चालु आर्थिक वर्षको बजेट निर्माण गर्दा सिर्जना भएको दायित्वले नयाँ नेतृत्वलाई कार्य गर्न अप्ठ्यारो परेको जनाएको छ ।

विदुर नगरपालिकाको स्वेतपत्र : स्रोत सुनिश्चित नभई बजेट बनाउँदा काम गर्न अप्ठ्यारो

नगरपालिकाले बुधबार स्वेतपत्र जारी गर्दै चालु आर्थिक वर्षमा सिर्जना भएको दायित्वको आधामात्रै दायित्वको स्रोत सुनिश्चित भएको जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ का लागि नगरपालिकाले १ अर्ब ४१ करोड ३६ लाख ९६ हजार २ सय रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । जसमध्ये जेठ मसान्तभित्र ९२ करोड ४७ लाख १० हजार ५ सय ६५ रुपैयाँ मात्रै आम्दानी भएको नगरपालिकाले जनाएको छ । 'जसमध्ये संघीय सरकार प्रदेश सरकारबाट आउनुपर्ने ठूलो रकम आम्दानी भइसकेको छ,' स्वेत पत्रमा भनिएको छ, 'आम्दानीभन्दा बजेट ठूलो बनाउँदा नगरपालिकाको ठूलो रकम भुक्तानी हुन सकेको छैन, जुन नगरपालिकाको दायित्व रहेको छ ।'

नगर प्रमुख राजन श्रेष्ठले बजेट निर्माण गर्दा त्यसको सामान्य नियमलाई पनि पालना गरिएको नदेखिएको बताए । आधा दायित्व भुक्तानी भएको खर्चमा २ करोड ६ लाख रुपैयाँ, काम सम्पन्न भए पनि लेखा शाखामा भुक्तानी दिन बाँकी रहेको रकम ५ करोड ३९ करोड, नगरपालिकाको तलबभत्ता र प्रशासनिक खर्च २ करोड, ठेक्का सम्पन्न कामको दायित्व २२ करोड १६ रुपैयाँ, महिला स्वास्थ्य स्वयंसेविका, स्वयंसेवक शिक्षक र विषयगत शाखा कार्यक्रमको २ करोड, मूल्यांकन हुन बाँकी रहेको कामको ४ करोड ५० लाख रुपैयाँ दायित्व रहेको छ । नगरपालिकाले यो आर्थिक वर्षमा ५ करोडको दायित्व मात्रै पूरा गर्न सक्ने अवस्थामा रहेको जनाएको छ । 'यो रकमको दायित्व भनेको निकै ठूलो दायित्व हो र पूर्ववर्ती स्थानीय सरकारका पालामा देहायअनुसार भएकाले यति ठूलो व्ययभार रहन गएको देखिन्छ,' मेयर श्रेष्ठले भनेका छन् ।

नगरपालिकाले स्रोत सुनिश्चित नभई बोलपत्र आह्वान गरी ठेक्कापट्टा गरिएको र उपभोक्तालाई समेत रकम सुनिश्चन नभई काममा लागएको नगरपालिकाले जनाएको छ ।

'स्रोतले धान्न नसक्ने गरी कर्मचारी भर्ना गरिएको र नगरपालिकामा अनावश्यक कर्मचारी भर्ना गर्दा आर्थिक भार पर्न गएको' श्वेतपत्रमा उल्लेख छ । नगरपालिकाले आन्तरिक स्रोतको परिचालनको विषयमा पनि बजेटमा महत्वकांक्षीरुपमा राखिएको जनाएको छ ।

आन्तरिक स्रोतको परिचालनबाट १६ करोड २७ लाख रुपैयाँ आम्दानीको लक्ष्य नगरपालिकाले लिएको थियो । त्यसमा ४ करोड रुपैयाँमात्रै आम्दानी भएको श्वेतपत्रमा उल्लेख छ ।

प्रकाशित : असार ८, २०७९ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?