कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९
पोखराको नीति तथा कार्यक्रम

‘सुकुम्बासीलाई बहुतले भवन, ४ वर्षमा मेट्रो अस्पताल’

दीपक परियार

पोखरा — आगामी आर्थिक वर्षमा लगानी सम्मेलन गर्नेदेखि ४ वर्ष भत्र आफ्नै मेट्रो अस्पताल बनाउनेसम्मका योजनासहित पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ । 

‘सुकुम्बासीलाई बहुतले भवन, ४ वर्षमा मेट्रो अस्पताल’

मेयर धनराज आचार्यले पर्यटन, भौतिक पूर्वाधार, सहरी विकास, कृषि, शिक्षा, स्वास्थ्य रोजगार प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै ११ औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरे । चार दशकअघि बसपार्कका लागि पृथ्वीचोकमा जग्गा छुटयाइए पनि हालसम्म बन्न नसकेकोमा नीति तथा कार्यक्रममा बसपार्क निर्माण गर्ने उल्लेख छ ।

बसपार्कको क्षेत्रफल एकीन गर्ने, अव्यवस्थित बसोबासी (सुकुम्बासी)लाई उपयुक्त स्थानमा वहुतले भवन निर्माण गरी स्थानान्तरण गर्ने र सिटी बसपार्कको रुपमा निर्माण गर्न विस्तृत सम्भाव्यता अध्ययन गरिने बताइएको छ । लामेआहालको बसपार्कलाई पोखरा बसपार्क र पृथ्वीचोकस्थित बसपार्कलाई सिटी बसपार्कको अवधारणापश्चात पोखरा–२ मा अवस्थित बाग्लुङ बसपार्कलाई विन्ध्यवासिनी बसपार्कको नामाकरण गरी व्यवस्थित रुपमा स्तरोन्नति गरिने नीति महानगरले लिएको छ ।

आगामी दुई वर्षभित्र प्रमुख सहरी क्षेत्रभित्रका टेलिफोनका तार र अन्य तार हटाई भूमिगत अप्टिकल फाइबर जडान गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । नेपाल विद्युत प्राधिकरणसँगको सहकार्य र लागत साझेदारीमा विजुलीका तार भूमिगत गरी सहरी जोखिम न्युन गर्ने र त्यसले सुन्दरता बढ्ने महानगरको विश्वास छ । तार भूमिगतका लागि प्राधिकरणले काम समेत सुरु गरिसकेको छ ।

फेवाताललगायतका महानगरभित्रका सबै तालतलैया, खोला, खोल्सी, सार्वजनिक जग्गा लगायतको मापदण्ड तयार गरी उपयुक्त संरक्षण र दिगो उपयोग गर्ने नीति अंगीकार गरिएको छ ।

सार्वजनिक सम्पत्ति संरक्षणमा महानगरले चासो देखाएको छ । आगामी वर्षमा महानगरका सार्वजनिक, पर्ती, सरकारी जग्गाको लगत तयारी गरी खुला स्थानको पहिचान गर्ने, मालपोत तथा नापी कार्यालयसँगको समन्वयमा तथ्यांक र अभिलेख अध्यावधिक गर्ने व्यवस्था मिलाई सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने महानगरको योजना छ ।

फोहोरमैला उत्सर्जनमा न्यूनीकरण तथा स्रोतमै वर्गीकरण गरी पुन: प्रयोग एवं पुन: चक्रीय फोहोरमैला विक्री वितरण गरी आयआर्जन गर्ने वातावरण सिर्जना गर्ने नीति महानगरले लिएको छ । निजी क्षेत्रसँगको सहकार्य र साझेदारीमा मेटेरियल रिकभरी फेसिलिटेसन सेन्टर स्थापना गरी पुन: प्रयोग एवं पुनर्चक्रिय फोहोर व्यवस्थापन गर्ने महानगरको नीति छ । वैज्ञानिक फोहोर व्यवस्थापन प्रणालीको लागि जनस्तरमा जनचेतना कार्यक्रम सञ्चालन गरिने मेयर आचार्यले बताए ।

निजी तथा सहकारी क्षेत्रसँगको सहकार्य/साझेदारीमा कुहिने फोहोरको व्यवस्थापन एवं प्रशोधन मार्फत वायोग्यास र प्रांगारिक मल उत्पादन गर्न प्रोत्साहन गर्ने, त्यसरी उत्पादित मललाई अनुदान सुविधामा कृषकसम्म पुग्ने नीति महानगरले लिएको छ । यसरी उत्पादित ग्यास र मलबाट आयात प्रतिस्थापनमा टेवा पुग्ने विश्वास महानगरले लिइएको छ ।

हालको ल्यान्डफिल साइट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने अवधि अगावै अन्यत्र सार्ने निर्णय भइसकेकोमा फोहोरलाई स्रोतमा नै वर्गीकरण गरी उद्यमशीलता, ऊर्जा र हरित व्यवसायसँग जोड्ने र सेनेटरी ल्यान्डफिल साइट निर्माणलाई अघि बढाउने बताइएको छ ।

महानगरको कार्यसम्पादनको गुणस्तरको सम्बन्धमा सुझाव तथा जनगुनासो सुन्न र समाधान गर्नका लागि 'हेलो मेयर कार्यक्रम' एक महिनाभित्र सुरु गर्ने मेयर आचार्यले उल्लेख गरे । आगामी वर्षदेखि महानगरवाट प्रदान हुने सार्वजनिक सेवा ३६५ दिन नै प्रवाह हुने गरी व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ:

प्रकाशित : असार ८, २०७९ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?