भीम रावल भन्छन् : जेल हालियोस् तर इम्बोस्ड नम्बर प्लेट राख्दिनँ

काठमाडौँ — नेकपा एमालेका सांसद तथा पूर्वगृहमन्त्री भीम रावलले आफूले इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका छन् । बुधबार संसद्को राज्य निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको छलफलमा रावलले इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका हुन् ।

भीम रावल भन्छन् : जेल हालियोस् तर इम्बोस्ड नम्बर प्लेट राख्दिनँ

संविधानविपरीत इम्बोस्ड नम्बर प्लेट अंग्रेजीमा राख्न ठूलो चलखेल भएको समेत रावलले बताए । छलफलमा रावलले भने, 'म इम्बोस्ड नम्बर हाल्दै हाल्दिनँ । बरु सरकारले एक वर्ष जेल हाल्ने भनेको छ हालोस् । म एक वर्ष जेल जान तयार छु ।'

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी दर्ता नवीकरण गर्नेले, नयाँ दर्ता गर्ने र सरकारी सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको छ । बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव नै उपस्थित नभएपछि बैठक भने बस्न सकेन । समितिले मन्त्रीलाई उपस्थित गराएर मात्र छलफल गर्ने पनि बताएको छ ।

इम्बोस्ड नम्बर देवनागरीमा लेख्न मिल्दैन ?

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत कात्तिक २२ मा राजपत्रमा सूचना प्रकाशन गर्दै मंसिर १ देखि नाम टुंगिएका सबै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने भनेको थियो । सूचनाअनुसार मंसिर १ देखि नयाँ दर्ता हुने, फागुनदेखि नामसारी गरिने र जेठ १ देखि नवीकरण गर्ने सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने थियो । उक्त नियम लागू गर्न नसकिरहेका बेला विभागले फेरि वाग्मती र गण्डकीमा साउन १ देखि इम्बोस्ड प्लेट अनिवार्य जडान गर्न/गराउन सूचना जारी गरेको छ ।

यस अवधिमा जडान नगरे कारबाही गर्नेसम्मको चेतावनी दिएपछि यसको सर्वत्र विरोध भयो । तर पछि फेरि विभागले नम्बर प्लेट अनिवार्य गर्दै निर्णयमा लचिलो बन्दै साउन १ बाट सबै सवारीमा इम्बोस्ड नम्बर अनिवार्य नभनिएको र राजपत्रमा प्रकाशित सूचनालाई निरन्तरता दिइएको जनाएको छ ।

प्रकाशित : असार ८, २०७९ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?